June 18, 2024, Tuesday
२०८१ असार ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय तामाङ परिषद् सम्मेलनको तयारी तिव्र

२०८० बैशाख २६

920

काठमाडौंः विश्वभर छरिएर बसेका तामाङहरुको छाता संगठन अन्तर्राष्ट्रिय तामाङ परिषद्को सम्मेलन थाइल्यान्डको राजधानी बैंककमा गर्ने तयारी गरेको छ । यहीँ आउदो जेठ २० र २१ अर्थात जुन ३ र ४ तारिखमा सम्मेलन गर्ने निर्णयसंगै तिब्र गतिमा तयारी सुरु भएको हो । विशेषगरी तामाङ समुदायको धर्म संस्कृति, रितिरिवाज, भाषा ,लिपिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि नीति निर्माण, विश्वभर रहेका तामाङहरुको अवस्था र तथ्यांकको खोजी, उनीहरुको अधिकारको प्रत्याभूति गर्ने उद्धेश्यले सन् २००२ मा अन्तराष्ट्रिय तामाङ परिषद्को गठन भएको थियो ।

परिषद्मा नेपाल,भारत, भुटान, थाइल्यान्ड, बर्मा, लगायतका डेढ दर्जन भन्दा बढी देशहरूमा राष्ट्रिय सदस्य संस्थाहरु क्रियाशील रहेका छन् । यसअघि नेपाल र भारतमा दुई÷दुई पटक सम्मेलन गरिसकेको परिषद्ले यसपटक बर्मामा गर्ने छलफल भए पनि हाल बर्मामा सैनिक शासनका कारण सिमाना सिल भएकाले सम्मेलन थाइल्यान्डमा गर्नुपर्ने परिस्थिति सिर्जना भएको परिषद्का वरिष्ठ उपाध्यक्ष टाशी लामाले बताए । उनले भने ‘बर्मामा सम्मेलन गर्ने सम्भव नभए पछि बर्मा पछि बसोबासको हिसाबले तामाङहरु थाइल्यान्डमा पाएको कारण थाइल्यान्डमा नै सम्मेलन गर्ने भएको छ । बर्मा हुँदै थाइल्यान्ड पुगेका तामाङ आफन्तजनहरुको इतिहास अनुसार पाँच पुस्ता बिताइसकेका छन’।

सम्मेलन व्यवस्थापनको जिम्मा तामाङ समाज बर्मा र तामाङ समाज थाइल्यान्डले लिएका छन् । इतिहासको कालखण्डमा माईग्रेसन प्रोसेस, राज्यको उत्पीडन, रोजगार लगायतका कारणले गर्दा तामाङ वंशहरु नेपालबाट दक्षिणपूर्वी एसियाका विभिन्न देशहरुमा फैलिदै गएको सन्दर्भमा उनीहरुको राजनीतिक,सामाजिक,साँस्कृतिक र आर्थिक अवस्थाहरुको बारेमा बुझ्नको लागि पनि सम्मेलनको आयोजना गरेको लामाले बताएका छन् ।

सम्मेलनमा दुई दर्जन भन्दा बढी देशहरूबाट करिब पाँच सय प्रतिनिधिहरु आउने आयोजकले अपेक्षा गरेका छन् । बंगलादेश,मलेसिया लगायतका देशहरूमा पनि तामाङहरुको स्थायी बसोबास रहेको सरकारी तथ्यांक भेटे पनि उनीहरुसंग सम्पर्क भने हुन सकेको छैन । सम्मेलनमा योजना कार्यान्वयन,कार्यविधि तयारी गर्नका लागि परिषद्को संस्थापक अध्यक्ष परशुराम तामाङको अध्यक्षतामा समिति गठन गरी सबै देशहरुबाट आएको रायहरु संकलन गरि अन्तिम प्रस्तावको तयारी गरिरहेका छन् । त्यसैगरी डा. मुक्त सिंह तामाङको संयोजकत्वमा समसामयिक प्रस्ताव उपसमिति गठन गरि तामाङहरुको विश्वव्यापी समसामयिक विषयवस्तुहरु संकलन पश्चात अन्तिम प्रस्ताव तयार गर्ने जनाएको छ ।