June 18, 2024, Tuesday
२०८१ असार ५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

कविता : रैभार

२०८० असार ३१

1.8K

  • आरबी हिमाली 

मलाई राम्ररी थाहा छ काका
तपाईंलाई पार्टीले सुपारी दिएको दिन
तपाईं आशीर्वाद लिन गाउँ आउनु भएको थियो
तपाईंको अघि पछि लहरै बन्दुक धारीहरूको लर्को थियो
त्यस दिन
हाम्रो पुरै गाउँ उज्यालो भएको थियो
गाउँलेको आँखा भरी वसन्त झुलेको थियो
हाम्रो बाजे धेरै खुसी हुनु भयो
धेरै हाँस्नु भयो
र भन्नू भएको थियो
छोरा….
तैँले आज हाम्रो गाउँको नाउँ राखिस्
यो सुकेको आँखामा रङ्ग भर्ने भइस्
अब त हाम्रो गाउँले पनि तारा देख्ने भयो
अँध्यारोमै थुनियाका हाम्रा अधुरा सपनाहरूले
अब त पक्कै उज्यालोको गीत गाउने भए

पर…..गोरुलाई किलामा बाँध्दै गर्दा
तपाईं आएको खबर सुने पछि
बजै हुत्तिँदै आउनु भएको थियो
र गोबरमा मुछिएका काला हातहरू
तपाईंको शिरमा राखेर भन्नू भएको थियो
छोरा …
जसरी त सानो हुँदा
मैले तलाइ बनाएको खाजा
गाउँ भरिका केटा केटीहरूलाई बाडेर सङ्गै खाने गर्थिस्
जसरी धाराको पानी सुक्दा
सबै साथी भाइ थुपारी मुलको कुलो पन्साउन जान्थिस्
त्यति बेला मलाई लाग्थ्यो
मेरो छोरा एक दिन ठुलो मान्छे हुनेछ
गाउँ घरमा सबै भन्दा ठुलो नाम कमाउने छ
र मलाई चील गाडीमा चढाएर
नेपाल घुमाउन लैजाने छ
छोरा आज त
मैले देखेको सपना भन्दा पनि ठुलो भैछस् है बाबु
नेपालमा सुनको धारा छरे भन्छन्
भिमसेनले नेपाल हेर्न बनाएको ठुलो धरहरा छरे भन्छन्
हाम्रा राजा पनि नेपाल तिरै बस्छन् भन्छन्
अब त सक्छस् होला नि यत्ति गर्न
मलाई लैजा है बाबु नेपाल हेर्न

त्यति बेला काका तपाईंले
सबै गाउँलेहरू बोलाइ
ठुलो पिपलको चौतारामा उभिई भन्नू भाथ्यो
घोषणा गर्नु भाथ्यो
म यही गाउँमा जन्मे
मेरा जिन्दगीका बालापनहरू
यहीँको उकाली ओराली खोला, नाला,मेला पात
र पानी पँधेरो सितै जोडिएका छन्
मैले खाली खुट्टा बोकी पुगेको
स्कुल यहीँको हो मलाई भोक लाग्दा
लटरम्म हाँगा पल्काइ पाक्ने स्याउ यहीँको हो
मलाई दुख्दा मलम लगाउने
ओखतिमुलो यहीँ धर्तीले दिएको हो
यहीँ माटोले दिएको हो
अब यो गाउँ मेरो हो
गाउँ भरिको दुख पखाल्ने जिम्मा मैले लिए
तपाईंहरूको दुखले मैलाइ घोच्ने हो
तपाईंलाई दुख्दा मुटु मेरो रुने हो
आमालाई नेपाल हेर्ने मन छ
अन्ध्याँरामा रोकिएका बाबाका सपनाहरूले उज्यालो हेर्ने मन छ
आँगनका डिलहरूमा बार लगाउनु छ
गाउँको छाना टिनले छाउनु छ
ढुङ्गे धारा माथि सुनको जलप हाल्नु छ
दियालो जल्ने भित्तामा बत्ती टाल्नु छ
चिलअगाडिको चल्ला भएनी ल्याउनु छ
भीमसेनको धरहरा आमालाई बनाइ दिनु छ
एउटा ठुलो स्कुल खोल्नु छ
चिरा परेका हातहरू
र बाङ्गिएका हाड छाला जोर्ने अस्पताल बनाउनु छ
यहीँ मुनि एउटा सुन्दर नेपाल बनाउनु छ

खै त काका
आज तपाईंले आँसु पोखी
रङ्गाएका घोषणाका शब्द पनि पुराना भैसके
तपाईंको हातले उघार्ने अन्ध्याँरामै रोकिएका बाजेका सपनाहरू पनि
परार साल
बाजेको सास सितै डाँडापरी हराइ गए
बजैको नेपाल घुम्ने सपना
पोहोरको कालो खटिरो सितै अस्ताइ गयो
तपाईं नेपाल ल्याउन हिनेको पनि
आज त ठ्याक्कै दश वर्ष भइसक्यो है काका
अस्ति पल्ला घरे काइँला दाइ
बम्बइ बाट फर्किदा
नेपालकै बाटो आउनु भारैछ
कसैले भन्यो अरे
तपाईंको त नेपालमा ठुलो घर छरे
तपाईं त चिलगाडिमा प्रदेश घुम्नु हुन्छ रे

काका
आज गाउँ डाँडा माथिको घाम पखाल्ने
मुर्दाहरूको बुढो चिहान भएको छ
गोरा तन्नेरीहरू काला पहाड छिरेका छन्
हिजोको हुरिले भवानीको मन्दिर पनि ढल्यो
पिपल चौताराको वर पनि सङ्गै मर्‍यो
स्कुल पनि गौशाला जस्तै भएको छ
अस्थिको पहिरोले पुरै गैरी खेत पनि भास्सियो
तपाईंको आँखामा सपनाको सुन्दर संसार देख्ने गाउँ
आज काला कौवाहरूको मसान घाट भएको छ
चिठ्ठी पठाउनु होस् न काका
रैभार भएनी पठाउनु होस् न काका
अब तपाईंको नेपाल
यहाँ सम्म ल्याउन कति दिन लाग्छ ?