June 18, 2024, Tuesday
२०८१ असार ५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

कविताः उल्टो उभिएको युग

२०८० श्रावण ८

3K

  • जीवन स्पर्शी

हाफ पाइन्ट लगाएर
बृटिस लाहुरेको पेन्सन पकेटमा ढल्काउँदै
बुढासुब्बाको सेरोफेरो डुलि हिँड्ने
एक हुल तरुनी,तन्नेरी बटुल्ने समय होइन म
बाउको कमिसनको हिस्सा बोकेर
आधुनिक डिस्को धाउने
न त कुनै नालायक सन्तान जन्माउने समय नै हुँ ।

यो धर्तीलाई बेस्सरी लात बजारेर सोध
यो आकाशलाई हात हल्लाई हल्लाई प्रश्न गर
पोखराको बजारमा गाँजा खाएर बुलेट बाइक हुईक्याउँने
ताल बाराहीमा टिकटक बनाउँदै हिप हल्लाउने
बेफ्वाँक र बेकामको जमात बनाउने समय होइन म
आँगनीमा ओइलाईरहेको फुल साक्षी छ
सिउँदोमा सुक सुकाउदो सिन्दुरसँग आँखा जुधाएर हेर
न त म कुनै त्यो कुप्रो बूढो रुख हुँ जो हेरिरहेछ वर्षौ देखि
गरिबी बेच्ने यो खोक्रो शहर
आत्मनिर्भरता गुमाईरहेको यो खेत खलिहान
र दिन दिनै आफ्नो भाउ बिर्सिरहेका यी हाट बजारहरु ।

ओ प्यारो मान्छे !
म एउटा यस्तो युग हुँ
तिमी आँखा च्यातेर हेर
जो पूरा देखिएर पनि अपुरो छ
रङ्गिन देखिएर पनि अँध्यारो छ
उभिएको देखिए पनि ढलिरहेको छ
आधार बिना एक तमास ठडिरहेको छ
रेमिटेन्समाथि उल्टो फर्किएर उधो मुन्टो उभिएर
टाउकोले टेकेर हिँडिरहेको युग हुँ म
मलाई बुझ्ने कोसिस गर
ओ मेरो प्यारो मान्छे !
तिमीले भनेको यो समृद्धिमा
फैलिरहेको छ लासहरुको गन्ध
खाडीबाट भित्रिरहेका लासहरुको गन्ध ।