काठमाडौँ । बलात्कार मुद्दामा न्याय मागिरहेकी विनु यादव र अधिकारकर्मी जस्मिन ओझाले मध्यरातमा संसाद भवन, बालुवाटार प्रधानमन्त्री कार्यालय, सिंहदरवार, सर्वोच्च अदालत, जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं जिल्ला सिडियो कार्यालयकाे भित्तामा रातो रंग छ्यापेर प्लेकार्ड देखाउँदै प्रदर्शन गरेका छन् ।
जस्मिन ओझा भन्छिन्,‘ हामीले रातको १२ः०० बजे सुरू गरेर ३ः०० बजे बिहानसम्म राजधानीमा रहेको देशकै सबै सर्वोच्च निकायहरूमा पुगेर प्रदर्शन गरेका छाैं। भोली बिहान उठ्ने बित्तिकै हरेकको गेटगेटमा हाम्रो एक विद्रोह छ। यो एउटा विनुको मात्रै हैन, लाखौ विनुहरूको कथा हो। यो विद्रोहको सुरूवात हो, अब हामी पछी हट्दैनौं ।’ उनले पीडितलाई थप पीडा दिने अदातलहरूको विरूद्धमा चर्को अवाज उठाउने र पछि नहटने बताएकी छन् ।
जिल्ला अदालत रामेछापले अभियोग लागेका व्यवसायी पवन कठायतलाई सफाइ दिएपछि पैसामा न्याय बिकेको भन्दै जस्मिन र विनुले सार्वजनिक रूपमा विरोध प्रदर्शन गरेका हुन् ।
रामेछाप जिल्ला अदालतकी न्यायाधीश इन्दिरा शर्माको एकल इजलासले बलात्कारको दाबी नपुगेको भन्दै कठाएतलाई पूर्ण सफाई दिइएकी थिइन ।