June 18, 2024, Tuesday
२०८१ असार ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

भूमिहिनहरुको घरटहरामा डोजर चलाउनु खेदजनकः बृहत नागरिक आन्दोलन

२०८० बैशाख २०

1K

काठमाडौंः बृहत नागरिक आन्दोलनले कैलालीको गोदावरी नगरपालिका वडा नं ३ चौकीडाँडास्थित सडक छेउमा बसोबास गर्दै आएका बादी समुदायका घरमा प्रहरी र वन डिभिजन कार्यालय धनगढीले डोजर लगाएर नागरिकलाई जबर्जस्ती विस्थापन गरेकोमा बृहत् नागरिक आन्दोलनले विरोध जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दैै बृहत नागरिक आन्दोलनले विरोध जनाएको हो ।

सरकारी निकायले नै भूमिहीन बादी समुदायमाथि बर्बरतापूर्वक डोजर चलाएर तथा बस्तीमा आगो लगाएर उनीहरुको बासस्थान नै ध्वस्त पार्ने काम गरेको भन्दै सरकारी निकायबाट भएको यो खाले कदम खेदजनक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘अपमान र विभेदविरुद्ध संघर्ष गरेका बादी समुदायसँग नेपाल सरकारले २०६४ सालमै दुईबुँदे सम्झौता गर्दै सम्मानजनक पुनर्स्थापनाको बाचा गरेको थियो । त्यस सम्झौतालाई लागू गर्नुको सट्टा भूमिहीन बादी समुदायमाथि बर्बरतापूर्वक डोजर चलाएर तथा बस्तीमा आगो लगाएर उनीहरुको बासस्थान नै ध्वस्त पार्ने काम सरकारी निकायले गरेको छ । नागरिकमाथि मानवीय विपद् ल्याउने यस्ता कार्य सरकारी निकायबाट हुनु खेदजनक छ’ । विज्ञप्तिमा लेखिएको छ ।

त्यस्तै बृहत नागरिक आन्दोलनले वैकल्पिक आवासको व्यवस्थापनबिना बलजफ्ती विस्थापन गरिनु मानवअधिकारको उल्लंघन भएकाले सरकारले बिनासर्त बादी समुदायको सुरक्षित बासस्थानको अविलम्ब व्यवस्था गर्ने मागसमेत अघि सारेको छ ।

गत वैशाख १८ गते वन क्षेत्रमा अतिक्रमण गरेको भन्दै महेन्द्रराज मार्गको दुबैतर्फ निर्माण गरिएका पाँच सय बढी घर टहरामा वन कार्यालयले डोजर चलाएको थियो । वन उपभोक्ता समिति, गोदावरी नगरपालिका, जिल्ला प्रशासन कार्यालय र वन डिभिजन कार्यालय धनगढीको संयुक्त प्रयासमा डोजर चलाएको हो। बसोबास गर्दै आएको घर टहरामा डोजर चलाएपछि यत्तिबेला त्यहाँका भूमिहिन र सुकुम्बासीहरु बिचल्लीमा परेका छन् ।