June 18, 2024, Tuesday
२०८१ असार ५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

तामसालिङ निर्माणमा तामाङ युवाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८० बैशाख ११

2.8K

काठमाडौंः तामसालिङ निर्माणमा तामाङ युवाहरुको भूमिका विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सोमबार काठमाडौंमा नेपाल तामाङ युवा घेदुङ संघिय कार्य समितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले,नेपाल तामाङ घेदुङका उपमहासचिव हर्क तामाङ र समाजशास्त्री डा.संग्रामजीत तामाङ वक्ता रहेका थिए । नेपाल तामाङ युवा घेदुङका अध्यक्ष बिलम मोक्तानले अध्यक्षता गरेको कार्यक्रम घम्बा घिसिङले सञ्चालन गरेका थिए ।

 

 

कार्यक्रममा सम्बोधन गर्दै नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले तामसालिङ तामाङहरुको ऐतिहासिक सभ्यताको आधारभूमि भएकाले यसको प्राप्तिको लागि युवाहरुले विद्रोहमा लाग्नुपर्ने बताएका थिए । ‘तामसालिङ त्यो भूमि हो । तामाङहरुको जो ऐतिहासिक सभ्यताको आधारभूमि,तामाङको उद्भव भूमि,तामाङको सभ्यताको भूमि । त्यसकारण यसको प्राप्तिको लागि संघर्ष र विद्रोहको विकल्प छैन । विद्रोहले नै तामाङलाई योग्य बनाउँछ’ । उनले भने ।

 

 

नेपाल तामाङ घेदुङका उपमहासचिव हर्क तामाङले प्रदेशको नामले मात्रै तामाङ समुदायको मुक्ति सम्भव नभएको बताएका थिए । तामाङहरु अधिकार सम्पन्न भएमा र राज्यका हरेक निकायहरुको निर्णायक भुमिकामा पुगेमा मात्र तामाङहरुको मुक्ति सम्भव हुने उनको भनाई थियो । त्यस्तै समाजशास्त्री डा. संग्रामजीत तामाङले अहिलेसम्म प्राप्त भएका संघियता,गणतन्त्र र धर्म निरपेक्ष जस्ता उपलब्धिहरुलाई तामाङ समुदायको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गर्नुपर्ने बताएका थिए ।

 

कार्यक्रममा तामाङ लोक सम्राट चन्द्रकुमार मोक्तान र नेपाल तामाङ युवा घेदुङका संस्थापक अध्यक्ष पुण्य बज्र लामालाई सम्मान गरिएको थियो भने उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रका तामाङ बुद्धिजीवी,विद्यार्थी,युवा व्यवसायी एवं पत्रकारहरुको उपस्थिति रहेको थियो ।