February 24, 2024, Saturday
२०८० फाल्गुन १२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

तेमाल गाउँपालिका को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

२०८० असार ११

1.7K

अनिस तामाङ/ काभ्रे

तेमाल गाउँपालिकाको अध्यक्ष चन्द्र लामाले २०८०-०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । लामाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । आइतबार बसेको गाउँ सभाको १३ औं अधिवेशनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा १५ शैयाको अस्पताल निर्माणदेखि रैथाने बालीको बीउ संरक्षण सम्मको लोकप्रिय कार्यक्रमहरु प्रस्तुत गरेका छन् ।

बागमती प्रदेशका खानेपानी ,ऊर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाको प्रमुख आतिथ्यतामा भएको उक्त गाउँसभामा लामाले सडक, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई विशेष प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको छ । विशेषगरी तेमाल काठमाडौंबाट नजिकैको गाउँपालिका भएर पनि एउटा अस्पताल नहुदा स्थानीयको स्वास्थ्य उपचारको लागि सदरमुकाम धुलिखेलमा नै आउनु पर्ने बाध्यात्मक परिस्थितिलाई अन्त्य गर्न यसपटक स्थानीय सरकारले नै अस्पताल निर्माण गर्ने गरी नीति तथा कार्यक्रममा महत्त्वपूर्णका साथ ल्याएको छ ।

“निर्वाचनको समय वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट जनतामा गरेका प्रतिबद्धता अनुसार नीति तथा कार्यक्रम बनाएको अध्यक्ष लामाले उज्यालो नेटवर्कलाई बताए । उनले भने ु हामीले निर्वाचनको समय जनतालाई धेरै आसाहरु बाँडेका छौँ, आसालाई निराशा हुन नदिन त्यस समय हामीले गरेका प्रतिबद्धतालाई सम्झेर नीति तथा कार्यक्रम बनाएका छौँ” ।

“हामीसंग समृद्ध तेमाल निर्माण बाहेक अरु सपना छैन । आज पनि तेमाल आउन निक्कै कष्ट बेहोर्नु पर्ने परिस्थिति जिवित नै छ । त्यसैले हामीले वडाबाट पालिका जोड्ने सडकलाई नाली सहितको पक्कि डलान बनाउनको लागि अगिल्लो वर्षनै बजेट व्यवस्था गरेका थिए । यस वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिएका छौँ । अब यसको प्रभाव जनताले प्रत्यक्ष महसुस गर्न पाउनेछू” तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले बताए ।

उनले थप भने “तेमाल ऐतिहासिक र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण ठाउ भएर पनि सडक संजाल र प्रचारप्रसारको कमिको कारण पर्यटक कम आउछन् । तामाङहरुको अन्तिम राजा ह्रेन्जेन दोर्जेले शासन गरेको भुमि र गुरु रेम्पोछेले तपस्या गरेको ठाउ भएर पनि यसलाई प्रचारमा ल्याउन नसक्दा पर्यटकहरू भित्र्याउन नसकेककाले यस वर्ष विभिन्न डकुमेन्ट्रीहरु निर्माण गर्ने समेत नीतिगत निर्णय गरेका छौँ “।

अंग्रेजी माध्यमबाट शिक्षा दिन इच्छुक विद्यालयलाई प्रोत्साहित गर्ने

तेमाल गाउँपालिकाले पछिल्लो चरण सरकारी विद्यालयको शैक्षिक गुणस्तर खस्किदै गएको प्रति विशेष चासोको साथ नीति तथा कार्यक्रम ल्याएको छ । अंग्रेजी राम्रो हुने आसामा अभिभावकले आफ्नो छोराछोरीलाई निजी विद्यालयमा पठाउने गरेको कुराको मध्यनजर गर्दै सरकारी विद्यालयमा नै अंग्रेजी माध्यमबाट शिक्षा दिन सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्ने भएको छ ।

त्यसको साथै विद्यालयको भौतिक पुर्वाधार, स्वास्थ्य तथा सरसफाइको सुविधा र आधारभुत खानेपानी सुविधा विस्तार गर्दै शिक्षकहरुको व्यवसायिक क्षमतामा विकासको लागि लगानी गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । उत्कृष्ट शैक्षिक गन्तव्य गाउँपालिका हाम्रो पहिचानु भन्ने आदर्श लक्ष्य प्राप्तिका लागि प्राज्ञिक संस्थाहरुसंग सहकार्य र साझेदारी गर्ने बताएका छन् । साथै गुरुकुल, मदर्शा र गुम्बा जस्ता शिक्षालयहरुको स्तरोन्नति गर्दै लाने बताएका छन् ।

अन्तर्राष्ट्रिय तामाङ सांस्कृतिक केन्द्र स्थापना गर्ने

नीति तथा कार्यक्रममा तेमाल गाउँपालिका तामाङ समुदायको अधिकतम बसोबास रहेको स्थल भएकोले तामाङ समुदायको पहिचान झल्किने गरि सार्वजनिक, निजी तथा सामुदायिक साझेदारीमा एक अन्तराष्ट्रिय तामाङ सांस्कृतिक केन्द्र स्थापना गर्ने उल्लेख गरेको छ ।

गाउँपालिकालाई खुल्ला बहुसांस्कृतिक संग्राहलयको रुपमा विकास गर्न पुर्वाधार निर्माण गर्दा बहुसंस्कृतिक पहिचान र मौलिकता झल्किने वास्तुकला, मुर्तिकला, चित्रकला जस्ता नमुनाहरु निर्माण गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

कृषकको उत्पादनको मुल्य निर्धारण स्थानीय सरकारले गर्ने

कृषकहरुले उत्पादन गरेको बस्तुले उचित मुल्यांकन नपाउदा कृषि पेसामा जोखिम पर्दै गएको निष्कर्ष निकाल्दै पालिकाले विचौलियाबाट कृषकहरुमाथि हुने ठगी तथा शोषण नियन्त्रण गर्न मुख्य कृषि उपजको पालिका भित्र समर्थन मुल्य निर्धारण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पालिकाभित्रका कृषकहरूको खण्डिकृत वर्गिकृत एवम् विस्तृत तथ्यांकको आधारनमा निर्माण गर्ने समेत कार्यक्रममा उल्लेख छ । व्यवसायिक कृषि पकेट क्षेत्रमा सिंचाइ, कृषि सडक, विद्युतिकरण, कृषि बजार, शीत भण्डार तथा गोदाम घरहरुको पुर्वाधार निर्माण गर्ने बताएका छन् ।

रैथाने बालीको बीउ संरक्षण गर्ने

तेमाल गाउँपालिकाले रैथाने बालीको बीउ संरक्षण तथा खेति विस्तार र बजारीकरण गर्ने नीति लिएको छ । गाउँपालिकामा भ्रमण गर्ने पर्यटकहरूलाई स्थानीय परिकारको ब्रान्डको रुपमा त्यस्तो खाना उपलब्ध गर्ने बताएको छ ।

नेपाल जैविक विविधताले धनी देश मानिन्छ । नेपाल उचाइ, भू(बनोट, हावापानी एवं सांस्कृतिक विविधता तथा प्राचीन खेती प्रणालीले गर्दा बाली, पशुपन्छी आदिमा पारिस्थितिक प्रजातीय तथा आनुवांशिक भिन्नता आएको छ ।

नेपालको कृषि जैविक विविधताको धनी देश हुँदाहुँदै पनि समयको अन्तरालमा स्थानीय कृषिजन्य आनुवंशिय स्रोतको लोप हुन सक्ने खतरालाई मध्यनजर गर्दै रैथाने बालीको बीउ संरक्षण गर्ने नीति तेमाल सरकारले लिएको छ ।

विदेश हैन विजनेस

तेमाल गाउँपालिकाले पछिल्लो वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्यालाई घटाउन विदेश हैन विजनेस भन्ने नीति ल्याएको छ । युवाहरूको बेरोजगारी न्युनिकरण गर्नका लागि सरकारी, गैरसरकारी, सहकारी वा निजी क्षेत्रमा समन्वय र सहकार्यमा सीप तथा उद्योमशिल क्षमता विकासका कार्यक्रमहरु अगाडि ल्याउने जसले केही मात्र युवाहरू विदेश जाने संख्या घट्ने तेमाल गाउँपालिकाले लिएको छ ।

विशेषगरि कृषि क्षेत्रमा लगानी गर्ने युवाहरूको लागि प्रोत्साहन स्वरूप अनुदान तथा तालिमको व्यवस्था गर्ने, उत्पादन गरेको वस्तुका लागि बजारको सुनिश्चितता गर्न पालिकाले पहलकदमी लिने बताएका छन् । जसका कारण हजारौं युवाहरु आत्मनिर्भर हुने विश्वास तेमाल गाउँपालिकाले लिएको छ ।

खाली जग्गामा वृक्षरोपण तथा एक घर एक बिरुवा

नीति तथा कार्यक्रममा खाली जग्गामा वृक्षरोपण, हरियाली प्रवर्द्धन, वनमा सुरक्षा र हैसियतमा सुधार गरी जल, जमिन र वातावरणको संरक्षण र जीविकोपार्जनको अवसरमा वृद्धि गर्ने कुरा उल्लेख गरिएको छ ।

साथै गाउँपालिका क्षेत्र भित्रका आवासीय भवनमा एक घर एक बिरुवा नीति ल्याएको छ । पोखरी संरक्षण, पहिरो तथा गल्छी नियन्त्रण विकासका पुर्वाधार संरक्षण र नदी नियन्त्रण गरि जल, जमिन र जलाधारको संरक्षण तथा उत्पादनमा वृद्धि गर्ने बताएका छन ।

विपत् जोखिम न्युनिकरण र व्यवस्थापन तथा जलवायु उत्थानशिल योजना तर्जुमा गरि सो अनुसार विपत् पुर्व तयारी, विपत् न्युनिकरण, प्रतिकरण,प्रतिक्रिया र पुर्नस्थापनाको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने लगायतका कार्यक्रमहरु उल्लेख छन् ।