February 24, 2024, Saturday
२०८० फाल्गुन १२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

मिटरब्याज पीडितहरुमाथि राज्यको बर्बर दमन,पत्रकारमाथि दुव्र्यवहार

२०८० बैशाख ४

3.8K

काठमाडौंः शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । देशैभरका विभिन्न जिल्लाहरुबाट भेला भएर शान्तिवाटिकामा बस्दै आएका मिटरब्याज पीडितहरु सोमबार न्यायका लागि सिंहदरबार मार्च गरेर धर्नामा बस्ने योजनामा रहँदा प्रहरीले शान्तिवाटिकामा घेरा हालेर मार्च पास गर्न नदिएपछि पीडित र प्रहरीबीच झडप भएको हो । प्रहरीले आफूहरुमाथि त्यहाँबाट जान नपाइने भन्दै बल प्रयोग गरेको हुँदा झडप भएको पीडितहरूको भनाइ छ ।

झडपको क्रममा घाईते भएका पीडितहरुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । झडपमा परी केही प्रहरी र करीब ४०–४५ जना पीडितहरु घाईते भएका छन् । घाईतेहरुमध्ये अधिकांशको अवस्था सामान्य भए पनि केही घाईतेहरुलाई भने गम्भीर चोटपटक लागेको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस,लाठी चार्ज र पानीको फोहोरा प्रयोग गरी आन्दोलनकारीहरुलाई तितरबितर बनाएको थियो ।

तितरबितर भइसके पश्चात प्रहरीले शान्तिवाटिकाभित्र प्रवेश गरी आन्दोलनकारीहरुलाई नियन्त्रणमा लिएको थियो । उपचारका लागि अस्पताल लैजाने भन्दै नियन्त्रणमा लिएर आफूहरूलाई प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लब परिसरमा राखेर प्रहरीले यातना दिएको एक पीडितले थाहा यात्रासंगको टेलिफोन संवादमा बताए । त्यस्तै प्रहरीले झडपकै क्रममा पत्रकारमाथिसमेत दुव्र्यवहार गरेका छन् । थाहा यात्राकर्मी रकमराज तामाङलाई झडपस्थलमा रिपोर्टिङ गरिरहेको अवस्थामा प्रहरीले लाठी चार्ज गरेको र अश्लील शब्दहरु प्रयोग गर्दै दुव्र्यवहार गरेका थिए ।

सरकारले पहिले गरेका सम्झौता पालना नगरेको र सम्झौतामाथि सम्झौता थोपर्ने काम गरिएको भन्दै देशैभरका विभिन्न जिल्लाका सयौं मिटरब्याज पीडितहरू गत चैत २० गते काठमाडौं आइपुगेका थिए । आइपुगेदेखि नै मिटरब्याज पीडितहरूले निरन्तर सिंहदरबार,बालुवाटार,संसद भवन लगायतका विभिन्न स्थानहरुमा निरन्तर जुलुस र धर्ना गर्र्दै आइरहेका थिए । सोमबार पनि पूर्वघोषित कार्यक्रमअनुसार मिटरब्याज पीडितहरु सिंहदरबार मार्च गर्ने तयारीमा रहेका थिए । यसअघि सरकारसंग पटकपटक वार्ताहरु भए पनि सहमति हुन नसक्दा मिटरब्याज पीडितहरुले वार्तालाई स्थगित गर्दै आन्दोलनमा केन्द्रीत हुने बताउँदै आइरहेको थियो ।