June 18, 2024, Tuesday
२०८१ असार ५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

बालबालिकामा अटिजमको प्रारम्भिक पहिचान

२०७९ चैत्र १९

5.4K

काठमाडौंः अटिजम स्पेक्ट्रम डिसअर्डर (Autism Spectrum Disorder) एक विकासात्मक विकार (Developmental Disorder) हो जसले व्यक्तिको संचार, सामाजिक अन्तरक्रिया र व्यवहारलाई प्रभाव पार्छ । विश्वको पछिल्लो तथ्याङ्क अनुसार प्रत्येक ५९ जना जन्मेको बच्चाहरु मध्ये १ जना अटिजमको अवस्थाले ग्रसित भएको पाइन्छ । नेपालमा करिब ३ लाख अटिजम भएका व्यक्तिहरु भएको अनुमान गरिएको छ । अटिजमको अवस्थाको यो दरलाई संयुक्त राष्ट्रसंघले निकै चासो देखाउँदै अप्रिल २ लाई विश्व अटिजम जनचेतना दिवसका रूपमा घोषणा गरेको छ । अटिजम भएका बच्चाहरुको अवस्था सुधार गर्नको लागि प्रारम्भिक पहिचान र हस्तक्षेप महत्त्वपूर्ण छ । प्रारम्भिक पहिचान र हस्तक्षेप प्रवद्र्धन गर्न बालबालिकामा अटिजमका लक्षणहरू पहिचान गर्न महत्त्वपूर्ण छ ।

बालबालिकामा अटिजमका प्रारम्भिक लक्षणहरू भिन्नभिन्न हुन सक्छन्, तर केही सामान्य संकेतहरूमा बोली र भाषामा ढिलाइ हुने, सामाजिक अन्तरक्रियामा कठिनाइ, दोहोरिरहने व्यवहार, र कुनै विशिष्ट चाहनामा मात्रै ध्यानकेन्द्रित गर्ने पर्दछन् । यी लक्षणहरू जन्मदेखि नै हुन सक्छन् वा प्रारम्भिक बाल्यकालमा देखिने हुन सक्छन् । मूल समस्या को रुपमा तीन वटा पक्षमा जटिल समस्याहरु देखिन्छन् :

१. सञ्चारलाई बुझ्न र प्रयोग गर्न कठिनाइ

२. सामाजिक सीप बुझ्न र प्रयोग गर्न कठिनाइ

३. दोहोर्याएर गर्ने व्यवहारिक समस्या तथा सोच्न सक्ने क्षमतामा एकरूपता नहुनु ।

अटिजम का अन्य चिन्ह तथा लक्षणहरु

एक्लै (अलग्गै) बस्ने बानी

वस्तुहरु प्रति अमिल्दो अनौठो लगाव

आँखामा आँखा नजुधाउने

अरु केटाकेटीसँग नखेल्ने तथा घुलमिल नहुने

डर नहुने साथै खतरा नबुझ्ने

कान थुन्ने

शब्द तथा वाक्यांश दोहोर्याउने

आफ्नो आवश्यकताको सामान ठूला मानिसको हात समातेर देखाउने

अत्याधिक चकचके अथवा अति निष्क्रिय हुने

हरेक दिन एउटै उस्तै काम गर्न रुचाउने परिवर्तन मन नपराउने

कहिले काहीं अरुले छोएको तथा अंगालो हालेको मन नपराउने

बोलाउदा नबोल्ने साथै कहिलेकाहीँ नसुने जस्तो गरिदिने

सान्दर्भिक तरिकाले हास्ने

कुनै काम एकदमै राम्रोसँग गर्न सक्ने तर सामाजिक कार्य गर्न नसक्ने

कल्पना गरेर खेल खेल्न नसक्ने वा असमान्य तथा दोहोर्‍याई तेहेर्‍याइ एउटै खेल खेलिरहने

कुनै पनि चिज वस्तु घुमाइरहने वा घुमेको मात्र हेर्ने

साधारण वा सामान्य शिक्षण विधिबाट नसिक्ने

असामान्य व्यवहार जस्तैः हल्लिने, मच्चिने, हात हल्लाउने, उफ्रिने आदि ।

अटिजम भएका बालबालिकाले संसारलाई सामान्य मानिसले जसरी अनुभव गरिरहेका हुँदैनन् । त्यसकारण हामीले सजिलै गर्न सक्ने काम उनीहरुलाई निकै कठिन हुनसक्छ । जस्तैः तपाईं पहिला आफुले धेरै प्रयोग गर्ने हातले (मानौँ दाहिने) कापीमा आफ्नो नाम लेख्नुहोस् । अब आफ्नो अगाडि एउटा ऐना राख्नुहोस् र कम प्रयोग गर्ने हात (देब्रे)ले कापीमा नहेरीकन ऐनामा हेरेर नाम लेख्नुहोस् । कति कठीन हुन्छ ? अटिजम भएका बच्चाले हामीले अनुभव गरेको भन्दा भिन्नै अनुभव गरिरहेका हुन सक्छन् । त्यसकारण उनीहरुलाइ सिकाउँदा विशेषरुपमा नहप्काइकन सिकाउनुपर्छ । केही गर्न सक्दैन भनेर होच्याउँनु हुँदैन । उनीहरुलाई संवेदनशीलताका साथ हेरचाह गर्नुपर्छ ।

अटिजम भएका बालबालिकाका लागि प्रारम्भिक हस्तक्षेप महत्त्वपूर्ण छ । अटिजम भएको व्यक्तिलाइ सबैभन्दा प्रभावकारी उपचार भनेको उनीहरूमा रहेको कमजोरी पक्षलाई अर्थात सञ्चार र सामाजिक बुझाईलाई ध्यानमा राखी व्यावहारिक सिद्धान्तको आधारमा शिक्षा प्रदान गर्नु हो । अटिजम भएको व्यक्तिलाई यदि हामीले विशेष सहयोग, प्रशिक्षण र विशेष रूपमा उपचार प्रदान गर्न सकेमा उनीहरुले अर्थपूर्ण र उपयोगी जीवन जिउन सक्छन् । अटिजम को लागि औषधि उपचारहरु नभएता पनि उनीहरूमा हुने विशेष लक्षणहरूलाई उपचार गर्न औषधोपचारहरू प्रयोग भने गर्न सकिन्छ । यस्का साथै विभिन्न महत्वपूर्ण therapy  हरु तथा शिक्षाको आवश्यकता हुने गर्दछ ।
जस्तैः अकुपेसनल थेरापी तथा संवेदनी थेरापी (Occupational Therapy and Sensory Integration Therapy)

संचारको थेरापी (Communication Therapy/Verbal Behaviour Analysis)

नेपालमा, अटिजमको बारेमा चेतना र बुझाइको कमी छ, जसले गर्दा यो अवस्था भएका बालबालिकाको निदान र हस्तक्षेपमा ढिलाइ हुन्छ । नेपाल अटिजम सोसाइटीले अटिजम सम्बन्धी चेतना अभिवृद्धि गर्न र यो रोग भएका बालबालिकाको निदान र उपचारमा पहुँच सुधार गर्न काम गरिरहेको छ ।

यस विश्व अटिजम दिवसमा, अटिजम भएका बालबालिकाको प्रारम्भिक पहिचान र हस्तक्षेपको महत्त्वलाई बुझेर अटिजम भएका व्यक्तिको जीवन उपयोगी र अर्थपूर्ण बनाउन आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्छ । बालबालिकामा अटिजमका लक्षणहरू पहिचान गरेर र प्रारम्भिक चिकित्सा ध्यान खोजेर हामीले परिणामहरू सुधार गर्न र समाजमा अटिजम भएका व्यक्तिहरूको विकास प्रवद्र्धन गर्न सक्छौं ।