काठमाडौैः गाई काटेको आरोपमा दक्षिणी रसुवाबाट तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कालिका गाउँपालिका–२ काभ्रेटोल निवासी ४४ वर्षीय मुरली ब्लोन, सोही वडाअन्तर्गत गुम्बाटोल निवासीद्वय ४८ वर्षीय कान्छा लामा र ६५ वर्षीय सार्की स्याङ्वा रहेका छन् । गाईको मासु भाग लगाइरहेको अवस्थामा गएराति १२ः३० बजे एक सय २० केजी मासुसहित कालिकास्थान नजिक काभ्रेटोलबाट ती व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार गाई काट्न प्रयोग भएको बञ्चरो एक थान एवं दुई थान खुकुरीसमेत घटनास्थलबाट बरामद भएको छ । घटनास्थल कालिकास्थानदेखि करिब तीन किलोमिटर उत्तरमा रहेको छ । विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय कालिकास्थानका इञ्चार्ज प्रहरी निरीक्षक राजीव बस्नेतको नेतृत्वमा गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । रातको ९ बजे व्यक्तिको घरमा गाई काटेर राति १२ बजे भाग लगाउन सुरू भएका बेला बरामद भएको र घटनामा संलग्न अन्य व्यक्तिसमेत हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।
यसै घटनालाई लिएर आदिवासी जनजाती समुदायका विभिन्न व्यक्तित्वहरुले भने देशमा गणतन्त्र र धर्म निरपेक्षताको स्थापना भइसक्दा पनि पुरानै कानुनलाई निरन्तरता दिएर अझै पनि गाई काटेकै आधारमा पक्राउ गर्नु मानवअधिकारकै विरुद्ध भएको भन्दै विरोध गरेका छन् । साथै अझै पनि राज्यले गाई काटेका कारण पक्राउ गर्नु न्यायसंगत नभएको भन्दै आन्दोलनमा उत्रने समेत चेतावनी दिएका छन् ।