काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशिष्ट व्यक्तिहरुको सुरक्षासम्बन्धी कार्यविधि बदल्नुपर्ने बताएका छन् । उनले राष्ट्रपति र अरु विशिष्ट व्यक्तिहरुको सवारीका बेला नागरिकलाई असुविधा पुर्याउन नपाउने व्यवस्था गर्नुपर्ने धारणा राखेका छन् । शनिबार दिउँसो उनले फेसबुकमा लेखेका छन्, ‘निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरि अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ ।’
राष्ट्रपति संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको भन्दै महामन्त्री थापाले यसो हुनुमा तामझाम शैली पनि एक भएको बताए । ‘संस्थालाई सम्मानित र मर्यादित बनाउन ‘नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ’ उनले भनेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा फुटपाथमा हिँडिरहेका ट्रमा सेन्टरका डाक्टरलाई प्रहरीले निर्घात कुटपिट गरेको थियो । थापाले उक्त घटनाको दोषीलाई कारबाही गर्नुपर्ने भनी सार्वजनिक रुपमा उठेको मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् ।