September 24, 2023, Sunday
२०८० आश्विन ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

दिलीपको हत्या गर्ने क्रशर उद्योगीलाई जन्मकैदको फैसला

२०७९ फाल्गुन १२

625

काठमाडौंः पर्यावरण अभियन्ता दिलीप महतोको हत्यामा दोषी ठहरिएका तीन जनालाई कैद सजाय सुनाइएको छ । मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५(२५ वर्ष कैद र ५(५ लाख क्षतिपूर्ति जरिवाना हुने फैसला सुनाएको छ ।

त्यस्तै हत्याका मतियार दोषी ठहर भएका जितेन्द्र महतोको हकमा भने साढे १२ वर्ष कैद र २ लाख ५० हजार जरिवाना हुने जिल्ला अदालत धनुषाले फैसला गरेको हो । जिल्ला अदालत धनुषाका इजलास नम्बर ६ का न्यायाधीश चित्रबहादुर गुरुङले फैसला सुनाएको इजलास अधिकृत विष्णु भट्टराईले जानकारी दिइन् । उनीहरुको सम्पत्तिबाट क्षितपूर्ति असुल नभए सरकारको विपद कोषबाट दिलीपको परिवारजनलाई उपलब्ध गराउन अदालतले आदेश दिएको छ ।

गत फागुन ३ गते जिल्ला अदालतले ७ अभियुक्त मध्ये विपीन, मुनिन्द्र र जितेन्द्रलाई दोषी ठहर र चारजनालाई सफाइ दिएको थियो । क्रसर सञ्चालक विपीनका दाइ विनोद महतो, कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार यादवलाई अदालतले सफाइ दिइएको थियो । २५ पुस २०७६ मा बिहानै घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न जाँदा धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिपको निर्मम हत्या भएको थियो ।