काठमाडौंः मिटरब्याज पीडित किसान तथा मजदुरहरूले बिहीबार जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति र बृहत नागरिक आन्दोलनको आयोजनामा उक्त विरोध प्रदर्शन भएको हो । पीडितहरूले बिहीबार जनकपुरको रामानन्द चोकबाट विरोध जुलुस निकाली जानकी चोक, राम चोक, जनक चोक, शिव चोक, भानु चोक, मिल्स एरियाहुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका हुन् । यसअघि १८ फागुनमा पनि पीडितहरूले जनकपुरधाममा विरोध प्रदर्शन गरेका थिए ।
प्र दर्शनकारीहरुले ऋण मिनाहा, सुदखोरहरूलाई गिरफ्तार गर्न, तमसुक व्यवस्था खारेज गर्न, मिटरब्याजीको सम्पत्ति छानबिन गर्न, पीडितको सम्पत्ति फिर्ता गर्न, मिटरब्याजीले गरेको यौन शोषणको छानबिन गरी दोषीलाई कारबाही गर्नलगायतका मागहरु राखेका छन् । महिला समूह गठन गर्ने र बिनाधितो ऋण दिने भनेर प्रलोभन देखाई बचतको नाममा लघुवित्त संस्थाहरूले रकम लुटेर आफू मोटाउने र गरिब विपन्नहरुलाई उठिबास लगाउने गरेको उनीहरूको भनाइ छ । ऋण दिने बेलामा न्यूनतम ब्याज लाग्ने र पछि त्यही पैसाको ३६ प्रतिशतसम्म ब्याज संचालकहरूले असुल्ने गरेको उनीहरूको भनाइ छ ।
विपन्न नागरिकको जीवनस्तर उकास्न भन्दै बिनाधितो समूहको जमानतमा ऋण दिने र पछि राष्ट्र बैंकले तोकेको भन्दा फरक गरी विभिन्न शीर्षकमा मोटो रकम असुल्ने गरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका सदस्य संघर्ष दाहालले आरोप बताए । मिटरब्याजी तथा लघुवित्त वित्तीय संस्थाहरू ५० हजार ऋण दिँदा सेवा शुल्कका नाममा ३ हजार सुरुमै लिने र ३६ प्रतिशतसम्म ब्याज असुल्ने गरेको उनले दुःखेसो पोखेका छन् ।
आफूहरूको समस्याप्रति सरकार गम्भीर नदेखिएकोले आन्दोलन गर्न बाध्य भएको आन्दोलनकारीहरुको भनाइ छ। यसअघि पनि मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले देशैभरका विशेष गरी तराई क्षेत्रका जिल्लाहरुमा मिटरब्याज र लघुवित्तका विरुद्ध निरन्तर आन्दोलन र विरोध प्रदर्शन गर्दै आईरहेका छन् । आन्दोलनकारीहरुले आफुहरुको मागलाई राज्यले तत्काल सम्बोधन नगरेमा कडाभन्दा कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् ।