June 23, 2024, Sunday
२०८१ असार ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

मिटरब्याज पीडितहरूले वार्ता र धर्ना समानान्तर रुपमा गर्ने

२०७९ चैत्र २८

1.5K

काठमाडौंः मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारसंग वार्ताका साथै धर्नाका कार्यक्रमहरु पनि समानान्तर रुपमा अघि बढाउने भएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै संघर्ष समितिले वार्ता र धर्ना समानान्तर रुपमा अघि बढाउने जनाएको हो । ‘हाम्रो संघर्ष समिति यतिबेला ६ बुँदे मागसहित सरकारसँग वार्तामा रहेको छ । वार्ता स्वयं पनि आन्दोलनकै एउटा हिस्सा रहने भएकाले हामी सरकारसँग गम्भीरतापूर्वक वार्तामा बसेका छौँ । यद्यपी पटकपटक सम्झौता र वार्ताका नाममा सरकार पक्षद्वारा इमानदारिता नदेखाएका अनेकौँ दृष्टान्त हाम्रो सामु छन् । हाम्रो संघर्ष समिति मिटर ब्याजजस्तो गम्भीर आर्थिक तथा सामाजिक समस्यालाई सदाका लागि अन्त्य गर्ने निर्णायक वार्ताको पक्षमा छ । त्यसैले यसपटक हामीले अन्य संघर्षका कार्यक्रम र वार्तालाई समानान्तर रुपमा अघि बढाएका छौं’ । विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै संघर्ष समितिले वार्ता चलिरहेकै समयमा सञ्चालन हुने धर्नाका कार्यक्रममा उपस्थित भएर शोषित तथा उत्पीडित किसान–मजदुरमाथिको अत्यन्त क्रुर तथा अमानवीय शोषणविरुद्ध ऐक्यबद्धता जाहेर गरी आन्दोलनलाई न्यायिक निश्कर्षमा पु¥याउने कार्यमा सहयोग गरिदिन भन्दै सार्वजनिक अपिल समेत गरेका छन् । ‘धर्नास्थल शान्तिवाटिकामा उपस्थित भइ शोषित तथा उत्पीडित किसान–मजदुरमाथिको अत्यन्त क्रुर तथा अमानवीय शोषणविरुद्ध ऐक्यबद्धता जाहेर गरी आन्दोलनलाई न्यायीक निश्कर्षमा पु¥याउने कार्यमा सहयोग गरिदिनुहुन हामी सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, बौद्धिक जगतलगायत सम्पुर्ण न्यायप्रेमी जन–समुदायमा हार्दिक अपिल गर्दछौँ’ । विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले चैत्र २० देखि आफ्ना ६ बुँदे मागहरु अघि सार्दै निरन्तर विरोध प्रदर्शन,धर्ना,मार्च तथा अन्तरक्रिया जस्ता कार्यक्रमहरु गर्दै आईरहेका छन् । सरकारले पनि वार्ता टोलीको गठन गरेर वार्ता गरिरहेको छ तर पीडितहरुको समस्या सम्बोधन गर्न ठोस निर्णय गरेर सम्झौता गर्न भने सकेको छैन ।