काठमाडौंः जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता, राहदानीलगायत कागजात मगाएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेले आफूहरूले लामिछानेविरूद्ध परेको जाहेरीमाथि छानबिन गर्न आवश्यक कागजात मगाएको बताए।
‘हामीले उहाँका काठमाडौं जिल्ला प्रशासन कार्यालय, राहदानी विभागबाट जारी भएका नागरिकता, राहदानी र अध्यागमन विभागबाट पनि आवश्यक कागजात मगाएका हौं,’ उनले भने, ‘त्यहाँबाट कागजात आएपछि अध्ययन गरेर निर्णय गर्छौं।’
युवराज पौडेलले जिल्ला प्रहरी परिसरमा निवर्तमान गृहमन्त्री रवि लामिछानेले कायम नभएको नागरिकता चलाएको र झुठा विवरण दिएर राहदानी बनाएको भन्दै जाहेरी दिएका थिए । काठमाडौं प्रहरीले उक्त जाहेरी दर्ता गर्न नमानेपछि पौडेलले सरकारी वकिल कार्यालयमा जाहेरी दिएका थिए। सरकारी वकिल कार्यालयले उनको जाहेरीमा उल्लेखित विवरणहरू हेरेर दर्ता गर्नुपर्ने भए दर्ता गर्न र नपर्ने भए नगर्न प्रहरीलाई निर्देशन दिने छ।