June 23, 2024, Sunday
२०८१ असार ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

कविताः तीन हजार वर्षको आक्रोश

२०८० श्रावण १

2.5K

सौगात विश्वकर्मा,

जन्मेपछि,
एक न एक दिन मर्नैपर्ने हुन्छ
मर्नु भनेको उमेर सिद्धिनु हो
यस्तै–यस्तै पढाइ हुन्छ स्कुलमा
र घोकाईन्छ कलिला दिमागहरूलाई
झुटको ज्ञान ।
मास्टरहरू न हुन्
कसैले पढाउँछन् समाजिक
र भन्छन् समाजमा मिलेर बस्नुपर्छ ।
उही शिक्षक किन पुग्दैन दलित– गैर दलितको लफडा मिलाउन
कसैले गणित पनि पढाउँछन्
हिसाब मिलाउँछन्, पाठ्यक्रममा
तर, मिलाउँदैनन् भेदभावको जोड घटाउ
र कसैले पढाउँछन् नेपाली
व्याकरण पढाउँछन्, कथा पढाउँछन्
पढाउँनै बिर्सिन्छन् तराई र पहाडियाको आत्मकथा
मैले यस्तै यस्तै पढ्नु पर्‍यो ।
मैले यस्तै यस्तै पढे हुर्किए ।
हजुर बुबाले पढ्नु भएन
आरन कसले बसि दियोस्
बुवा पढ्नै भ्याउनु भएन
साहुको अधियाँ जमिन कसले जोतोस्
र दाइले पढ्ने अवसरनै पाउनु भएन
पुँजीवादको विल्ला (पासपोर्ट) कसले बोकोस्
मैले पढ्दा,
केही कुराहरू सिके
जुन कुरा मास्टरले सिकाउनु भएन
त्यो भन्दा बढी
मैले कोही कसैबाट सिके
र जान्ने भए
तीन हजार वर्षदेखिको विभेदको नालीबेली ।

अहिले
ठिक यत्तिबेला
मनमा एक किसिमको आगो बलिरहेको छ
जुन आगो,
जुम्लामा जलेको दलितको घरको राप जस्तै छ ।

अहिले
ठिक यत्तिनै बेला –
मन बेजोडका साथ बाँधिएको छ
जसरी कि,
गोर्खामा सन्तोषलाई निर्दाेष भएर पनि
हिरासतमा कोचिएको छ ।

अहिले
ठिक यहि समयमा
मन यसरी पग्लिरहेको छ कि
जसरी पग्लिन्छ,
स्याङ्जामा मन्दिरभित्र दियोको लप्का
र बाहिरपट्टि दलितहरूको मन
र ठिक यत्तिनै बेला
सरकार,
अपराधीलाई शिरमा बोकेर उकालो तिर लाग्छ
र ठिक यत्तिनै बेला
झुटा ज्ञान बाँड्न मास्टर स्कुलतिर
यस्तो लाग्छ ,
यो दिमागी फोहोर
के ले सफा गर्न सकिएला ?
कसरी सकिएला बिभेदको खाडल पुर्न ?
यो सरकारले कहिले लगाउला दोषीलाई हत्कडी ?
कसरी बन्ला समाज ?
जुन समाजमा मान्छे
मान्छे भएर बाँच्नै पाउँदैन !
यस्तो पनि लाग्छ,
बोकौ क्रान्तिको राँको
बढौं केही यात्रा
राता मान्छेहरू मिलेर
सुदुर बस्तीहरूलाई बोकेर
तीन हजार लामो विभेदको पहाड तिर
जुन पहाडको चुचुरोमा रहेको
संसारकै कुरूप संविधान जलाउन
जति बेला
यसो भन्दै कोहि आउने छैन ।
जन्मेपछि,
एक न एक दिन मर्नैपर्ने हुन्छ
मर्नु भनेको उमेर सिद्दिनु हो ।
हो त्यो समय कहिले आउँला ?
तीन हजार वर्षदेखिको आक्रोश त बल्ल दन्किरहेछ ।