June 23, 2024, Sunday
२०८१ असार ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

कविताः गाई र राजनीति

२०८० श्रावण ५

7K

  • अर्पण उत्कर्ष

गाइको झोल पिउँदै युद्ध लड्ने सुप्रिमोको लिङ्गबाट
पवित्र गौमूत्र विसर्जन हुन्छ भने,
भैगो क्रान्ति निक्कै बकवास छ ।

ओ प्रिय आदिवासी सेम्छ्युई म्हेम्हेका सन्तानहरु हो
आउ हामी गौमातालाई प्रेम गरौं ।
मामुली गाईमा हाम्रो लडाइँ अल्झिनु हुँदैन
पटक्कै अल्झिनु हुँदैन
एक टुक्रा हड्डीमा हाम्रो अस्तित्व
किन लिलाम गरिरहेछ गाइकै छालामा हामीले हाम्रो पहिचान,

एक सरो डम्फु त हामी
शासकको छाला टाँगेर पनि बजाउन सक्छौँ नि
हैन र ?

किन तानातान गरिरहेछ गाईको फलमासुमा हाम्रो इज्जत ?
थाहा छ तिमिलाई ?
सबै भन्दा मिष्ठान्न भोजन
शासकको गिदीको चट्नी हो ।

किन बिस्र्याै तिमीले ?
हाम्रो पुर्खाको वायुलाई
बैरिको कलेजोको साङ धुप बाल्नु पर्छ भनेर ।

किन सम्झिदैनौ तिमी
ह्रिन्जेन दोर्जेको आत्मा खुसी पार्न
शत्रुको मुटु पोलेर नैबेद चढाउनु पर्छ भनेर ।

थाहा छ तिमिलाई ?
ताल्च्युइगढीको घिसिङ म्हेम्हेले
अहिले पनि मान्छेकै बलिमा चित्त शान्त पार्छ भनेर ?

हो हामी त,
म्लेच्छको नलिखुट्टाको काङलिङ बजाउने जाति पो’त,

उनैको टाउकाको खप्परमा जाँड पकाउने खलक पो’त ।

हो नपत्याए एक फेर सोधी हेर
गाउँको गान्बा लामा म्हेम्हेलाई ,

किन क्रुर हुँदै छौं तिमी ?
एउटा निमुखा पशुको घाँटीमा तरबार नचाएर ।

भैगो यी सब छाडिदेउ
आउ हामी गौमातालाई प्रेम गरौं
बुद्धको आँखा लगेर त्यहीँ निर बिसाईदिम स्नेह
गुरु रेम्पोर्छेको दिल बोकेर मनन गरौ शान्ति ।

भैगो छाडिदेउ,
गाई केवल गाई मात्र हैन
एउटा भयङ्कर राजनीति हो ।