June 18, 2024, Tuesday
२०८१ असार ५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

प्रचण्डको पञ्चायती प्रहसन

२०८० बैशाख ६

4.5K

सन्दीप थापा,

वैशाख ४ गते सोमबार मध्यान्ह बाह्र बजेदेखी मिटरब्याज तथा ठगी विरुद्द किसान मजदुर सङ्घर्ष समितिले शान्तिपूर्ण सिंहदरबार मार्च गर्ने योजना बनाएको थियो । यस अघि सरकारले बनाएको वार्ता टोलीले मिटरब्याज पीडित किसान मजदुरका मागमाथि छलफल नै नगरी झारा टार्ने किसिमले मात्र केवल औपचारिक रुपमा वार्ताको नौटङ्की मात्र मञ्चन गरेको भन्दै वार्ता भङ्ग गरेर सङ्घर्ष समिति पुनः धर्ना र सडक सङ्घर्षमा केन्द्रित भएको थियो ।

धर्ना सुरु हुनुभन्दा २ घण्टा अगाडिबाट नै आन्दोलनकारी बसेको परिसर वरिपरि प्रहरीले घेरा हालिसकेको थियो । त्यसअघि देखी नै प्रहरीले खटाएका छद्मभेषी गुप्तचर तथा जासुसहरूले आन्दोलनकारी तथा पीडितहरूलाइ निगरानीमा राख्ने, विभिन्न बहानाबाजी गर्दै सम्पर्क नम्बर माग्ने लगायतका वैयक्तिक विवरण संकलन गर्ने र आन्दोलनमा ऐक्यवद्दताका निम्ति उपस्थित न्यायप्रेमीहरूको सङ्घर्षसंगको आफ्नो पक्षधरताबारे घुमाइफिराइ खोतलखातल पार्ने उपक्रम चलाइरहेका थिए । पीडितहरू बस्ने टहरा रहेको स्थलको प्रवेशद्वारबाट आन्दोलनमा ऐक्यवद्दताका निम्ति सहभागीहरूलाइ भित्र पस्न दिइएन । मिटरब्याज पीडितहरूलाई बाहिर निस्कने बाटो बाहिरबाट बन्द गरी अवैध ढङ्गले कैद गरेर राखियो । बल्लबल्ल भित्र छिर्ने मौका पाएका सहभागीहरूको झोला जाँच गरियो,तलासी लिइयो । तथानाम अपशब्द सहित कतिपयलाई धम्काइयो पनि ।

जब आन्दोलनकारीहरू पङ्क्तिबद्द भएर मार्चका निम्ति तयारीमा जुटे, प्रहरीहरूले गेट बन्द गरिदिए । निरन्तर सङ्घर्ष गर्दै सिंहदरबार अगाडि आफ्नो आवाज बुलन्द गर्न आएका पीडित जनताहरू आफ्नो स्वरमाथि प्रहरीले ताल्चा झुन्ड्याउन खोजेकोमा असन्तुष्ट बने । प्रहरीले मार्च हुन नदिएपश्चात गेट तोडेर आन्दोलन अघि बढ्न खोज्यो, तत्पश्चात प्रहरी दमनमा उत्रियो । मजदुर किसानहरूले तिरेको करबाट तलब थापेका र जनताको सुरक्षा गर्ने झुट्टा कसमसहित डन्डा बोकेका आफूलाई जनताको साथी भएको नारा जप्ने प्रहरीहरूले बर्दीका बलमा गुन्डागर्दी सुरु गरे । पानीको फोहोरा फाले, टियर ग्याँस फाले, अनि लाठीचार्ज गरे । न्युनतम मानवीय मुल्य मान्यता र संवेदनासमेत ख्याल नगरी किसान मजदुर र ऐक्यवद्दताका निम्ति पुगेका आन्दोलनकारीहरूमाथि व्यापक लाठीचार्ज र निरंकुशतापुर्वक धरपकड भयो । सत्तरी वर्ष नाघेका वृद्ध बुबाआमालाइ समेत प्रहरीले कायरतापुर्वक लाठीचार्ज गर्‍यो ।

लाठीचार्जका पनि निश्चित नियम हुन्छन् । दायरा र सीमाहरू हुन्छन् । मौजुदा व्यवस्थाअनुसार पनि केवल भिड अनियन्त्रित भएको अवस्थामा वा कानुन विपरितको कार्य भएको अवस्थामा मात्र लाठीचार्ज गर्न सकिन्छ । आफ्नो नियन्त्रणमा रहेका व्यक्तिउपर लाठीचार्ज गर्न मिल्दैन । घुँडाभन्दामाथि लाठीचार्ज गर्न पाइँदैन । तर, सत्ताको उन्मत्त नशाले झम्म परेको सत्ताको चाकरको इशारामा प्रहरीहरूले लाठीचार्ज सम्बन्धि मान्यताहरूलाई धूपमा सुकाइदिए र प्रचण्ड सरकारका चाकरहरूले पञ्चायतकालीन समयकै झल्को दिने गरी आफ्नो मनमौजी लादे ।

मिटरब्याज पीडितहरूको भिड, कुनै मण्डलेहरूको उग्र जत्था थिएन, आफ्ना मागहरू आफ्नै रगत पसिनाले ठडिएको देशको सबैभन्दा ठूलो अड्डालयमा सुनाउनका निम्ति आयोजित रचनात्मक आन्दोलन थियो । आफुमाथिको बलात् अत्याचारले सीमा नाघेपश्चात त्यसको प्रतिरोधमा जुटेको न्यायप्रेमीहरूको शान्त र संयमित समुह थियो । न उनीहरूले कुनै कानुनले नगर भनेको कार्य गरेका थिए, न त नियमले निषेध गरेको स्थलमा प्रदर्शन गर्ने चेस्टा गरेका थिए । हामीलाई न्याय चाहियो भनेकै कारणले प्रहरीले आन्दोलनकारीहरूका पेटमाथि लात्ती बजार्‍यो, न्यायप्रेमीहरूको शरीरभरी लात्तीमुक्की र बुट वर्षा गर्‍यो । जथाभाबी अन्धाधुन्ध डन्डा वर्षायो । ताकीताकी आन्दोलनकारीहरूको टाउको फुटाइयो ।

आफ्नो नियन्त्रणमा रहेको व्यक्ति उपर लाठीचार्ज गर्न नमिल्ने नियमलाई मात खुवाउँदै प्रहरीहरूले छोप्दै, लाठी हान्दै भ्यानभित्र हुल्ने काम गरे । उनीहरूको अत्याचार यतिमै रोकिएन, गिरफ्तारीपश्चात महेन्द्र पुलिस क्लबभित्र लगिएका आन्दोलनकारीलाई थुनेरै लाठी वर्षा गरियो । प्रहरीको लाठी खुट्टामा मात्र होइन, ढाड र पिठ्युमा पनि बर्सियो । आन्दोलनको नेतृत्वको मोर्चा सम्हालिरहेका व्यक्तिहरूको टाउकोमै ताकेर प्रहरीले लाठी चार्ज गर्‍यो । कतिपयलाई बेहोस गरायो र आधा दर्जन भन्दा धेरैको टाउको फुटाइदियो । सर्वसाधारणको भेषमा निगरानी गरिरहेका सिआइडीहरूको इशारामा आन्दोलनमा सहभागी स्वयंसेवकहरूलाई छानी छानी छोपियो, लाठी हानियो र भ्यानमा राखेर बेपत्ता पारियो । फलानो नाम गरेको व्यक्ति को हो ? भन्दै खोज्दै कतिपयलाई त नामसमेत सोध्दै यातना दिइयो ।

आफ्नो चरम दमनले घाइते भएका आन्दोलनकारीलाई अस्पताल पुर्‍याउनुको साटो प्रहरीले प्रहरी कार्यालय पुर्‍यायो । हामीलाइ उपचार गर्न दिइयोस् भन्ने घाइतेहरूको आवाज दबाइयो । “हाम्रा साथीहरूलाई हामी उपचार गर्न लैजान्छौँ” भन्दा समेत मेट्रो पुलिसको प्रहरीले कान बन्द गरेर बस्यो । बरू उपचार गर्न लैजान्छौँ भन्दै घाइतेहरूलाई एउटा प्रहरी एकाइ बाट अर्को एकाइमा लगियो । घाइतेहरूलाइ एकठाउँबाट अर्को ठाउँ सार्ने काम मात्र गर्‍यो । आन्दोलनकारीको टाउकोबाट ह्वालह्वाल्ती रगत बग्दा र निरन्तर बान्ता गर्दा समेत प्रहरीले घाइतेको उपचार गर्ने जाँगर चलाएन ।

आन्दोलनकारीहरूलाइ तितरबितर गरिसकेपश्चात प्रहरी यत्तिमै रोकिएन, आफ्नो बर्दीको बलमा निहत्था जनतामाथि आतङ्क फिजाउँन कुनै कसर बाँकी राखेन । आन्दोलनकारीहरू बसेको स्थलबाट ऐक्यवद्दता जाहेर गर्न पुगेका आन्दोलनकारीहरूलाई बलजफ्ती बाहिर निकालियो । गेट बाहिर रहेका व्यक्तिहरूलाई परपर सम्म धपाउने काम गरियो, फुटपाथमा हिँडेका नागरिकहरूलाई समेत अनावश्यक केरकार गरियो । मधेसी मुलको अनुहार भेट्नासाथ भटाभट छोप्दै उनीहरूका वैयक्तिक विवरण टिपियो । पीडितहरू बसेको स्थलभित्र पनि आतङ्कको भुत नचाइयो । पीडित बसेका टेन्टभित्रका सामान रुझ्ने गरी पानीको फोहोरा प्रहार गरियो । टेन्टभित्र सुस्ताइरहेका आन्दोलनकारीहरूमाथि पनि लाठी प्रहार गरियो । र तलासी लिइयो । कामको प्रयोजनका लागी रहेका इट्टा,टेन्टको सहायताका निम्ति रहेका बाँसदेखी पीडितहरूले खाना पकाउन प्रयोग गर्ने ग्याँससम्म प्रहरीले आफ्नो गाडीमा राख्यो र गायब बनायो ।

मिटरब्याज पीडितहरूले बमगोला र बारुद लिएका थिएनन्, न त कुनै ध्वंस मच्चाउन वा शान्ति सु-व्यवस्थालाई खलल पार्न सक्ने औजारहरू नै थियो । आन्दोलनकारीहरूसंग केवल झण्डा र ब्यानर थियो । प्लेकार्ड र नाराहरू थिए । थिए त केवल आवाज र आक्रोश । बरू हतियारहरू प्रहरीसंग थिए । जनताको मस्तिष्कमा त्राहीमाम् उत्पन्न गराउन डन्डा समातेर बसेका प्रहरीले कायरतापुर्वक जनताको न्यायपुर्ण आन्दोलनलाई आतङ्कवादी देख्यो । आन्दोलनकारीमाथि डन्डा बर्सायो । यहाँसम्मकी थाहा यात्राका लागि रिपोर्टिङ गरिरहेका मिडियाकर्मी रकमराज तामाङको समेत क्यामेरा खोसी डन्डा बर्साइयो ।

प्रहरीको उक्त दमनकारी रवैयासंगै पुनः एकपल्ट राज्यको वर्ग पक्षधरता र प्रचण्ड सरकारको मालिकभक्ति छर्लङ्ग हुन पुगेको छ । विगतमा किसान र मजदुरका मुद्दाकै आडमा सिंहदरबार पुगेर गृह मन्त्रालयको ताला चाबी बोकेर बसेका नारायणकाजी श्रेष्ठ, उनका नाइके प्रचण्ड लगायतका संसदवादी कम्युनिस्ट नामधारी दलहरू मिटरब्याजी साहुका इमानदार भक्त र बहुसंख्यक उत्पीडित जनताका दुश्मन हुन् भनी अस्तिको घटनाले प्रस्ट्याइदिएको छ ।

सत्ताधारी माओवादी पार्टीका प्रधानमन्त्री र गृहमन्त्रीको किसान तथा मज्दुरहरूमाथिको यो निरंकुश बर्बरतासंगै माओवादी केन्द्रले आफ्नो पर्चामा अझै पनि लेख्न नछुटाएको “संसारका मजदुरहरू एक होऔँ” भन्ने नारा किसान मजदुरमाथीको ठगी सिवाय अरु केही होइन भन्ने कुरा पुनः पुष्टी भएको छ । साथै माओवादी केन्द्र पुँजीपतिहरू र तिनको वर्ग स्वार्थका निम्ति पालितपोषित सुदखोरहरूको संरक्षण गर्ने प्रतिक्रियावादी जत्थामा रुपान्तरित भैसकेको र उसले श्रमजीवी किसान मजदुरहरूको दुःखलाई घटाउनेभन्दा थप गिजोल्ने र बढाउने गतिविधि नै गर्दछ भन्ने कुरालाई अझ स्पष्ट पारिदिएको छ ।

यस घटनाले आफूमाथि लगानी गर्ने सुदखोर साहुको रक्षाकवच बनेर खडा भएको विद्यमान पुँजीवादी राज्यले सर्वाहारामाथि जस्तोसुकै अधिनायकत्व लादेर भएपनि श्रमजीवीहरूको परिवर्तनको आवाजलाई बन्दुक र सत्ताका बलमा थुन्न र निस्तेज पार्न चाहन्छ भन्ने कुरालाइ समेत नाङ्गेझार पारिदिएको छ । पुँजीवादी राज्य र पुँजीपति सरकारले आलाप्ने गरेको ‘राज्यको चरित्र लोक कल्याणकारी हुन्छ’ भन्ने तर्क जनताको आँखामा छारो हाल्न आलापिएको अर्थहीन कर्मकाण्डी मन्त्र मात्र हो भन्ने कुरा पुष्टी गरेको छ । यसबाट राज्यको चरित्र हरहमेसा दमनकारी हुन्छ र उसले आफुसंग चोचोमोचो मिलाउनेहरूको स्वार्थ रक्षा गर्न निरंकुशतापुर्वक साम, दाम,दण्ड,भेद सबै जायज नाजायज नीतिमार्फत दमनकारी औजारको रुपमा आफुलाइ उभ्याउन तत्पर रहन्छ भन्ने कुरा पनि छर्लङ्ग भएको छ । पुँजीवादी राज्यले भन्ने गरेको राज्य उसका सबै जनताको अभिभावक हो भन्ने मान्यतासहितको “प्यारेन्स प्याट्रिया” उसको मुखौटो मात्र हो र ऊ केवल पुँजीपति र जनतामाथि बर्बर अत्याचार लाद्ने सुदखोरहरूको इमानदार नोकर मात्र हो भन्ने कुरा थप स्पष्ट भएको छ ।

विद्यमान संविधानले धारा १७ मार्फत स्वतन्त्रताको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ । संविधानको धारा १७.१.क ले प्रत्येक नागरिकलाइ विचार र वाकको स्वतन्त्रता रहने उल्लेख गरेको छ भने उक्त धाराको दफा २(ख) ले प्रत्येक नागरिकलाई बिना हात हतियार शान्तिपुर्ण ढङ्गले भेला हुने स्वतन्त्रता प्रदान गरेको छ । नेपाल पक्ष राष्ट्र रहेको मानव अधिकारसंग सम्बन्धित नागरिक तथा राजनीतिक अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रको धारा २१ ले शान्तिपुर्ण विरोध गर्न पाउने अधिकारलाई आधारभुत मानवअधिकारको रुपमा उल्लेख गर्दै, यस्तो अधिकारको उपभोगमा कुनै पनि तरिकाले बन्देज गर्न नपाइने व्यवस्था गरेको छ । उक्त व्यवस्थाले विद्रोहलाई जनताको नैसर्गिक हकको मान्यता दिएको छ । सोही प्रतिज्ञापत्रको धारा १९ ले कसैको हस्तक्षेपबिना आफ्नो विचार राख्न पाउने स्पष्ट व्यवस्था गरेको छ, भने धारा १२ ले प्रत्येक नागरिकलाइ हिँडडुलको स्वतन्त्रताको हक दिएको छ । संविधानको धारा १७.२ (ङ) ले समेत नेपालको कुनै पनि भागमा आवतजावत गर्ने स्वतन्त्रता प्रत्येक नागरिकलाई प्रदान गरेको छ । तर, सरकारको हिजोको असामान्य बलप्रयोग संगै सरकार आफैले हस्ताक्षरसमेत गरी जारी गरेको नेपालको संविधान र त्यसप्रदत्त मौलिक हक केवल जनताको आँखामा छारो हाल्ने प्रपञ्च सिवाय अरु केही होइन भन्ने कुराको उजागर भएको छ । यसबाट ऐन, कानुन र सन्धि तथा सम्झौताहरू केवल बुर्जुवावर्गका स्वार्थ रक्षा गर्ने मुखौटामात्र हुन् भन्ने कुरा पुनः पुष्टी भएको छ ।

प्रचण्ड नेतृत्वको सरकारले हिजो गरेको क्रुर प्रहरी दमन पञ्चायती राजतन्त्रलाई नै मात खुवाउने किसिमको थियो । जनताका जायज मागलाइ समयमै सम्बोधन गर्नुको साटो राज्यले असमान्य रुपमा बल प्रयोग गरेर देखाएको् सुधखोरहरूको भक्तिले पीडित र न्यायप्रेमीहरूलाई थप आक्रोशित बनाएको सहजै अनुमान गर्न सकिन्छ । सरकारले आलाप्ने गरेको गणतन्त्र समेत बुर्जुवा वर्गको गणतन्त्र हो र जनताको गणतन्त्र होइन भन्ने पुष्टी भएको छ । जनताको गणतन्त्रका निम्ति थप सङ्घर्ष गर्न आवश्यक रहेको पनि प्रमाणित भएको छ । न्युनतम प्रगतिशील पुँजीवादीहरूले समेत वकालत गर्ने हड्तालको अधिकार, शान्तिपुर्ण विरोध र अभिव्यक्ति स्वतन्त्रताको अधिकारसंग थर्कमान वर्तमान सरकार विगतमा उसले भन्ने गरेको प्रतिक्रियावादी कित्ताकै अभिन्न अङ्ग बन्न पुगेको छ ।

न्यायप्रेमी नागरिक तथा पीडितहरूको मागलाई सरकारले समयमै सम्बोधन गरेर समस्या हल गर्न लाग्नुको साटो दमनको पञ्चायती शैली अवलम्बन गरे । न्यायको भोकले छट्पटिइरहेका नागरिकहरूले स्वयं सिंहदरबार र त्यहाँका चिल्ला सोफामा बस्नेहरूको सत्ता सहजै खाइदिन र बहुसंख्यक उत्पीडित एवं दमित किसान मजदुरको हित गर्ने सरकार बनाउने तागत राख्छन् भन्ने कुरा प्रचण्डलाई सम्झाइराख्न पर्दैन । बन्दुकले न्यायप्रेमीहरूको आवाज दबाउन सकिदैन भन्ने कुरा सरकारको नेतृत्व गरिरहेको कम्युनिस्ट नामधारी माओवादी र त्यसका चालक प्रचण्डलाई राम्रैसंग थाहा छ ।

किसान र मजदुरको रगत र पसिनाका बलमा सिंहदरबार पुगेकाहरू समयमै सच्चिदैनन् भने उनीहरू जनताको बलका अगाडी अस्तित्व जोगाउन सक्ने छैनन् । आफू अगाडि तेर्सिएका शोषण र अत्याचारका पर्खाललाई तोड्नका निम्ति चुप लागेर बस्न होइन, सचेत राजनीति र सङ्गठित अविछिन्न प्रयत्नसहित लड्न आवश्यक छ भन्ने कुरा लाल झुपडीका भुईँमान्छेहरूले बुझिसकेका छन् भन्ने कुरा पञ्चायतको सिको गर्न तत्पर नारायणकाजीहरूले बुझे हुन्छ ।