June 18, 2024, Tuesday
२०८१ असार ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

गैरआख्यानः मेरो एउटा साथी थियो

२०८० असार २३

2.4K

– एसबि सेर्पाइली
एक

त्यतिखेर म कक्षा छ मा पढ्थेँ । पढाईमा मेरो मन पटक्कै थिएन । किनकी त्यतिबेला नै मेरो दिलमा क्यारेमबोर्डकी क्वीनले राज गरिसकेकी थिइन् । मलाई मोहनी लगाइसकेकी थिईन् । रोमान्स र याक्सनले भरिपूर्ण फिल्म हेर्ने बानी परिसकेको थियो । किताब पल्टाउदा शरीरमा एलर्जी नैँ निस्कन्थ्यो । तर पनि म घरमा पढिरहेकै भेट्टिन्थेँ । किनकी घरको काम गर्दा मलाई झन बढी एलर्जी निस्कन्थ्यो । अब पढ्न बसेकोलाई कसले के चलाउँन सक्नु ! यदी कसैले त्यो दुस्साहस ग¥यो भनेँ, उसलाई सिधैं अरुको भविष्यमाथि खेलवाड गरेको आरोप लाग्थ्यो । अरु के चाहियो ?

खेल्ने÷घुम्ने साथीहरु कोही नभएको बेला म ढोका लगाएर कोठामै धुम्धुम्ती बसिरहेको हुन्थेँ । पढिरहेको अभिनय गरिरहेको हुन्थेँ ।

“अँ कान्छा ! कान्छा..! काँ छस् ? ह्याँ आ !” बाले बोलाए । बिहानै गाउँ गएका थिए, आइपुगेछन् ।
“हँ बा ।” अरुले बोलाको भए त यस्तै हो, बाले बोलाएको भएर बोलेँ । किनकी बालाई त्यो मैले अघि बताइसकेको आरोप लाग्ने व्यवस्था थिएन । बा घरको संविधानभन्दा माथि थिए ।
“छिटो ह्याँ आ, ल..!”
बाले के चैँ ल.. भने ? बाको ‘ल’ शब्दले मलाई लोभ्यायो । म बाहिर निस्किएँ । बा आँगनमा उभिएका थिए । क्रमशः दाँया–बाँया हात देखाउँदै भने–“ल यलाई केही दे । यो लगा ।”
अँझ लगा रे ! बुढाले लगाउनलाई के–के न ल्याइदेको जस्तो लाग्या थ्यो । सुन्तलाको बिरुवा पो ल्याएका रहेछन । अर्को चैं कुकुरको बच्चो ! हामीचैँ छाउरो भन्छौँ । मैले ती देख्नासाथ नाक खुम्च्याएँ । बुढाले भनेँ–“तँ बिहे नगरेको कन्या परिस्, बिरुवा तिमीहरूले लगाउनुपर्छ; शुभ हुन्छ । मर्दैन । फुल्छ, फल्छ । जा, पोहर साल बल्ल (गोरु) गारेको ठाउँ छ नि ! त्यही गएर लगा । अनि यो कुकुर ! स्यालको बिगबिगी छ पाल्नु पर्छ । भित्र भात बचेको होला, घ्यूमा मोस् र दे ।”

आज रोप्यो, कहिले जाग्छ ? कहिले बढ्छ ? कहिले फुल्छ ? कहिले फल्छ ? अनि कहिले पाक्छ र कहिले खाने ? घमासान खनेर यो सुन्तलाको बिरुवा रोप्नु पनि मलाई सपनामा खाएको सख्खरजस्तै खल्लो पो लाग्यो । र, अघि बताएका दुई कुराहरूभन्दा पनि बढी एलर्जी त मलाई कुकुर देखि हुन्थ्यो । मैले धेरै नाँइनाँस्ती गरेँ । बुढाले माने पो ! थर्काएरै भएपनी मबाट काम गराएरै छाडे ।

समय बढ्दै गयो । सँगसँगै कुकुरको छाउरो र सुन्तलाको बिरुवा पनि । “कुकुर काठे हैन, भोटे हो । न घिना ।” मैले नाक खुम्च्याएको देखेर बाले उहिल्यै भनेका थिए–“पारी बिरमानको घरबाट ल्याएको । उनि हिमालतिर स्याउ ल्याउँन गाको बेला, उनिसँग एउटा भोटे जननी कुकुर पछी लागेर आएछ, त्यसैको बच्चा हो । किनेर ल्याको ।”
बाको कुरा उबेला सुनियो मात्रै । वास्ता यो बेला गरियो –कुकुर निख्खर कालो थियो । शरीरको कपाल लामो–लामो थियो । कान पनि लामा–लामा थिए । भुँईमा फाल्देको खान्नथ्यो । भाँडामा चाहिन्थ्यो । तर आमालाई पनि कुकुर पटक्कै मन पर्दैन थियो, देख्नसाथ कराउँथिन् । उसको पक्षमा बा मात्रै थिए ।

तर उसले हाम्रो परिवारका सबै सदस्यलाई चिन्थ्यो । उसको लागी बाजस्तै हाम्रो परिवारका सबै सदस्य प्यारा थिए । सायद उसको लागि बा र बाको लागि हामी प्यारो भएर नै उसको लागि हामी सबै प्यारो भएका थियौँ कि ! घरमा नयाँ मान्छे आइरहेको देख्दा बाटोमै गएर रोक्थ्यो । अनि घरतिर फर्किएर बेस्मारी भुक्थ्यो । हामी बाहिर निस्कन्थ्यौं । अनि आगन्तुकलाई अनुमति दिने÷नदिने हाम्रो हातमा छोडिदिएर ऊ साइड लाग्थ्यो ।

फलफूल, सागसब्जीका बोटबिरुवा र बारीका बालीनाली भेडाबाख्रा फुकेर खान खोज्दा उसले गएर रोक्थ्यो । बारीमा पहरेदारजस्तै रुङ्गेर बस्थ्यो । खाना दिदैनथ्यो । जर्बजस्ती गर्दा टोलै थर्कनेगरी गर्जन्थ्यो । डराएर भेडाबाख्राहरु टाप कस्थे ।

  दुई

बालाई उमेर ढल्केका बुढा गोरु मन पर्दैन थिए, त्यो मामिलामा सायद उनलाई मेरै जस्तो एलर्जी हुन्थ्यो ! तन्नेरी किन्नलाई बासँग पैसाले धान्दैन थियो । त्यसैले बा प्रायः भर्खर किशोरावस्थामा टेकेका बाच्छा मात्रै ल्याउँथे । पालेर ठूलो बनाउँथे । दाना पानीको बल गरेर हृष्टपुष्ट बनाउँथे । जुरो कति आयो ? हेर्दै मस्किन्थे ।

“गोरुको सामा (स्याहार) यसरी गर्नुपर्छ, उसको पिठ्यूँमा झिङ्गा बस्ता झिङ्गा चिप्लिएर लडोस् ।” बा भन्थेँ । उनी यो भनाइका कट्टर अनुयायी थिए । सायद, प्रतिपादक पनि हुन कि ! त्यो थाहा भएन । खैर, यही भनाइको सारलाई गन्तव्य बनाएर बा गोरुको सेवामा लीन हुन्थे ।

हामीले गल्ती गर्दा बा हामीलाई त्यत्तिकै छोड्दैन थिए । तर, पशुपन्छीले गल्ती गर्दा सधैं उनीहरुलाई माफ गरिदिन्थे । भन्थे–“विचरा यिनीहरु पशु हुन् । केही थाहा पाउँदैनन् । परनिर्भरी हुन् । अरुले दिए खान्छन् । नत्र भोकै रोएर बस्छन् । निरीह हुन्, केही गर्न सक्दैनन् । मान्छेकाजस्ता हात पनि हुदैनन् ।”
बा पशुपन्छीको बारेमा अरु के–के भन्दै गम्भीर हुन्थे । म बाको कुराले पिलपिल । बाको कुराले पशुप्राणी प्रति मेरो मनमा गहिरो श्रद्धा भाव जाग्थ्यो । म उनीहरुलाई दयालु नजरले हेर्थेँ । उनीहरु मुन्टो बटार्थे । तर, म विक्षिप्त हुन्नथेँ । किनकी बाले भनेको सम्झिन्थेँ–‘उनीहरु मान्छेहरूजस्ता चलाख/चेतनशील हुँदैनन् ।’

‘मान्छेका बच्चाभन्दा, जनावरका बच्चा प्यारा हुन्छन् ।’– बा भन्थेँ । बा मान्छेका बच्चाहरुदेखि घिनाउँथे । जनावरका बच्चालाई चाँही कोरिबाटी गरिदिन्थे । काखमा लिएर खेलाउँथे । घरका बलवान् पशुप्राणीमध्येका गोरुले बालाई उत्तिकै प्यारो मान्थे । काट्ने जोसुकै होस्, घाँस उनकै हातको चाहिन्थ्यो । परिवारका हामी अन्य सदस्य मेलामा जाँदा कोब्रा सर्पझै फाँफाँ/फुँफुँ गर्थे । नजिक पर्न दिँदैन थिए ।

सायद बाले पुल्पुल्याएर होला । पछी आएर गोरु एकदमै साँढे हुन्थे । मार्ने हुन्थे । बा बाहेक अरु कसैलाई छेउछाउ जान नदिने । यदि कसैले त्यो दुस्साहस गर्‍यो भने– त्यो भित्तामा पुग्थ्यो । आमा दुख मान्दै सुस्केरा हाल्थिन– “यस्तो एउटा गोसाँ समात्ने अलक्षिणा सम्पति त कसैका नहोस् । भए भीरबाट खसेर मरिजाओस् ।” घाँस काट्ने, दाना पकाउने,स्याउला ओछ्याइदिने आमा भएपनि गोरुले आमालाई चिन्दैनथे । आमालाई रिस उठ्थ्यो –कारण तिमी नै हौ भन्दै, आक्रोशित हुदै बा माथि मनपरी खनिन्थिन् ।

एकदिन, बा के काम परेर सदरमुकाम देखि टाढा गएका थिए । दुई दिनसम्म आएनन् । गोरुलाई घाँस टाढैबाट फालेर दियौं । दाना÷पानीको भाँडो पनि टाढा बाटै लौरोले धकेलेर दियौं । तर तिनीहरू फुक्का चर्ने बानी परेका कहाँ मान्थे ! एउटाले दाम्लो चुडाएरै छोड्यो । अब कसरी तह लगाउने ? नियन्त्रणमा कसरी लिने ? ठूलो समस्या आइपर्‍यो ।

दाई घरमा थिएनन् । आमालाई झन मान्दैन थिए । कस्सिनै पर्थ्यो, म कस्सिएँ । डराई–डराई गएँ । बेइमानमध्येको पहिलो, काले गोरु छुटेको थियो । भर्खर काटेको घाँसको थुप्रोमा मनपरी गरिरहेको थियो ।
एउटा हातमा लट्ठी समाएको थिएँ । बिस्तारै–बिस्तारै अर्को हातले दाम्लो समाउनै आँटेको थिएँ, गोरु एक्कासी बाघझैँ झम्टिन आइपुग्यो । अरिङ्गालझै ममाथि खन्नियो । मैले केही मेसो पाइँन । ऊ लगातार म माथि बर्सिरह्यो । भकुण्डोझै मलाई उछार–पछार गरिरह्यो । म गल्दै गएँ । थकाई महसुस हुन थाल्यो । नेपथ्यबाट आमाको चित्कार र दुई/चारजना मान्छेहरूको हल्लाखल्ला कानमा गुन्जिएकोसम्म याद छ । त्यसपछी मलाई मिठो निद आयो । म निदाएँ ।

–––
बिउँझदा दिन ढल्किसकेको थियो । चामल, सिमेन्ट र चिनीका असङ्ख्य बोरैबोरा मिलाएर बनाइएको टाटमाथि, एउटा पात्लो कम्मल ओछ्याएर मलाई आँगनको बिचमा सुताइएको थियो । मान्छेहरुको ठूलो जत्थाले वृत्त बनाएर मलाई घेरेको थियो । आमा सुक्कसुक्क गर्दै, सारीको छेउले आँसु पुछ्दै मेरो सिरानमा बसेकी थिइन् । अर्को पट्टि सेतो वस्त्रधारी चिकित्सक मुसुमुसु मुस्कुराइरहेका थिए । सजिलै थाहा हुन्थ्यो त्यो उनको जितको मुस्कान हो । किनकी म होसमा आउनुनै उनको जित थियो । त्यो कारुणिक क्षणमा कोही शान्त मुद्रामा थियो भने —एकजना उनी मात्रै थिए । भने– “अवस्था सामान्य छ, आत्तिनु पर्दैन ।”

मेरो शरीरमा रगतका टाटा थिए । शरीरमा र मुखको धेरै ठाउँमा खतैखत भएका थिए । मुख बाउँडिए जस्तो भएको थियो । मलाई मेरो शरीर नहरमा डुबेको मुढोजस्तै गह्रुँगो लाग्यो । ओल्टाउन/पल्टाउन सके पो ! त्यस्तो नलागोस पनि कसरी !

तर दुखाई महसुस भएको थिएन । पहिले थकाई आएर । अहिले पेइन किलर असरले । मलाई दबाईले सजिलो भयो । म जबर्जजस्ती उठेँ । हिड्न अभ्यास गरेँ । कसैले आराम गर्ने सल्लाह दिए । कसैले आराम गर्दा कष्टले झन च्याप्ने गरेको अनुभव सुनाए ।
“तन्नेरी भयो र पो हो । बुढाबुढी भा‘को भए त थला पथ्र्याे । ऊ, कति सजिलै जुरुक्क उठेर हिड्यो ।” धेरै जनाले जिब्रो टोके । टोक्ने मध्येमा प्रायः पाका उमेरका नै थिए । काँचा उमेरकाले पनि आ–आफ्नै तरिकाबाट मेरो बहादुरीको प्रशंसा गरे । तर त्यतिबेला मलाई एउटा बाहेक, अरु यि कुनै पनि कुरामा वास्ता थिएन ।

आखिर मलाई कस्ले बचायो ? गोरुबाट कस्ले छुटायो ! बाले ? भिडमा आँखा डुलाएँ । बा त कहीँ–कतै थिएनन् । बा बाहेक हाम्रा साँढेसँग मुकाबला गर्नसक्ने त्यो टोलमै कोही पैदा भएको थिएन । म हुँदै थिएँ; तर कठै ! पहिलो झट्कामैं खेर गएँ ।

अरु को आयो त ? म छक्क परेँ । फेरी साँढे आफै छोड्ने खालको पनि हैनन् । किनकी, एकपल्ट भत्किएको रित्तो ठुङ्गिलो मकैको नलसँग जलाउँनलाई बारीमा राखेका थियौं । साँढेले त्यसलाई प्रतिद्वन्द्वी सम्झेर हमला गर्‍यो । उसले जति प्रहार गर्छ, ठुङ्गिलो उत्ति गुड्कीन्छ । साँढेले त्यसलाई गुडाउँदै–गुडाउँदै एक किलोमिटर टाढा खोलासम्मै लियो । र दिनभरी त्यही हमला गरिरह्यो, छोडेन । साँझ परेपछी बा गएर साँढेलाई ठुङ्गिलोबाट छुटाएर लिएर आए । हामी त हामी ! त्यतिबेला बा पनि चकित परे ।

“मलाई गोरुबाट कस्ले छुटायो ?” मैले सबै भिडलाई सोधेँ । आमालाई सोधेँ । मेरो गला अवरुद्ध भएर स्वर भास्सिएको थियो भने अनुहार निन्याउरो । जवाफ सबैले एउटै दिए । तर आ–आफ्नै शैलीमा ।
“अरु कल्ले हुनु !” आमाले ऊ तिर इशारा गर्दै भनिन–“हाम्रो कुकुरले ।”

मलाई गोरुले हमला गरिरहँदा पृष्ठभूमीमा ऊ कराइरहेको अलि–अलि सम्झना छ मलाई । आखिर उन्मुक्ती उसैले दिएछ । उसले साँढेको खुट्टो नै टोकिदिएछ । अनि मात्रै छोडेछ ।

“लास्टै रागी रैछ यार यो त !” धेरैले उसको प्रशंसा गरिरहेका थिए । म उसलाई हेरेर हर्षले विभोर भएको थिएँ । ऊप्रति मेरो मनमा गहिरो श्रद्धाभाव जाग्यो ।

परिमार्जित हुँदै आएको कुकुर प्रतिको धारणा यतिबेला आएर पुरै परिष्कृत भयो । र, यो भन्ने ठाउँमा आइपुगियो –कोही–कोही कुकुरहरू कोही–कोही मान्छे भन्दा राम्रा हुन्छन् । तर नराम्रा÷नीच मान्छेहरुलाई कुकुरको संज्ञा दिएर कुकुरको अस्तित्व नै बेकारी हो भनेर अथ्र्याइन्छ । यो उनीहरुप्रतिको घोर अन्याय हो ।

यो कुकुरको आमा साँच्चै भोटे रहेछ । बा चै काँठे । दुई जाति मिस्सिएर ठिमाहा भएको कारण, यस्को पुस्ता झन विकसित भएको थियो । मान्छेहरूले भनेजस्तै यो साँच्चिकै रागी थियो ।

मलाई, जसरी मान्छेको नाम राखिन्छ, त्यसरी नै यसको पनि नाम राखिदिने विचार आयो । र यसको नाम राखिदिएँ— रागी । तत्पश्चात, सबैले उसलाई रागी भनेर बोलाउन थाले । रागी भनेर चिन्न थाले । पछिपछिबाट ‘रागी’ भनेर बोलाउँदा ऊ फुर्कन्थ्यो । पुच्छर हल्लाउँदै आउँथ्यो ।

तिन

म जिद्दी थिएँ । अरुले भनेको मान्दिनथेँ । आफूले भनेको जे पनि मान्थेँ । मलाई केही कुरा लाग्यो भनेँ लाग्यो–लाग्यो । यद्यपि, रि –गरेर धेरै पटक सोच्न त सोच्थेँ । तर म दिमाग भन्दा बढी मनले सिकाएको बाटोमा हिड्थेँ । किनकी मलाई मनले मन पराएका कुराहरु क्युट लाग्थे, प्यारा लाग्थे । म धेरै पटक रहरको बाटो हिँडेको छु । सायद आज पनि । मलाई लाग्छ, यसको सुरुआत मैले मेरो अरु सङ्गीहरू भन्दा सखारै देखि गरेको हूँ ।

प्रथमपल्ट,
म रहरको बाटो हिँड्दै घरदेखि धेरै टाढा पुगेँ— इन्डियाको हिमाचल प्रदेश । शहर र रमणीय स्थल भएपनि मेरो मन त्यहाँ मानेन । मैले त्यहाँ पुगेर घरलाई धेरै मिस गरेँ । धेरै सम्झिएँ । म हिडेँको बाटो, मैले छोएको माटो, खोला, खेत, बारी, स्कुल, दौंतरी, गाउँ बीचको पिपल चौतारो, आउनेबेलामा आमाका आँखामा बगेका वियोगका अश्रुधारा र अनुनय आदि आदि । सबैले पिरोले मलाई । र, नछुटाएरै धेरै मिस गरेँ, रागीलाई । ऊ मलाई छोड्न बसपार्कसम्म आएको थियो । खुब न्यास्रो लाग्यो ।

आफ्नो ठाउँको यादले धेरै सताएपछि त्यो बिरानो ठाउँमा धेरै बस्न सकिन । म दुई महिना पछि घर फर्किए । रागीले मलाई देखेर आश्चार्य मान्यो । हो÷हैन भनेर सुँघ्यो । पछाडीका दुईओटा खुट्टा भुइँमा र अगाडि दुईवटा खुट्टा मेरो छातीमा टेकेर उभिएर मेरो मुखैनेर मुख ल्याएर हेर्‍यो । टाङमुनि पसेर लुट्पुट्टियो । खुसीले उफ्रियो । म त्यसको क्रियाक्रम र चर्तिकलाले नतमस्तक भएँ । परिवारका कोही सदस्य घरदेखी टाढा जान लाग्दा,ऊ बस बिसौनीसम्म पुर्याउन अनिवार्य जान्थ्यो । फर्कदा उसैगरी लुटुपुटु गर्दथ्यो ।

आमालाई राती घरमा एक्लै हुँदा डर लाग्थ्यो । बाहिर निस्कन डराउँथिन् । सानो छँदा म आमालाई कहिल्यै एक्लै छोड्दिनथेँ । अँध्यारोमा बाहिर केही निख्खर कालो,निख्खर सेतो वस्तु देख्यो कि चुडेल, डाइना,पिशाच नै सम्झेर डरले बिरामी नै पर्थिन् । पछी हामी घरमा कोही नहुँदा रागीले नै आमालाई साथ दिन्थ्यो । ऊ मान्छेजस्तै समझदार थियो । ऊ हाम्रो परिवारको सदस्यजस्तै अभिन्न भएको थियो ।

बिहान मर्निङ वाल्कमा जाँदा ऊ पनि मसँगसँगै जान्थ्यो । मलाई सजिलै उछिन्थ्यो । तैपनि जानी–जानी ऊ मलाई अघि जान दिन्थ्यो । ऊ र म खुब कुद्थ्यौं । खुब मिल्थ्यौं । कहिँ जानुपर्दा प्रायः ऊ र म सँगै जान्थ्यौं । सँगै खेल्थ्यौं । सँगै उफ्रिन्थ्यांै । हाम्रो नगरमा कुनै बाँकी छैन, जो हामी प्रतिस्पर्धा गर्दै सँगै नदौडेको बाटो होस् ।

 

चार

हो, मलाई घरको फिक्री भएन । मलाई मेरो मनको फिक्री हुँदै गयो । मैले घर छोडेँ । टाढिएँ । घरबाट बाहिरिएँ । बिस्तारै–बिस्तारै जसरी, हल्लिएको दाँत मुखबाट बाहिरिन्छ, हो म त्यसरी नै पत्तै नपाई बाहिरिएँ । तर रागी ! उसले कहिल्यै घर छोडेन, सिर्फ एकपल्ट बाहेक ।

कुरा, काठमाडौं सुन्धाराको धरहरा ढल्ने बेलातिरको हो । त्यतिबेला म, मुसिकोट बस्थेँ । घर आएको थिएँ । के कुरामा हो; बा र दाईको निकै वादविवाद र चर्काचर्की भएको थियो । मैले सुनिरहेको थिएँ । रागी ढोकामा बसेको थियो, उसले पनि सुनिरहेको थियो । बाहिर काग र रुपी बेस्मारी कराइरहेका थिएँ, उसले बेला–बेला आवाज दिइरहेको थियो । उसले जति पटक आवाज दिन्थ्यो, दाई उति पटक ऊ तिर ठुला आँखा लगाइरहेका थिए । उसले त्यो बुझेन । चर्काचर्की झन चर्को भयो ।

दाई अत्याधिक रिसाउँदा अगाडी जे भेट्यो उही स्टिलको गिलास, लोटा, थाल वा अरु वस्तु जे भएपनि धोएको कपडा निचोरेजसरी बेस्सरी निचोर्थे, त्यो कुच्चिएर डल्लो पथ्र्यो । र त्यो डल्लो तल खोलातिर हुत्याइदिएर गाउँ जान्थे । तर उनले यस पाली त्यसो गरेनन् । रिसाएर बाहिर निस्कदैँ थिए, ढोकैमा कुकुर देखे । उनको पारो झन तात्तियो । न्वारनदेखिको बल लगाएर भकुण्डोलाई झै उसलाई लात्ति हानेँ । ऊ दुई बल्याङ्ग हावामा नाच्दै बाहिर आँगनमा बज्जारियो । र गुड्किदै कान्लामुनी गयो ।

ऊ जोड–जोडले करायो । ऊ यसरी कराएको थियो, उसको चित्कारले वरिपरि विद्यमान प्राणीका कानका जालीलाई नैं धक्का पुग्नेगरी । उसको त्यो क्रन्दन र चिच्याहट सुनेर पल्लो गाउँका प्रत्येक घरका मान्छेहरू बाहिर निस्किएर आँखामाथि हातको पाली लगाउँदै हाम्रो घरतिर हेरे । रागी गुड्किदै बारीमा पुगेको थियो । ऊ त्यहाँबाट बल्लतल्ल उठ्दै, बस्दै, खोच्याउँदै, लर्बरिदै भाग्यो । र ऊ त्यो दिन देखी घरमा आएन ।

“मुटु फुटेर मरिसक्यो होला !”बाले निराश हुँदै बङ्गारामा हात लगाए । मलाई उनको कुराले मुटुमा चिसो पस्यो निकै डराएँ । चारगाउँ खोजेँ । तर कहीँ फेला पारिन । मरेपनि उसको लास भेट्टिनुपर्छ । नत्र ऊ जीवित छ भने घरका अरुलाई सम्झिएर पनि यो घरमा फर्किनुपर्छ । उसले त्यसरी चटक्कै छोडेर जान पाउँदैन ! म उसलाई सम्झिदै बिथोलिन थालेँ

यस्तै हप्तादिन पछि ऊ घरदेखी पचास मिटर पर देखियो । बसिराको । के ऊ यस्तो अवस्थामा पनि हाम्रो घरको वरिपरी बसेर घरको सुरक्षा गर्नबाट चुकेको थिएन त ?
हामी छक्क पर्‍यौँ, उसले घरदेखी बाहिर केही खाँदैन थियो । यत्रो दिन कसरी प्राण धान्यो !

बा र म उसलाई लिन गयौँ। ऊ आउनै मानेन । हामीले तान्दा, अगाडीका दुई ओटा खुट्टा जमिनमा गाडेर आउदिन भन्दै जिद्दी गर्‍यो । पछि हामीले खाना उसलाई उहीँ लगिदियौं । हामीले फकायौं, बल्लतल्ल खायो । एकछिन हामीहरुको अनुहार राम्रो सँग हेर्‍यो । अनि घर आयो ।

–––

केही समय पछी दाईको गाउँमा केटाहरुसँग फाइट पर्यो । दाईले हारिरहेको देखेर रागी पनि गएर दाईको पक्षमा लडेछ । दाईलाई माथिबाट एकजनाले ढुङ्गा प्रहार गर्न लाग्दा ऊ माथि गएर उसको खुट्टो टोकिदिएछ । दाईलाई अठ्याएको बेला उसले गएर दुश्मनहरूलाई टोक्दै कमजोर बनाएछ । दाईलाई सकुशल घरसम्म ल्याएछ ।

तर, भोलिपल्ट गाउँमा कचहरी बस्यो । आफू लडाइँमा होमिनुको परिणाम रागीलाई के थाहा ! उसले टोकेको मान्छेलाई रेबिज विरुद्धको सुई लगाइदिनु पर्ने भयो । तर पनि दाई दुःखी भएनन् । ढुङ्गाले आफुलाई लागेर आफ्नो उपचार गर्नुभन्दा, दुस्मनलाई नै घाइते बनाएर उसकै उपचार गर्नु बेस माने । त्यो दिनदेखी दाईले पनि रागीलाई माया गर्न थालेँ । यसर्थ के साँच्चै मान्छे जनावर भन्दा स्वार्थी प्राणी हो ? हो । कुनै शङ्का छैन ।

 

पाँच

जति नै कुरा गरेपनि मलाई, खरायो र कछुवाको दौडको कथामा खरायो नै मन पथ्र्यो । किनकी दौडमा भाग लिइसकेपछी गन्तव्य नपुग्दै विश्राम लिने/बीच बाटोमै सुत्ने भन्ने हुँदैन । मलाई वास्तवमा यो कथा किंवदन्ती लाग्थ्यो । र अर्को कुरा दौड प्रतियोगिता समकक्षी बीचमा मात्रै हुन्छ । कहिल्यै पनि हात्ती र कमिला बीच, परेवा र मुसा बीच, चिल र कुखुरा बीच, खरायो र कछुवाबिच हँुदैन । यो खेलको वैज्ञानिक नियम हैन ।

म औपचारिक रुपमा स्कुल एस.एल.सी.सम्म मात्रै धाएँ । त्यसलगत्तै व्यवसाय तिर लागेँ । किनकी मलाई खरायोको रफ्तार मन पथ्र्याे । म सपनाको बाटो हिडेँ । मेरो संघर्षको अध्याय सुरु भयो । मैले घर छोडेँ । गाउँ छोडेँ । के–के– छोडेँ— के–के छोडेँ ! र, नछुटाएरै रागीको पनि साथ छोडेँ ।

म घरमा चार/ छ/आठ/दश महिनाको फरकमा आउन थालेँ । रागी खुसीले विभोर हुन्थ्यो । उफ्रिएर अगाडीका खुट्टा मेरो छातीमा पुर्‍याउँथ्यो । उसले यस्तो व्यवहार गथ्र्याे मानौं, ऊ सेकेन्ड–सेकेन्ड गनेर मेरो व्यग्र प्रतिक्षामा छ । मेरो आगमनमा सबैभन्दा बढी खुसी ऊ नै हुन्छ । यद्यपि, घरको सबैभन्दा सानो सदस्य म । अनि अर्को ऊ । हामीले सँगै बाँचेर, एउटै कसौडीको खाना खाएर खुब याद साटेका छौं । माया बाँडेका छौँ ।

बाटोमा कसैले उसलाई कुकुर भनेर ढुङ्गाले हान्थ्यो । म रिसले गएर उसको नाकमै मुड्की पुर्‍याउथेँ । ऊ खुसीले उफ्रन्थ्यो । त्यहाँ ठूलो वितण्डा मच्चिन्थ्यो । हामी हावाको गतिमा घरतिर भाग्थ्यौँ । उसले र मैले कयौं पटक स्याललाई समातेका छौं । वन खरायोको पछिपछि दौडेका छौँ । उसले त एकपटक, कुखुराको चल्ला टिप्न आएको चिललाई पनि झम्टेको छ । पखेटा नै च्यातिदिएको छ । मैले उसको यो विजय टोलभरी सुनाउँदै हिँडे । ऊ मेरो पछि–पछि मख्ख पर्दै हिँड्यो ।

क्रमशः म घर आउने समय लम्बिँदै जान थाल्यो । रागी रिसाएको हुन्थ्यो । हल्का झम्टिन्थ्यो । मुख आँ..गरेर मेरो खुट्टा गाँस हाल्थ्यो । म ‘आमा..’ भन्दै कराउँथेँ । “नडरा । धेरै पछि देखेको मान्छेलाई यस्ले यस्तै गर्छ ।”आमा भन्थिन् ।

संघर्षको क्रममाः म बाँके, दाङ, रुपन्देही, रोल्पा,सल्यान र रुकुम लगायतका जिल्लाहरूमा बसेर काम गरेँ । अनुभव सङ्गालेँ । यी आसपासका ठाउँहरू भएको कारण घर जान आउन सजिलै हुन्थ्यो । तर लगत्तैको केही समयपछि पूर्वाञ्चलमा बसाइ गर्न थालेपछि वर्षमा एकपटक मात्रै पनि मुस्किलले घर आउन पाइने भयो ।

समय ह्वात्तै बितेर गयो । यसबीचमा घर आउने धेरै प्रयास गरियो, काम र व्यवहारको चर्को चटारोले समयनै पाइएन । अन्ततः सबैकुरालाई थाँतीराखेर समय दसैँमा मात्रै मिल्यो । साल, नेपाली पात्रोनुसार २०७५ ।

यो पाली दशमी अलि पछाडी नै थियो । तर पनि दाङमा सवारी कर र यसअघि रुकुममा सञ्चालित पसलको आयकर असोज भित्रै पेश गर्नुपर्ने भएका कारण चौबिस गते नै हिँडियो । हतार–हतार पच्चिस गते दिउँसो दाङ पुगियो । तर दिन ढल्किसकेकाले काम केही भएन । अर्को दिन पनि बस्नुपर्ने भयो । छब्बिस गते दिनभरी बल्लतल्ल काम भ्याइयो तर घर आउन भ्याइएन । हतारमा गएर के नै गर्नु छ र ! बिस्तारै–बिस्तारै सत्ताइस गते साँझ घर पुगियो— सल्यान ।

झन्डै दुईवर्ष पछि घर आएको, सबैसँग सौहार्दपूर्ण सुखद् भेटघाट भयो । फलफुल र सप्तरीको चर्चित पेडा सबैलाई चखाइयो । खुसी साटियो । मैले दश वर्ष अघि रोप्न बाध्य भएको सुन्तला, लटरम्मै आएको थियो । दाना मनग्ये ठुला थिए । असोजमै गुलिया नभइसकेपनि मुख बिगार्दै दुइचार दाना भ्याएँ । वरपर हेरेँ । जताततै कायापलट । यद्यपि, समय कहिल्यै थाकेन । सुस्केरा हाल्दै चौतारोमा कहिल्यै बिसाएन । निरन्तर आफ्नै उही गतिमा चलिरह्यो ।

तर सबैसँग सुखद भेटघाट भएपनि मैले केही अपुग महसुस गरेँ । मनमा केही शङ्का लाग्यो ।साँझ खाना बसियो, त्यति रुचेन । उठेँ, भो रागीले नै खान्छ । मेरो जुठो चै खान्थ्यो । तर रागीलाई कतै देखिन । अघि पनि लुटपुट गर्न आएन । हैन कहाँ गयो !

बालाई सोधेँ– “बा, रागी कहाँ छ ? देखेकै छैन त ।”
“लौ, मर्‍यो त ।” बाले अध्यारो मुख लगाए ।
“कहिले ?” म झस्किएँ ।
“हिजो ।” बाले सबै वृत्तान्त सुनाए–“अस्ति तिन दिनदेखी झोक्राएको थियो । केही खाँदैनथ्यो । कहिले घरको वल्लो पट्टि बस्थ्यो, कहिले पल्लो पट्टि । अस्पट्टेको अस्पट्टेइ थ्यो । मैले जानेको जति गरिदिएँ, भएन । हिजो बिहान करेसामा मरेको फेला पर्‍यो ।”

“बिरामी भएको थाहा पाएर पनि किन उपचार नगरेको त?” मैँले सोधेँ । सबैले मलाई मुख बाएर आँ गरेर हेरिरहे । कुकुरलाई पनि उपचार ? सबैको अनुहारमा हसिँयाजत्रो प्रश्नवाचक चिन्ह झल्किन्थ्यो । मैले जवाफ दिए–“उतातिर प्रशस्तै त्यस्ता संस्थाहरु छन, जसले बिरामी कुकुरलाई खोजी–खोजी उपचार गर्छन । हामी चै किन गर्न नहुनेँ ?”
सबैजना वाल्ल परे । अब बोलेर पनि फिर्ता आउने छैन । म अरु केही बोलिन । फेरि आफूले न कुनै कुकुरलाई कहिल्यै उपचार गरेको भए पो ! खाली आदर्श ! लागु र परिवर्तन त आफँैबाट सुरु गर्नुपर्छ । कत्ति न जान्ने भएर म अर्कालाई सिकाउँदै हिड्ने रहेछु, झसङ्ग भएँ ।

–––

म उभिइरहेँ ।
बा भन्दै गए–“दश वर्ष हामीसँगै बस्यो । पालेको जनावर हो खुब माया लाग्यो । कतिबेला मरेको हो कुन्नि ! कठ्याङ्ग्रीएको थियो । म बुढोले त्यत्रो ज्यान भएको कुकुरलाई कहाँ खाडल खनेर गाड्न सक्नु ! बल्लतल्ल बोरामा हालेर, नयाँपोख्राको सल्लेरी कटाएँ । तल खोलातिर लिएँ । साने–पोखरीको सल्लेरी वन बीच ठूलो चिरो रहेछ । त्यही बसालेँ । माथिबाट अरु बोरीहरूले तोरेँ । चारैतिरै ढुङ्गा बसालेँ ।
‘तेरो लागी अरु म केही गर्न सक्दिन । न सरापेस् । म गएँ ।’ यत्ति भनेर हिडेँ, घरसम्म पुग्दा पाइला गह्रुंगा भएका थिए । बाले आफ्नो कुरा सिध्याए । म उभिएको उभिएइ भएँ – लाग्यो, म समयसँगै खुब निष्ठूरी हुँदै गएँ । म फोनमा घर गाँउ सबैको खबर सोध्थेँ । तर कहिल्यै रागीको खबर सोधिन । के यो सोध्नु जायज हो ? हो । उसको बारेमा सोध्दैमा मेरो के जान्थ्यो र ? मैले किन कहिल्यै उसलाई सम्झिन ? अरु भन्दा आफूलाई फरक छु भन्छु, भुत्रा ! आखिर म पनि आम मान्छे झै रहेछु । उनीहरूकै चस्माबाट दुनियाँलाई हेर्दोरहेछु । क्रान्तिकारी/विद्रोही होइन सामाजिक परिबन्द देखि डराउने कायर रहेछु । छिः !

के ऊ मसँग रिसाएर मरेको हो ? म उसलाई छोडेर टाढा गएँ । ऊ मलाई छोडेर झन टाढा गइसक्यो । अब कहिल्यै फर्किने छैन । हो, कहिल्यै फर्कने छैन । म उसलाई यो संसारको कुनाकुनामा÷जताततै जति–जति किन खोजूँ, अँह अब ऊ भेट्टिने छैन । समयको छालले हामीलाई धेरै भन्दा धेरै टाढा फालिसक्यो । अब हामी ति बाटोमा कहिल्यै सँगै हिँड्ने छैनौं । त्यो माटोमा कहिल्यै सँगै खेल्ने छैनौं । हो, अस्ति हामी सँगै हिँडेको बाटोमा, हिजो ऊ एक्लै हिड्यो । आज म एक्लै हिँड्दै छु । हाय नियति ! म हार्छु तँ देखि । यस्तो नजानेको खेलमा बारबार मलाई नफसा न यार ! मलाई यो मृत्यु र वियोगको अकाट्य नियम सम्झिँदा नै उकुसमुकुस भएर आउँछ । सास, आएर घाँटीमा अड्किन्छ ।

       छ

मलाई थक्थक् लाग्यो । दाङमा मेरो काम नभएको भए, म सुइसुइ अस्ति नै घर आउँथे । रागीसँग भेट हुन्थ्यो । म उसको उपचार गर्थेँ । सायद बाँच्थ्यो कि ! साँझको नौ बजेको थियो । म माथि कोठामा गएर खाटमा पल्टिएँ । पल्टिएँ मात्रै निदाउँन सकिन । उसको मृत्युको खबर मेरो हृदयको सतहभरी बग्रेल्ती सल्बलाउँन थाल्यो । र, मैले यत्तिमै बिर्सन खोजेर फेरि केही गल्ति गरिरहे जस्तो लाग्यो ।

सोचेँ, यदि म मरेको भए, के मेरो लाससम्म हेर्न ऊ जाँदैनथ्यो होला ! जान्थ्यो । मलाई समाधि दिन नसकेपनि, मेरो चिहान खन्न नसकेपनि, मेरो लासको सुरक्षा गर्ने थियो । स्याल÷कवौंलाई लुछ्न दिने थिएन ।
मलाई झन शरीरमा खौसो खन्याइदिएजस्तै भयो । उठेँ । शरीरमा ज्याकेट हुलेँ । आँगनमा आएँ । घडी हेरेँ साँझको नौं बजिसकेको थियो । भित्र सबै गफ्फिरहेका थिएँ । मोबाइल बालेर दौडदैँ माथि सडकमा उक्लिएँ । लक्ष्मीले देखिहाली ।
“कहाँ जाने ?” ऊ झर्की ।
“कहीँ हैन, यही बडाबाका घरसम्म ।” मैले ढाटेँ ।
र दौडिएँ – नयाँपोख्रा हुँदै, तल सानेपोखरी सल्लेरी वन बीचको खोलाको चिरोतिर, जहाँ बाका अनुसार उसको लास राखिएको थियो ।

–––

वनमा झन चर्को अध्यारो थियो, झ्याउँकिरीको एकलापले झन वातावरण भयभीत बनाइरहेको थियोे । मोबाइलको फ्ल्यास लाइटले दह्रो साथ दियो । म चिरोमा पुगेँ । तर त्यहाँ बोरी र चारओटा ढुङ्गाहरु मात्रै थिए, लास थिएन । यत्ति छिटो केले खायो ? अन्यौलमा परेँ ।

मसँग हात छन् । र सक्षम पाखुरा पनि छन् । मैले साथमा खन्ती पनि लिएको थिएँ । म त उसलाई समाधि दिन आएको । घरबाट आउँदा बाटोभरी सोचेको थिएँ— जहाँ हामी स्कुलबाट आउँदा एक बिसौनी बिसाउँथ्यौ– नयाँपोख्राको डाँडोमा । त्यही ठूलो खाडल खनेर त्यसलाई गाड्छु । भोलि नर्सरीबाट पिपलको बिरुवा ल्याएर त्यसको चिहानमा रोपिदिन्छु । तारजालीले बेरिदिन्छु । केही वर्षभित्र चौतारो बनाउँछु ।

म जहिले आउँछु, त्यहाँ पिपलको बिरुवा हैन रागीलाई देख्ने छु । म नमरुन्जेल रागी मर्ने छैन । किनकी पिपलको बिरुवा म भन्दा धेरै बाँच्नेछ । तर त्यसो हुन पाएन । उसको लास भेट्टिएन । के मेरो यो आस पनि निभेको हो ? भुइँमा थपक्क बसेँ । मोबाइलको लाइट बन्द गरेर मोबाइल खल्तिमा घुसाएँ । जताततै निस्पट्ट कालो छायो । आँखा अघि जे जति सब एकनास देखियो । आफूलाई कतै देखिन, म पनि अँध्यारोमा अँध्यारोसँगै बिलाएँ ।

मेरो यो बिलाउने बेला हैन । हार्ने बेला हैन । म उठ्नु पर्छ । जाग्नुपर्छ । पक्कै केही अवशेष त भेट्टिएला ! उसलाई खोज्नुपर्छ । मोबाइलको फ्ल्यास बालेर उसलाई खोज्न थाले । निकैबेर खोजे, फेला पार्न सकिन । अन्ततः अघि एउटा गन्ध, नाकमा आएर ठोक्किरहेको थियो । जुक्ति निकालेर त्यही गन्धलाई पछ्याएँ, पेटमा खाएको कुरा नाच्न थाल्यो ।

लास त्यसको दुईस्टेप तलको चिरोमा भेट्टियो । मैले ह्वाल्ल ओक्काएँ । लास असी प्रतिशत मात्रै थियो । गन्ध आइरहेको थियो । हतार–हतार खल्तिबाट रुमाल झिकेर नाक,मुख थुनेँ । रुमालमा जग्लेर सेन्टको सुगन्ध रहेछ, एकछिन त स्वर्गै पु¥यायो । अब के गर्ने ?फेरि अन्यौल !

सात

समय रातिको साँढे दश भैसकेको थियो । म सरासर घर आए । बाइक स्टार्ट गरेँ ।
“यति राती कहाँ जाने ?” लक्ष्मी चकित भई ।
“एक्कैछिन यही माथि डाँडासम्म जानुपर्ने भयो । पिलिज…!” घरबाट फुत्किउ न मात्रै, पछि परेको व्यहोरौंला । मैले नखरा पसार्दै उसलाई ढाँटे । सत्यकुरा भन्यो भने त ऊ मलाई पागलै भन्छे ।
“एकछिन पनि एकठाउँमा नबस्ने ! कस्तो सुलसुले परेको हो !” ऊ गन्गनाउँदै भित्र पसी ।
म उसको कुरालाई वास्ता नगरी हुइकिएँ— बजारतिर ।

क्लिनिक बन्द थियो । बोर्डमा नम्बर रहेछ, फोन गरेँ ।
“किन, के थियो होला ?” उताबाट महिला स्वर सुनियो ।
“काम थियो । आउनु न ।”
“हैन के हुन्छ ?”
“आउनु न अनि भन्छु ।”
“मेरो मतलब, वहाँ हुनुहुन्न । म त्यति थाहा पाउँदिन । यति राती आउनु भाछ, कडा भए टाढै लानुस भनेको । ढिला गर्नुहुन्न ।” उताबाट सुचना र सुझाव एकमुष्ठ आयो ।
अब मैले आफ्नो समस्या नभनी क्लिनिक नखुल्ने जस्तो देखियो । मैले भनेँ–“अघिदेखी भमिट आएर हैरान भा‘छ । केही दबाई किन्नु थ्यो । सामान्य नै हो ।”
उनी आएर क्लिनिक खोलिन् । मैले पहिले एउटा ड्रोम्पल ट्याब्लेट खाए । अरु एकदुई वटा भविष्यको लागि खल्तीमा घुसाएँ । अनि ग्लुप, प्लास्टिक, माक्स, लासमा छर्कने सेन्ट किनेँ । उनले मलाई मजाले हेरिन् । मैले आफै स्पष्टिकरण दिएँ– “हेर्नु न, हाम्रो कुकुर मरेर गन्ध आइरा‘छ । त्यसको लास ठेकान लाउँनुपर्ने भो !”

म लामाडाँडा छिर्ने बाटोबाट अल्लि पर गएर, माथिल्लो जिउँला जाने सडक समाए । बाइक सिधै सानेपोखरीमा लिएर रोकेँ, जहाँमैले पिपलबोटको कल्पना गरेको छु । अनि सबै सामान लिएर लास भएतिर अगाडि बढे ।

आठ

म हिँडिरहँदा कताकता पृष्ठभूमीबाट मेरो कानमा आकाश गड्कीएजस्तो ‘गुडुडु’को आवाज आइरहेको थियो । आकाश हेर्छु, छर्लङ्गै खुलेको छ । जून नभएपनि अलिअलि ताराहरू छन् । बादल कहिँ छैन । घडी हेरेँ रातको साँढे एघार बजिसकेको थियो । घरबाट मोबाइलमा अनगिन्ती मिस्कल्ड्हरू पठाइसकेका थिए ।

म अगाडी बढ्दै गएँ । त्यही आवाज झन–झन ठुलो, स्पष्ट हुँदै गयो । कता–कता मनमा चिसो पस्न थाल्यो । तन्नेरी मान्छे यसरी डराएर हुन्छ ? हुँदैन । अर्को मनले ढाडस दियो । पाइला अगाडी बढाइरहेँ । प्रथमपल्ट लास राखेको चिरो आयो । चारओटा ढुङ्गा र बोरा उस्तै थिए, तिनलाई कसैले डिस्टर्ब् पुर्‍याएको थिएन ।

‘गुडुडु’को स्वर झन चर्को सुनिदै थियो । मैले वास्ता गर्न छोडेँ । किनकी लाग्यो, टाढा कतै नेपथ्यमा गाडीको आवाज होला । त्यहाँबाट म सरासर दोस्रो चिरोमा हाम फाले । र तल लास भएको तेस्रोमा हेरे । मेरो त होस हवास् नै उड्यो । झन्डै बेहोस् भइन । त्यहाँ त लास लगभग सिध्धिसकेको थियो । अलि–अलि हाड मात्रै बाँकी थिए । र, अलिकति बचेको छाला पनि मज्जाले लुछिरहेका थिए— दुईओटा बाघले ।