May 27, 2024, Monday
२०८१ जेष्ठ १४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

त्यस दिन देखि मलाई गाउँ मन पर्न छाड्यो !

२०८० असार ३०

12.4K

विवेक तमु,

जन्म र मृत्यु हाम्रो नियन्त्रणमा हुँदैन तर जन्म र मृत्युको बीचमा पाउने अमूल्य जीवन कसरी जिउने भन्ने कुरा चाहिँ हाम्रो नियन्त्रणमा हुने गर्दछ । लमजुङको त्यो गाउँ जसलाई एकात्मक राज्य सत्ताले कर उठाउने ठाउँ बाहेक केही देखेन, त्यस ठाउँमा जन्मनु पक्कै मेरो नियन्त्रणमा थिएन । पोखरा जस्तो सहरबाट जम्मा ५० किलोमिटर पनि छैन मेरो गाउँ, तर पूर्वाधार विकास र मानव विकासमा भने पोखराबाट १०० वर्ष भन्दा टाढा थियो र अझै पनि केही हदमा रहेको छ । पूर्ण रूपमा अधिकारविहीन सङ्घीयता नै भएपनि कम्तीमा सडक सञ्जाल जोडिएर ३/४ वर्ष अघि सवारी चालकलाई भव्य सम्मान गरेको हिजै जस्तो लाग्छ । जलविद्युतको बिजुली आएर सोलार र पानसहरू विस्थापित भएको पनि बल्ल ३ वर्ष जति मात्र पुगेको छ । तर विडम्बना आज म आफैँ गाउँबाट विस्थापित जस्तै भएको छु ।

विस्थापित यस अर्थमा कि मेरा पुर्खाहरूलाई घरबाट थुती थुती सात समुन्द्र पारी लाहुरे पठाउन सक्ने राज्य सत्ताले कहिल्यै मेरो गाउँमा शिक्षा, स्वास्थ्य र रोजगार जस्ता अत्यावश्यक कुराहरूको उचित व्यवस्था गर्न सकेन वा चाहेन । त्यसै कारण अहिले म कहिले पोखरा, कहिले काठमाडौँ त कहिले धुलिखेलमा माथि उल्लेखित आवश्यकताहरू पूर्ति गर्न सङ्घर्ष गर्दै निरन्तर यात्रा गरिरहेको छु । र म निर्धक्कका साथ भन्न सक्छु, म त केबल प्रतिनिधि पात्र मात्र हुँ । किनकि अहिले त श्रमका लागि सायदै सिङ्गो देशमा नै कमै परिवारका सदस्य होलान्, जो आफ्ना र परिवारका आवश्यकताहरू पूर्ति गर्न यही नेपालमा बस्ने गर्दछन् । आफूले आफूलाई विस्थापित घोषित गरे पनि वर्षमा न्यूनतम एकटकसम्म आफ्नो गाउँ जाने गर्छु । तमु जातिहरूको मौलिकता र संस्कृति झल्काउने मेरो गाउँको प्राकृतिक र भौगोलिक सुन्दरताको जति व्याख्या गरे पनि सायद कम नै होला । यी सबै संस्कृति र गाउँको बारेमा हेर्न अनि बुझ्न युट्युबमा Bhoje Gaun, Lamjung| Village Documentry 2017  खोजेर मज्जाले हेर्न तपाईँहरू सम्पूर्णमा अनुरोध गर्न चाहन्छु । गुलाफका फूलहरू बीच पनि काँडाहरू भए जस्तै मेरो गाउँ लगायत तमाम गाउँहरूमा रहेका काँडाहरूको चर्चा गर्ने कोसिस म यो लेखमा गर्ने छु । जुन काँडाका कारण मलाई प्राकृतिक र भौगोलिक सुन्दरताको जति व्याख्या गरे पनि नपुग्ने गाउँ मन पर्न नै छाड्यो । निःसन्देह गुलाफका काँडाहरू प्राकृतिक हुन् तर मैले व्याख्या गर्न खोजेको काँडा भने नितान्त कृत्रिम र मानव निर्मित हुन्, जसलाई फालेर गाउँहरू मात्रै हैन सिङ्गो समाजलाई नै अझै सुन्दर बनाउन सकिन्छ ।

त्यो काँडाको व्याख्या म मेरो अनुभवबाट गर्न चाहन्छु । कुरा एक वर्ष पहिलेको दसैँको हो । म लगायत मेरा साथीहरू दसैँमा पिङ थाप्ने तरखरमा थियौँ । श्रम र उत्पादनबाट विमुख गराएर किताब मात्र घोकाइ शिक्षितको प्रमाणपत्र दिने शिक्षा प्रणालीले अल्छी बनाएको म जस्ता प्रतिनिधि पात्रहरूको भने आँखाले हेर्ने र मुखले टिप्पणी दिने बाहेक पिङ हाल्नेमा केही उल्लेखनीय योगदान थिएन । त्यत्तिकैमा गाउँकै बुवाको उमेर भन्दा ठुलो एक जना व्यक्ति मेरो नजिकै आएर केही भन्ने प्रयत्न गर्नु भयो । त्यसपछि म नजिकै गएर उहाँसँग संवाद गरे । उहाँको जिज्ञासा नेपाल सरकारले प्रदान गर्ने वृद्ध भत्ता ढिला सुस्ती किन भयो भन्ने थियो र मैले त्यसको उत्तर दिने कोसिस गरे । तर उहाँलाई मेरो उत्तर चित्त बुझेन । किनकि गाउँमा बस्ने उहाँलाई शेर बहादुर,प्रचण्ड र केपी ओलीको जुँगाको लडाइँमा कुनै चासो थिएन । उहाँको आक्रोश थियो, “झन्डा सबैको बोकियो तर अझै न्याय पाइएन । तँ पढेको भन्या हैन रु ल अब हामीलाई न्याय दिलाएर देखाउनु ।” यो अभिव्यक्ति आज सम्म पनि मेरो मानसपटलमा घुमिरहन्छ र हरेक अन्याय विरुद्ध नलड्ने हो भने पढेको औचित्य रहने छैन भन्ने सम्झाउने गर्दछ ।

लमजुङको त्यो बाक्लो तमु बस्ती भएको ठाउँमा उहाँले भोगेको उत्पीडनले त्यति बेलाको राज्य सत्ताले जात व्यवस्था थाहा नै नभएको तमु जातिलाई पनि कसरी उचनीचमय जात व्यवस्था मान्न प्रशिक्षित गरेको रहेछ भन्ने विषयमा थप स्पष्ट भए ।

त्यसपछि मैले तपाईँसँग बसेर मज्जाले कुरा गर्छु नि दाइ भने, र हामी बसेर नै मज्जाले भलाकुसारी गर्न तर्फ लाग्यौँ । त्यसपछि उहाँले भन्नु भयो, “मनमा पीडा नै पीडा छ, कता पोखु म रु तँलाई देखे, सुन्छस् भने आज सबै सुनाउँछु” । त्यसपछि उहाँले आफ्नो अनुभव र जीवन भोगाई प्रश्नबाट सुरु गर्नु भयो । “भाइ, अझै पनि हामी अन्धकारमा बाँचिरहेका छौँ, ल भन हाम्रो के दोष र हामी कसरी अछुत अनि सानो मान्छे र ?” उहाँले थप्नु भयो “भाइ,म सानै थिएँ रे जब मेरो बुवा बित्नु भयो, त्यसपछि मलाई मामा गाउँ (अहिले बस्ने) तिर ल्याउनु भएछ । तँ कहिले पनि बुझ्न सक्दैनस्, मलाई कस्तो महसुस हुन्थ्यो जब यो गाउँमा सानै छँदा मलाई माया र सहानुभूतिको सट्टा मात्र कुकुर, भतुवा, र अछुत जस्ता शब्दले सम्बोधन गरिन्थ्यो । मनमनै म त साँच्चिकै कुकुर रहेछु वा मान्छे नरहेछु भन्ने पिरले साह्रै पिरोल्थ्यो । म निर्दोष बालकलाई यो जात भन्ने भ्रममा जिन्दगी कटाउनु पर्ने समाजमा जन्मेछु भन्ने के थाहा रु म त सबै साथीहरूलाई मानव सम्झेसँगै खेल्थे । तर मसँग नखेल भन्ने जमात यो गाउँमा बाक्लो थियो । त्यसैले गर्दा समयसँगै यो सामाजिक व्यवस्थाका कारण मेरा साथीहरूसँग मेरो दुरी पनि बढ्दै गयो । मेरो बाल मानसिकताले सोच्यो र मलाई लाग्न थाल्यो यो गाउँका मान्छेहरू निर्दयी छन्, म यहाँ बस्दिन किन कि यहाँ मानिसहरू मलाई मानवको रूपमा हेर्दैनन् । त्यसपछि मैले आत्मसम्मानका लागि मेरो आफन्तको गाउँ जाने निधो गरे, जुन यो गाउँबाट धेरै टाढा छ । म फरक परिवेश चाहन्थे, धेरै ठुलो आकाङ्क्षा थिएन, बस् आफू पनि मानव हुँ भन्ने महसुस गर्न चाहन्थे । तर विडम्बना, उक्त गाउँमा पनि मलाई हुने सम्बोधनमा कुनै फरक आएन । उही भतुवा, कुकुर, अछुत, खाते जस्ता तुच्छ शब्द जो मेरा कानका लागि नौलो थिएनन्, त्यही सुने । थप झन् मसँगको भेटले कसैको यात्रा बिग्रने, मसँगको स्पर्शले त मान्छेदेखि सबै कुरा अपवित्र हुने र त्यसलाई आगो र सुनले पवित्र पार्नु पर्ने भन्ने थप कुरा थाहा पाए । अनि मलाई मनमा कता कता लाग्यो कि म यो गाउँको स्थानीय नभएर मान्छेहरूले मलाई यस्तो भनेका होलान् । र मैले आफू जन्मेको गाउँ जाने निधो गरे, तर मेरो भ्रम दुई दिन पनि टिकेन । भाइ, म अछुतबाट मान्छे हुन नै सकिन । अहिलेसम्म मेरो नाममा घर घरेडी छैन, भूमिमा पहुँच नभएपछि जीवनमा कसरी प्रगति गर्ने रु अरूका खेतमा काम गरेर छोराछोरी पढाउनेसम्म कोसिस गरे तर सोचे जस्तो गर्न सकिन । तँ पढेको मान्छे हैनस् रु ल भन हाम्रो के दोष रु अब हामीलाई यो अन्धकारबाट निकाल्ने कसले रु” चारै तिर उज्यालो नेपाल र उज्यालो प्रदेश भन्दै टेलिभिजनमा ठुला ठुला आवाजहरू गुन्जिरहेको बेला उहाँले मेरो आँखामा हेरेर भन्नु भयो । “भाइ, हामी अझै अन्धकारमा बाँचिरहेका छौँ । यो अन्धकारबाट हामी मुक्त कहिले हुने हो ?” भन्ने दाइका प्रश्नहरू अझै पनि दिमागमा घुमिरहेका छन् । उहाँ प्रति भएका अमानवीय व्यवहार प्रति दुःख व्यक्त गर्नु र यस्ता अवैज्ञानिक जड व्यवस्थासँग लड्ने सङ्कल्प गर्ने बाहेक मसँग कुनै विकल्प थिएन ।

लमजुङको त्यो बाक्लो तमु बस्ती भएको ठाउँमा उहाँले भोगेको उत्पीडनले त्यति बेलाको राज्य सत्ताले जात व्यवस्था थाहा नै नभएको तमु जातिलाई पनि कसरी उचनीचमय जात व्यवस्था मान्न प्रशिक्षित गरेको रहेछ भन्ने विषयमा थप स्पष्ट भए । उहाँ त केबल गाउँदेखि सहर सम्मका सबै दलनमा पारिएकाहरूको एउटा प्रतिनिधि पात्र मात्र हुनुहुन्थ्यो भन्नेमा कुनै शङ्का नै रहेन । उहाँको कुरा अनुसार यी घटनाहरू करिब वि।स। २०२६/२७ तिरको रहेछ । अब धेरैलाई भ्रम पर्न सक्छ कि यो जात व्यवस्था हटिसक्यो तर यथार्थ त्यो रहेनछ । जुन घटनाक्रमहरू त्यही दिनमा भयो त्यसले मलाई झन् दुःखित बनायो । अहिलेसम्म भूमिमा स्वामित्व नहुनु भूमिहीनताको समस्याले दलितहरूको आर्थिक जीवनमा पारेको नकारात्मक असरले गर्दा नै अधिकांश मेरै दलित साथीहरू गाउँबाट सानैमा भारत पलायन भएको बिर्सिन सकेको छैन र अझै पनि अधिकांश त्यही नै गर्ने गर्छन् । साथै, यो व्यवस्थालाई छल्दै आशाका नयाँ किरणहरू पनि पैदा भएका छन्, जसलाई समाजले निमोठ्न भन्दा हुर्काउनु पर्ने आवश्यकता देख्दछु ।

दलितले अन्तर्जातीय विवाह गर्ने प्रयासमा नै रुकुम नरसंहार भएको विश्व जगतले बिर्सिएको छैन, अस्ति मात्र जुम्लामा घर जलाएको घटनाले अब अन्तिम लडाइँ लड्नुको विकल्प नरहेको सन्देश दिएको छ ।

गाउँको बाटोको बीचमा भएको हाम्रो कुराकानी लगभग २ घण्टा बढी नै भएको थियो । उक्त समयको अन्तरालमा एक जना तमु जातिका अग्रज व्यक्ति आएर मलाई भन्नु भयो “माइला, यत्रो पढेको मान्छेले पनि यो कामीको कुरा नि के सुनेको रु” यस प्रश्नले मेरो मस्तिष्क एक छिनलाई खलबलायो तर दाइ भने मुसुक्क मुस्कानले ख्याल ठट्टामा उहाँको कुरा टार्नु भयो । फेरि हामी आफ्नै कुराकानी तिर लाग्यौँ । तर कुरा राम्ररी हुन पाएकै थिएन अगाडि दुई जना बाबुनानीहरुलाई गाउँका दुई जना दाइहरूले कतै पुर्‍याउन लाग्दै थिए । त्यत्तिकैमा माथिबाट एक जना व्यक्ति आएर हाँस्दै दाइलाई भन्नु भयो “ए कामी, तँ यहाँ बस्छस् रु अरूको साइत बिगार्न रु देखिनस्, त्यहाँ मान्छे कतै हिँड्न लाग्या रु” उक्त अभिव्यक्ति उहाँले बाल्यकालमा सुन्ने गरेको अभिव्यक्ति भन्दा कुनै फरक थिएन, त्यो पनि लगभग आधा शताब्दी पछि । यी घटनाहरूले अझै मलाई सोच्न बाध्य बनायो कि किन उहाँले सुरुमा हामी अन्धकारमा बाँचिरहेका छौँ भनेर । दुःखद, आजसम्म पनि उहाँ त केबल मान्छे बन्ने लडाइँमा नै हुनुहुँदो रहेछ ।

यसरी टिप्पणी दिने व्यक्ति अरू कोही नभई त्यही व्यक्ति थिए, जसले मलाई ३ दिन खुबै प्रगतिशीलता प्रस्तुत गर्दै, “बाबु यो गाउँमा अझै राणा शासन चलिरहेको छ ।” भनेर अभिव्यक्ति दिनु भएको थियो । हो, गाउँहरूमा अझै राणा शासन नै चलिरहेको छ । गाउँ त के सहरहरूमा पनि दलित भएकै कारण कोठा नपाउने घटनाहरू बाहिर आउँदा अपवादका प्रगतिशील हिस्साहरू बाहेक अरूले नजरअन्दाज गरिरहेकै छन् । आखिर माथिका घटनाहरूले उही जङ्ग बहादुरको वि।स। १९१० को मुलुकी ऐन कै निर्देशनमा समाज हिँडिरहेको भान गराइदियो । यति भन्दैमा तुलनात्मक रूपमा पहिले भन्दा अहिले जात व्यवस्था हल्लिन लागेको छैन भन्ने होइन । मेरो आशय यो हो कि जात व्यवस्था जस्तो अवैज्ञानिक जडसुत्र अझै उन्मूलन भएको छैन, यसलाई उन्मूलन गर्न हामी सबै लाग्नुको विकल्प छैन भन्नु हो ।

तत्कालिन राज्यसत्ताले मासिन्या मतवाली जात (मुलुकी ऐन, वि.स. १९१०) भनेर हजारौँ कुलमान बन्न सक्ने क्षमताहरूको हत्या गरेको रहेछ । सायद, आजका महावीर पुन पनि त्यति बेला कुलमान सँगै जन्मेका भए बन्दुक बोकेर विश्वयुद्ध लडिरहेका हुने थिए होलान् ।

छुवाछुतलाई मात्र यो व्यवस्था मान्ने हो भने केही हदसम्म सुधार जस्तो पनि देखिन्छ तर त्यो कदापि सत्य हैन । यसले आफ्नो शक्तिशाली चरित्र विवाहमा देखाउने रहेछ । दलितले अन्तर्जातीय विवाह गर्ने प्रयासमा नै रुकुम नरसंहार भएको विश्व जगतले बिर्सिएको छैन, अस्ति मात्र जुम्लामा घर जलाएको घटनाले अब अन्तिम लडाइँ लड्नुको विकल्प नरहेको सन्देश दिएको छ । यस्ता घटनाहरूले हाम्रो जात व्यवस्थामा आधारित मानसिकता छताछुल्ल पारिदिएको छ । भूमिहीनताको समस्या म सँग संवाद गर्ने दाइको मात्र समस्या कदापि रहेन छ, अझै पनि देशैभरि दलितहरूको जनसङ्ख्याको ४०% को भूमिहीनताको समस्याले दलितहरूको आर्थिक प्रगति कसरी रोकिएको छ भन्ने तथ्य उजागर पारिदिएको छ । यो कुनै भाग्यवाद र पुनर्जन्मवाद रहेनछ, यो त जात व्यवस्थाले कथित अछुत र शुद्रहरुलाई कानुनी रूपमै निजी सम्पत्ति समेत राख्न नपाउने कानुनको उपज रहेछ । नेपालको मन्त्रीपरिषद्का मन्त्रीहरूका नाम हेरे मात्र दलितहरूको राजनीतिमा पहुँच प्रस्ट हुने रहेछ । यसरी हेर्दा त यो जडसुत्रमा आधारित जात व्यवस्थाले दलितहरूलाई राजनीतिक, आर्थिक, र सांस्कृतिक गरी तीन ओटै क्षेत्रमा पछाडि पारेको तथ्य उजागर हुँदो रहेछ । अहिले पनि गाउँ गाउँका कथाहरू यस्तै छन् । अस्ति स्थानीय तहको चुनावको घटना त मैले बिर्सिन नै सकेको छैन । गाउँकै एक जना आफूलाई बुद्धिजीवी भन्ने कूपमण्डूक व्यक्ति एक बिहानै घरमा आएर पोखेको गुनासोले मलाई अहिलेसम्म पनि रिस उठ्ने गर्दछ । उहाँको कुरा यस्तो थियो “भाइ, त्यो गाउँको पसल छ नि त्यसमा त लुँडो खेल्ने बेला पानी त्यो फलानोले भरेको खान्छ । सहर भए पो, गाउँमै त यस्तो गर्न भएन नि !” मलाई रिस र दया एकै पटक जाग्यो । रिस त्यो सत्तासँग उठ्यो जसले पानी चल्ने र छोइछिटो हाल्न पर्ने भनेर समाजमा कानुनी रूपमै कसैलाई अछुत बनायो, अनि दया त्यो अभिव्यक्ति दिने व्यक्तिसँग जसले त्यही पुरानो सत्ताको स्वादमा आफूलाई खुबै छुत सम्झेर त्यस्तो भने । यसरी अझै पनि गाउँहरूलाई वैधानिक रूपमै जात व्यवस्था नै लागु गर्न मिल्ने थलोको रूपमा सबैले सहज रूपमा लिएको बुझिन्छ ।

‘वर्ण व्यवस्था पनि अरू देशको जस्तै सामान्य श्रम विभाजन नै थियो तर दक्षिण एसिया र नेपालमा भने यो अनुल्लङ्घनीय रहेकाले कालान्तरमा यसले वर्ग निर्माणमा मुख्य भूमिका खेलेको हो (जात वार्ता, आहुति) ।’ यसलाई अझै सरल भाषामा भन्दा नेपाली समाजलाई हजारौँ वर्षसम्म पिँजडाको सुगालाई पिँजडा भित्र मात्र उड्ने अधिकार दिए जस्तै भएको हो । कल्पना गर्नुस् त कुलमान घिसिङ आज भन्दा १०० वर्ष पहिले जन्मिएको भए के हुन्थ्यो रु त्यति बेला त कुलमानले अध्ययन गर्ने कुरा दिवा सपना नै रहेछ । किनकि तत्कालिन राज्यसत्ताले मासिन्या मतवाली जात (मुलुकी ऐन, वि.स. १९१०) भनेर हजारौँ कुलमान बन्न सक्ने क्षमताहरूको हत्या गरेको रहेछ । सायद, आजका महावीर पुन पनि त्यति बेला कुलमान सँगै जन्मेका भए बन्दुक बोकेर विश्वयुद्ध लडिरहेका हुने थिए होलान् । म यो उदाहरणहरू किन दिँदै छु भने कुनै समय यो देशमा अनुल्लङ्घनीय वर्णाश्रम व्यवस्थाले छुट्टाएको श्रम क्षेत्रमा मात्र निश्चित कुल र वंश भएकै कारण आफ्नो जीवन बिताउन पर्ने जड एवं अवैज्ञानिक व्यवस्था रहेछ भन्ने मात्र आशय व्यक्त गर्दै छु । मेरा मनमा प्रश्न उठ्ने गर्छन्, कति कुलमानहरूका सपना त्यति बेलाको राज्य सत्ताले निर्मम हत्या गर्‍यो होलान् रु अहिलेको सङ्घीय गणतन्त्रमा त हजारौँ हन्डर खाएर डाक्टर बन्नु भएका रामजी राम जस्ता कति रामजी रामहरूको पढ्ने अधिकारको हत्या भएका होलान् रु सम्झँदै मन सिरिङ्ग हुन्छ । मलाई गुनासो पोख्ने मेरो दाइका सपनाहरू के थियो होला रु जात व्यवस्थाको रोगले ग्रसित समाजमा नजन्मेर उनी अन्तै कतै जन्मेका भए के हुन्थ्यो होला रु यस्ता प्रश्नले साँच्चै नै गम्भीर बनाउने गर्दछ । अन्त्यमा, मलाई भन्नु यति नै छ कि जुन दिन देखि मैले दलितहरूको आँखाबाट मेरो गाउँलाई हेर्ने अनि बुझ्ने कोसिस गरे, त्यस दिन देखि मलाई गाउँ मन पर्न छाड्यो । यो भनाइको पछि मेरो केही व्यक्तिगत स्वार्थ वा कसैलाई नीच साबित गर्ने कुनै पूर्वाग्रह छैन । बरु गाउँहरूलाई अझै सुन्दर, बस्न लायक, समतामूलक बनाउने र हजारौँ वर्षको दलनको शृङ्खला चलाउने जात व्यवस्थाको कृत्रिम काँडा फालेर मेरो दाइको आँखाबाट पनि हेर्दा गाउँ सुन्दर देखिने बनाउन चाहने विचार मात्र प्रकट गरेको हुँ । किनकि पुरानो संरचना नभत्किए सम्म नयाँ संरचनाको विकास हुँदैन । र, यो नयाँ भन्ने कुरा कुनै कल्पनाले नभई भीषण सङ्गठित सङ्घर्षले मात्र हुने गर्दछ । यदि शरीरमा रगत बग्छ भने र हृदयमा थोरै मानवता भए हाम्रै नियन्त्रणमा हुने यो अमूल्य जीवनमा यस्ता जडसुत्रवादी व्यवस्थासँग नलड्नुको छुट हामी कसैलाई किमार्थ पनि हुने छैन ।