काठमाडौंः दाङमा खाना पकाउने ग्याँसको सिलिण्डर पड्कँदा दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्याँस पड्कँदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भई तुलसीपुर-१६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका छन् ।
सिलिन्डर ग्याँस विस्फोट हुँदा केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घाइतेमध्ये कुसुमको अवस्था गम्भीर रहेको छ भने आशिषको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।