June 18, 2024, Tuesday
२०८१ असार ५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

काख र कोखको न्याय माग्दै एक आमा

२०८० असार १६

6K

आकाश बस्नेत

गत असार ९ गते एउटी आमाले आफ्नो मृत छोराको फोटोसहित आफूमाथि अन्याय भएको कुरा टिकटकमार्फत रुदै सुनाएकी थिइन्। उक्त ३ मिनेटको भिडियोमा उनले आफ्नो १० बर्षको छोरालाई मोटरसाइकलले ठक्कर दिएर मार्ने व्यक्ति शक्ति र पहुँचको आडमा ६ महिनामा नै रिहाइ हुनुमा रौतहट क्षेत्र नम्बर ४ का सांसद देवीप्रसाद तिमल्सिना र अदालतको न्यायधीश गेहेन्द्रराज पन्तको मिलेमतो रहेको भन्दै न्यायको निम्ति आम जनतामाझ हारगुहार गर्नु भएको थियो । आखिर सामाजिक सञ्जालमार्फत प्रकट भएको यस रोदनको रहस्य के रहेछ भनेर बुझ्नको निम्ति हामी उहाँकै घरमा असार १२ गते पुगेर पीडित परिवारको कुरा सुनेका थियौं । ती परिवारले हामीलाई सुनाउनु भएको रोदन यस्तो छ ।

२०७९ साल मंसिर ३ गते चुनावको चर्को माहोल र मौन अवधिको समयमा रौतहट, चन्द्रपुर नगरपालिका वडा नम्बर ४, कप्तान टोलको घटना हो । । आमा सरस्वती पोखरेल तिमल्सिना र उहाँको १० वर्षीय छोरा सम्राट तिमल्सिना घरपछाडिको आफ्नै बारीमा काउली काट्दै हुनुहुन्थ्यो । आमाले काउली काट्ने र छोराले ओसार्ने काम गरिरहेका थिए । आफ्नो बारीबाट नजिकै रहेको ससुराको घरमा व्यापारीहरु डिजिटल तराजु लिएर काउली किन्न आएका थिए । बिहानको करिब १०ः३० बजेको समयमा सरस्वतीले ससुरालाई राम्रोसँग डिजिटल तराजु हेर्न नआउने भएकाले आफ्नो छोरा सम्राटलाई हेरेर आउन अह्राए । त्यसैक्रममा सम्राट साइकल डोर्‍याउँदै हजुरबुबाको बारीमा जाने क्रममा घरअगाडिको पक्की सडकमा निस्कने बित्तिकै उत्तरतिरबाट तीव्र गतिमा आएको मोटरसाइकलको ठक्कर लाग्छ र त्यस ठक्करबाट १० वर्षीय बालक सम्राट तिमल्सिनाको मृत्यु हुन्छ ।

१६ फिट कालोपत्रे र थप दुवै छेउ २-२ फिट छाडिएको खाली ठाउँ गरि २० फिटको चौडा सडक छ । ठक्कर मूल सडकको बीचमा नभएर सडकको छेउमा लागेको हुन्छ । यसरी घटनाको प्रकृति हेर्दा चालकले निकै ठूलो लापरबाही गरेको देखिन्छ । त्यसरी ठक्कर दिने व्यक्तिको नाम हो ४३ वर्षीय ‘रमेश ‘, जोसँग चालक अनुमति पत्र पनि हुँदैन । यहीँ विषयमा जिल्ला अदालत रौतहटमा सरकार वादी भएर मुद्दा चल्छ तर रु. दुई हजार जरिवाना तिरेर ठक्कर दिने व्यक्ति रमेश घिमिरे ६ महिनामा नै रिहाइ हुन्छ । रिहाइ भएको केही दिनमै उसले टिकटकमा ‘ मुसालाई विष हाल्दा मुसा मरेर जेल परेको थिए, रिहाइ पाए’ भनेर निर्लज्ज अभिव्यक्ति दिएको कुरा पीडित पक्षले सुनाउनु भएको छ । त्यो भिडियो सेभ गर्ने क्रममा ६ प्रतिशत सेभ हुदाहुदै उक्त भिडियो डिलिट गरिएको कुरा उहाँले हामीलाई बताउनु भएको छ । योभन्दा अघि उहाँले आफ्नो मृत छोराको यादमा फोटो टिकटकमा राख्दा रमेशको छिमेकीले ‘सर्वस्व पनि लुटिस्, पैसा पनि खाइस् र मान्छे पनि फसाइस्’ भन्दै निम्छरो कमेन्ट गरेको कुरा पनि उहाँले सुनाउनु भएको छ । त्यो कमेन्ट रमेशको छिमेकीको मोबाइलबाट गरिएको भएपनि विपक्षी रमेश घिमिरेको परिवारको सदस्यको मिलेमतोमा पीडितलाई हेप्ने गरि लेखिएको हो भन्ने पीडितको दाबी छ । कुरा यति मात्र छैन । बरु रमेशको श्रीमती र छोरीले सरस्वतीको घर अगाडिको बाटो भएर हिँड्दा पीडित परिवारलाई सुनाउने गरि गीत गाउने, खित्का छाडेर हाँस्ने जस्ता अमानवीय गतिविधि गरेका थिए भनेर पीडित परिवारले सुनाउनु भएको छ । यसरी चालक अनुमति पत्र बिनाको व्यक्तिले लापरबाहीपूर्वक चलाएको मोटरसाइकलको ठक्करबाट १० वर्षीय बालकको मृत्यु हुँदासमेत कसुरदार व्यक्ति दुई हजार धरौटी र ६ महिना कैद सजाय भोगेर रिहाइ हुन्छ ।

कसरी भएको थियो दुर्घटना ?

पीडितको भनाइ अनुसार रमेशको तीव्र गतिमा मोटरसाइकल हाँक्ने र गुट्खा खाने बानी थियो । रमेशको यो बानी फिल्मी शैलीको छ । ऊ गुट्खा किन्छ र मोटरसाइकल हुँइकाएर कुदिरहेको बेलामा खान्छ । त्यसरी मोटरसाइकल कुदिरहेको बेलामा गुट्खा मुखमा हाल्न केही समयको लागि टाउको माथि गर्नुपर्ने हुन्छ । त्यो दिन पनि उसले सरस्वतीको घरभन्दा अलि परको पसलमा गुट्खा किनेर मोटरसाइकल कुदाएको बेलामा टाउको आकाशतिर फर्काएर मुखमा हाल्ने बेलामा उसले बाटोमा भर्खर निक्लिएको सम्राटलाई देखेनन् र सिधै सम्राटको जिउमा ठक्कर दियो । सम्राटले डोर्‍याएको साइकललाई त केही भएन तर सम्राट भने केही मिटरपर उछिट्टिएर बजारिए । त्यतिखेर नै बालकको अवस्था निकै नाजुक मात्र नभएर ऊ अचेत अवस्थामा पुगेका थिए । त्यतिखेर नै सम्राटको धङधङी मात्र बाँकी रहेको कुरा नजिकैका गाउँलेले बताएका छन् । त्यही पनि आमाको मनले अन्तिमसम्म बचाउन सकेसम्मको प्रयास गर्ने क्रममा सुरुमा चन्द्रपुर अस्पताल र त्यहाँ नहुने भनेपछि बिरगंजको नेशनल मेडिकल कलेजसम्म पुर्‍याएका थिए । दुर्घटना स्थलमै सम्राटको बाँच्ने सम्भावना अति नै कम थियो, अन्तिम श्वास मात्र बाँकी थियो । नेशनल मेडिकल कलेजले अवस्था देखेर सुरुमा भर्ना लिन मानेका थिएनन् तर आमाले अनुरोध र हारगुहार गरेपछि भर्ना लिइएको थियो । त्यसको भोलिपल्ट मंसिर ४ गते बिहान ३ बजेतिर बालकलाई अस्पतालले मृत घोषित गरियो ।

रमेशमा आफ्नो मामा सांसद भएको अहंकार पहिल्यैदेखि थियो । त्यसैकारणले हुनसक्छ योभन्दा अघि पनि २०७८ माघमा गाउँलेले देख्नेगरी उसले मोटरसाइकल दुर्घटना गराएको थियो । त्यतिबेला मोटरसाइकलको पछाडि बस्ने व्यक्ति मानबेन्द्र तिमल्सिनाको दुर्घटनामा परेर ६ दिनपछि मात्र होस् आएको थियो । यतिमात्र नभएर रमेशले अर्को एउटा दुर्घटना गौर रोड डुमरियामा पनि घटाएका थिए भन्ने कुरा केही प्रत्यक्षदर्शीहरुले बताएका छन् । यसरी बारम्बार दुर्घटना हुँदासमेत न उसलाई चालक अनुमतिपत्र लिनुपर्ने दायित्वको बोध भयो न त कुनै कानुनी नियमकै परिबन्धनले समायो । सरस्वतीको श्रीमान सन्तोष तिमल्सिना एकपटक उसकै मोटरसाइकलमा चढेर घर आउँदा रोक्नुपर्ने ठाउँमा मोटरसाइकल नरोकिएर अलि पर रोकिएकोले उहाँले प्रश्न गर्दा दोषी रमेश आफैले मोटरसाइकलमा ब्रेक नभएको कुरासमेत बताएका थिए भनेर सुनाउनु भएको छ । रमेशको ठक्करबाट बालकको मृत्यु हुँदासमेत एउटै गाउँका भएर पनि दोषी परिवारका कुनै सदस्यले पीडित परिवारसमक्ष गल्ती स्विकार नगरेको, उल्टै एक कठ्ठा जमिन बेचेरै भएपनि ६ महिनाभित्र दोषीलाई छुट्याउने अहंकार प्रदर्शन गरेका थिए भनेर पीडित परिवारले हामीलाई सुनाउनु भएको छ ।

सांसद देवीप्रसादमाथि पदीय दुरुपयोगको आशंका

दोषी रमेश घिमिरे र सांसद देवीप्रसाद तिमल्सिना चन्द्रपुर नगरपालिका, वडा नम्बर ४ का स्थायी बासिन्दा हुन् । पीडित परिवारको अनुसार उनीहरूबीच मामा-भान्जाको नाता छ । मामा देवीप्रसादले नै भान्जा रमेश घिमिरेलाई सडक विभागमा जागिर लगाइदिएका थिए । रमेशको विरुद्धमा अदालतमा मुद्दा चल्दै गर्दा रमेशकी श्रीमतीले हाक्काहाक्की ‘एक कठ्ठा जमीन बेचेरै भए पनि ६ महिनाभित्र म आफ्नो श्रीमानलाई छुटाउछु’ भनेर मामा सांसद भएको अहंकार प्रदर्शन गरेको कुरा पीडितले बताउनु भयो । त्यसबाहेक ३ दिनपछि मात्र घटनाको मुचुल्का उठाइएको, मुचुल्का उठाएर हस्ताक्षर गराउँदा पीडितले माग गर्दासमेत मुचुल्कामा लेखिएको व्यहोरा हेर्न नदिएको, घटनाको मुचुल्का उठाउने प्रहरी सहायक निरीक्षक रन्जित सिंह र सरकारवादी भएर मुद्दा लडिरहेको वकिल उदय चन्द्र अधिकारीको बीचैमा जेठ महिनातिर सरुवा भएको, सम्बन्धित घटनाबारे प्रहरी चौकीले पीडितहरूप्रति चासो नदिएको र न्यायाधीशले थाहै नदिइ फैसला सुनाएको लगायतका घटनाहरूले गर्दा यस मुद्दामा राजनीतिक पहुँच र पैसाको चलखेल भएरै कसुरदारलाई ६ महिनामै जेलमुक्त गरिएको आरोप पीडितले लगाउनु भएको हो । चन्द्रपुर नगरपालिकाभित्र व्यापक खराब राजनीतिक चलखेल र पदीय दुरुपयोग हुन्छ भन्ने कुरा यहाँको अधिकांश जनताले स्वीकार्छन् ।

आफ्नो छोराको मृत्यु र त्यस घटनाको दोषी ६ महिनामै रिहा भएको पीडामा सरस्वतीले टिकटकमार्फत सांसद देवीप्रसाद तिमल्सिनाले पदीय मर्यादाको दुरुपयोग गरेको र न्यायधीशसमेत बिकेको आरोप उक्त भिडियोमा लगाउनु भएको छ । त्यस भिडियो सार्वजनिक भएको भोलिपल्टै असार १० गते वक्तव्य निकालेर आफूले पदीय मर्यादाको दुरुपयोग नगरेको तर आफ्नो मान-मर्यादामा आँच आउने गरि सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरिएकोले उनलाई तुरुन्तै प्रकाउ गरि कानुनी दायरामा ल्याउनुपर्ने माग सांसद देवीप्रसाद तिमल्सिनाले गरेका छन् । माननीयको यस वक्तव्यप्रति धेरै न्यायप्रेमीहरूले सामाजिक सञ्जालमा आलोचना गरेका छन् । छोरा गुमाएको पीडित आमाको पीडालाई अनुभुति नगरी, हरेक कोणबाट आफ्नो संलग्नता नरहेको विश्वास दिलाउन नसकी उल्टै छोरा गुमाएको आमाले अन्याय भएको महसुस गरेर आरोप लगाएको भन्दैमा उनैलाई पक्राउ गर्न गरिएको माग निकै नै तल्लो स्तरको भएको बताउँछन् ।

प्रहरीको अपारदर्शीता र फितलो भूमिका

छोराको मृत्यु भएको घटनाले मर्माहत भएकी आमाको अवस्था अनि काजकिरियाको कामले गर्दा घटना घटेको ४ दिनपछि बुवा सन्तोष तिमल्सिनाले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले मुचुल्का उठाउने काम ४ दिनपछि नै गरे र अभियुक्त घिमिरेमाथि सवारी ज्यान मुद्दाको अभियोग चलाइयो । मुचुल्का उठाउँदा लेखिएको व्यहोरा नदेखाइ हस्ताक्षर लिने काम गरियो । प्रहरीले कहिले पनि पीडितहरूलाई बोलाएर सोधपुछ गर्ने काम गरेनन्, बरु आफ्नै सुरले एकपक्षीय भएर काम-कारबाही अगाडि बढायो । छोराको किरिया सकाएर प्रहरी कार्यालयमा सोधपुछ गर्दा वास्ता नगरिएको र यो घटना गाउँमै मिलोमतोमा समाधान गरिने तयारी भएको भनेर जवाफ दिइयो जसको बारेमा पीडित परिवार कसैलाई कुनै जानकारी थिएन । अभियोगीविरुद्ध मुद्दा पनि चलाइन्छ र छोराको मृत्युबापत सरकारले ४ लाख ७५ हजार क्षतिपूर्ति र २५ हजार किरिया खर्च दिलाउँछ भन्दै ५ लाख रकम दिलाउने प्रहरीले दिन्छ । पीडितले मुद्दा कमजोर हुन्छ भन्दै सुरुमा पैसा लिन मानेको हुदैन । बरु उल्टै यो पैसाको साटो दोषी उपर अझ बढी सजाय होस् भनी माग अपील गरिन्छ। तर पैसा लिदा मुद्दामा कुनै पनि असर नपर्ने, कसुरदारलाई कडा सजाय हुने, तपाईंले पाउनुपर्ने न्याय पाइने भन्दै सरकारको तर्फबाट दिलाइएको पैसा भन्दै ग्रहण गर्न बाध्य पार्छन् । माथि नै उल्लेख गरिएको छ कि यो रकम लिएबापत पीडित परिवारलाई सर्वस्व लुट्ने, पैसा पनि लिने र मान्छे पनि फसाउने भन्दै निम्छरो आरोप टिकटकमार्फत लगाइएको थियो । अहिले यहीँ आरोप केही मानिसहरुले पनि लगाइने गरिएको छ ।

कसुरदारको अदालतले बयान लिँदैछ भन्ने कुरा पनि पीडित परिवारले प्रहरी कार्यालयमा गएर सोधपुछ गर्दा थाहा पाउछन् र हतारहतार गरेर अदालत पुग्छन् । अदालतमा बयान लिँदा आफ्नैअघि दोषीले घटना भएको भन्दा फरक बयान दिएको पीडित परिवारलाई पटक्कै चित्त बुझ्दैन । बयानमा उनले आफू त्यसबेला चुनावमा खटेको, हर्न बजाउँदा बजाउँदै पनि साइकलमा सवार बालकले सडक नछाडेको र आफूले बचाउने प्रयास गर्दागर्दै पनि ठक्कर लागेको भनेर बयान दिएका छन् । तर, पीडितहरू उनको यो बयानलाई बिलकुलै असत्य भएको सुनाउँछन् । चुनावमा खटिएको व्यक्तिको परिचयपत्र हुनुपर्ने तर्क उहाँहरूले गर्नुभएको छ । त्यस्तै बालकलाई साइकलमा सवार थियो भन्ने कुरा सरासर झुट हो किनभने साइकललाई खासै केही क्षति भएको छैन । आफू नजिकै घरपछाडीको बारीमा काम गरिरहेकोले रमेशले हर्न बजाएको भनेर दिएको बयान पनि सत्यसँग मिल्दैन भन्ने दाबी आमा सरस्वतीले गर्नुभएको छ । रमेशले लापरबाही गरेर मोटरसाइकल चलाएकोले नै दुर्घटना भएको कुरा सत्य भएको पीडित परिवारको दाबी छ । प्रहरीको अनुसन्धानबाट घिमिरेले लापरबाही तरिकाले मोटरसाइकल चलाउँदा दुर्घटना भएको कुरा अभियोगपत्रमा उल्लेख गरिएको छ । आफूसँग सवारी चालक अनुमतिपत्र नभएको कुरा भने रमेशले स्वीकार गरेका छन् ।

पीडितलाई झनै मर्माहत तुल्याउने अदालतको फैसला

पीडित परिवारको जानकारीअनुसार उक्त मुद्दा दुईपटकमा फैसला भएको हो । हाल अदालतमा दायर भएको मुद्दा सामान्यतया गोलाप्रथाद्वारा जुन न्यायाधीशको भागमा पर्छ उसैले हेर्ने नियम प्रचलनमा छ । यस मुद्दामा दुवैपटक इजलास नम्बर ६ का न्यायधीश गेहेन्द्रराज पन्तले हेरेका थिए । पीडित आमाले जेठ ३ गते न्यायधीशसँग भेटेरै म त्यस बालकको आमा हुँ, घटना भएको दिन सबैभन्दा नजिक भएको परिवारको सदस्य मै हुँ, मेरो पनि कुरा राख्ने मौका दिइयोस् भनी अपील गर्नुभएको थियो । त्यतिखेर (जेठ ३ गते) न्यायधीशले तपाईं चिन्ता नमान्नुस, फैसलाको दिन तपाइँको पनि कुरा सुनिन्छ, ढुक्क हुनुस्, मुद्दा अझ ४-५ महिना चल्छ भन्दै विश्वस्त बनाएका थिए । तर, हुन्छ उल्टो र अप्रत्याशित । मुद्दाको फैसला त्यही महिनाको अन्तिमतिर जेठ ३० गते हुन्छ। पीडित पक्षलाई कुनै जानकारी दिइँदैन। यहाँसम्म कि पीडित पक्षको वकिललाई समेत फैसला भैसकेर कसुरदार छुटिसकेको भन्ने कुनै जानकारी हुँदैन । अदालतको यस्तो रबैयाबाट मर्माहत भएर उही न्यायाधीश समक्ष गुनासो पोख्दा न्यायाधीशले सिधै फाँटमा गएर फैसला लेखिएको व्यहोरा हेर्नू, चित्त नबुझे अर्को न्यायधीश कहाँ जानु भनेर हप्काएको कुरा पीडित पक्षले बताउनु भएको छ । यसरी सरसर्ती हेर्दा मुचुल्का उठाउने बेलादेखि अदालतको फैसलासम्म अपारदर्शी ढंगले भएको लख काट्न कुनै गाह्रो पर्दैन ।

सम्राटको घरपरिवार

सम्राट, सरस्वतीको दोस्रो सन्तान हुन् । उसको एउटा दाइ छ समर्पण जो सानैदेखि अस्वस्थ हुनुहुन्छ । स्नेहको अद्भूत सम्बन्ध थियो दाजुभाइमा । दाजुभाइ दुवैलाई एक-अर्काको साथ भएपछि अरू कोही नचाहिने। हामी त्यहाँ पुग्दा औसत परिवारभन्दा फरक, असाध्यै प्रगाढ माया भएको घर पायौं । सम्राटको आमा सरस्वती खेतबारीमा काम गर्नुहुन्छ । पहिलो सन्तान अस्वस्थ भएको र श्रीमान घरभन्दा टाढा सेनामा कार्यरत भएकोले सरस्वतीको भरपर्दो साहारा बनेर हुर्किएका थिए सम्राट । सम्राट दाजु र आमा दुवैको आवश्यक हेरचाह गर्नुको साथै खेतबारी र घरगोठमा आमालाई सक्दो सहयोग गर्ने कामसमेत गर्दथे । यहाँसम्म कि आमाको बिरामी अवस्था देखेर गाह्रो काम र गह्रौं भारी बोक्नै दिन्थेन बरु आफै गर्न तम्सिन्थे । बुवा सन्तोष १७ वर्ष नेपाली सेनामा सेवा गरेर २०७९ साल भदौमा अवकाश लिएर फर्कनु भएको व्यक्ति हो । पहिलो सन्तानको जन्मपछि आमा र दाजुको स्वास्थ्य अवस्था बिग्रिएकोले छोरो सम्राटले नै बुवालाई घर फर्किन अपील गरेका थिए । आमाको हेरचाह हुने, परिवार पनि सँगै भइने भनेर बुवालाई गाउमै फर्केर सहपरिवार साथै सुखदुःख गर्नुपर्छ भनेपछि बुवा सन्तोष घर फर्केका थिए । सम्राटको आफ्नै दिदीबहिनी थिएन । तिहारमा टीका लगाउन उनीहरू मामाघर सर्लाही जान्थे । उसले घरमा एउटी बहिनीको कमी महसुस गरेर ममीलाई बहिनीको निम्ति अपील गरेका थिए । सरस्वतीले असाध्यै माया गर्ने छोराको अपील मनन गरेर अस्वस्थ भएपनि कुनै हालतमा थप सन्तान जन्माएर छोराको बहिनीप्रतिको तीव्र चाहना पूरा गर्ने सोचमा थिइन् । हाल उहाँ ९ महिनाको गर्भवती हुनुहुन्छ । सम्राटको बुवा सन्तोष अवकाश लिएर फर्किएपछि मंसिरको आम निर्वाचनमा म्यादी प्रहरीको जागिरमा भर्ना हुन खोज्दा श्रीमती र जेठो छोराको स्वास्थ्य अवस्थाले चिन्तित बनाएको थियो । बुवालाई घरपरिवारको चिन्ता लिनु पर्दैन, केही दिनको कुरा त हो यहाँ म हेरि हाल्छु नि भन्दै बुवालाई म्यादीमा ढुक्क भएर जान विश्वस्त बनाएका थिए । सन्तोष पूर्व नेपाली सेना भएकोले उहाँले म्यादीको तालिम लिनु पर्दैन थियो । यी र यस्ता तमाम गुणले गर्दा भिडियोमा सरस्वतीले आफ्नो छोरालाई करौडोमा एक भन्नुभएको छ । हाल सम्राटको दाइ समर्पण भाइबिना एक्लो भएका छन् । सरस्वतीले हामीलाई घटना सुनाउँदै गर्दा बीचबीचमा उहाँको श्वास रोकिन्थ्यो । छोराको प्रसंग आउँदा असह्य हुन्थ्यो । अदालतको फैसलाको पूर्ण पाठ आएपछि उहाँहरू उच्च अदालत जाने, त्यहाँबाट पनि न्याय नपाए सर्वोच्चसम्म पुग्ने तयारीमा हुनुहुन्छ । तर, अदालतको काममा पैसा र पदीय मर्यादाको चलखेल भए आफू पनि चुप नलाग्ने र आफन्त, नजिकका छिमेकी तथा क्रान्तिकारी राजनीतिक पार्टीका सदस्यहरूले समेत चुपचाप सहेर नबस्न भन्दै न्यायको लडाइँमा आफूहरू पनि सँगै हुने आश्वासन दिएको बताउनु भएको छ ।

अन्तिममा गत असार ९ गते सरस्वती पोखरेल तिमल्सिनाले टिकटकमा रुँदै आफू अन्यायमा परेको, सांसद र न्यायाधीशको मिलोमतोमा दोषीले उन्मुक्ति पाएको भन्दै न्यायको निम्ति आम जनसमुदायसमक्ष अपील गर्नुभएको थियो । हामी त्यस घरमा असार १२ गते पुग्दा अहिलेसम्म त्यहाँ हामीबाहेक कोही पनि नपुगेको, कसैले पनि आएर वास्तविकता बुझ्न नचाहेको कुरा सुनाउनु भएको थियो । यसरी एउटी आमाले आशुसहित हारगुहार गर्दा समेत कुनै पत्रकार, समाजसेवी, बौद्धिक, राजनीतिकर्मी वा आम व्यक्ति त्यसप्रति संवेदनशील नहुनु, चासो नराख्नु भनेको निकै डरलाग्दो कुरा हो । अनेक रुपले छटपटाइरहेको नेपाली समाज प्रगतिको दिशामा अघि बढ्छ कि बढ्दैन भन्ने कुरा समाजमा उठेको हरेक न्यायपूर्ण आवाजको जित हुन्छ कि हुदैन भन्ने बिषयमा अड्किएको छ । त्यसकारण समाजमा उठेका हरेक न्यायपूर्ण आवाज, संघर्ष या आन्दोलन आम समाजको विषय बन्नै पर्छ । त्यसप्रति समाज संवेदनशील बन्नै पर्छ । त्यसो भयो भने नेपाली समाज प्रगतिको दिशामा अघि बढ्न सक्छ, नभए बढ्दैन ।

आकाश बस्नेत, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन रौतहटको जिल्ला संयोजक हुनुहुन्छ ।