July 18, 2024, Thursday
२०८१ श्रावण ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

अलविदा कमरेड !

२०७९ मंसिर २३

3.5K

  • मनोज लोहार

‘जे नहोस् भन्थे आखिर त्यही भयो
गयो एउटा मान्छे पिर त्यही भयो…’

मङ्सिर ६ गते हृदयको जमिनमा भूकम्प गएको दिन ! त्यसपछिका दिनमा पनि पराकम्प गइरह्यो । हृदयका बस्ती, बाटा, संरचना यति क्षय भएछ कि कैयौं दिनसम्म ‘अलविदा’ लेख्नसम्म असमर्थ रहेँ । स्विकार्नु थियो तर सहज थिएन । एउटा मानिस ‘नरहनु’ कति अपुरणिय क्षति हो ? कति ठूलो पीर हो ? भन्ने महशुस तपाईं गएपछि अझ गहिरोसँग भयो कमरेड महावीर ! सायद माथिको मुक्तक अंश तपाईंले कसैको गाढा अभावपछि नै लेख्नु भएको थियो होला । मैले असल साथी, विद्रोही सहयोद्धा, वैचारिक सहकर्मी, समताको स्वप्नजीवी तपाईलाई गुमाउदा रिलेट गरेँ ।

सम्झनामा हाम्रा जम्मा दुई भौतिक भेट मौजुद रहेछन् । तिनको अनुहार बल्दै÷निभ्दै गरे । मुटुले छामेँ । ओल्टाइपल्टाई गरेँ । तपाईँको स्पष्ट विचार, विचारको जुलुस बाड्दै हिँडिरहेको अभ्यास र बोध+व्यवहार’को क्रसबाट प्रादुर्भाव भएका सपनाले हतप्रभ भएछु । अन्तरिक्ष जस्तो गाढा अन्धकार र गहिरो रिक्तताले गलहत्याएछ ! तर ती भेटका अनुभुतिमा सदैव बलियोसँग उभिने उर्जा थिए । अहिले लाग्छ यस्ता अनुभुति नहुने हो भने हाम्रो हृदयमा अल्पायुमै गाडिने सपना कति धेरै हुन्छन् होला ??

१.अनुहारको खोजी
पहिलो भेट भरतपुरमा भएको थियो । संयोग कस्तो भने यही जिल्लामा उनलाई जन्माउने जमिन छ । यहीको एउटा सुकुम्बासी बस्तीबाट उनले जीवनको भागदौड आरम्भ गरेका थिए । त्यही बस्तीमा अझै उनका बुवा, आमा बस्छन् । अर्को संयोग हाम्रो भेटस्थल उनले पहिलो पटक ‘बहकिने मन’ ब्रोडकास्ट गरेको कालिका एफएमको बगलमै थियो । अर्थात विजय विश्वकर्मा र पवित्रा खड्काथोकीको डेरामा ! मलाई याद भएसम्म महावीर लङ्गकोटमा भेटिएका थिए । यो लुक्समा उनी ‘शेरलक होम्स’ झैँ देखिएका थिए ।

उनको यात्रा सुकुम्बासी बस्तीबाटै प्रारम्भ भएको थियो । त्यसै उनी सिमान्त सौन्दर्य सुमसुम्याउन सक्थे । भावुक प्रकृतिका थिए । त्यसैले भावलाई, विचारलाई र व्यक्तिलाई प्रेम गर्न सक्थे, प्रेमी थिए । तपाईंलाई त थाहै छ हरेक प्रेमीभित्र एउटा कवि भूमिगत हुन्छ । महावीरभित्रको कविले रातो कविता मात्र लेख्यो र, रातै जीवन बाँच्यो ।

प्रिय पाठक !
तपाईं त्यस भेटमा अनुपस्थित हुनुहुन्थ्यो । नत्र गफगाफबाट पत्ता पाउनुहुन्थ्यो समाजको टुक्राटाक्री अभ्यास, मिथक, संस्कार आदिबाट प्रणालीको जड पहिल्याउने उनको खुबी ‘होम्स’को झै अद्भुत थियो ।

यो भेटपूर्व महावीर मेरो लागि ‘सेलिब्रेटी’ थिए । एक समय म ‘बहकिने मन’मा उग्र एडिक्टेड’ थिएँ । त्यसकै संचालकलाई साक्षात् भेट्दा फ्यानहरू कति किशोर हुन्छन् भन्ने त साह्रै मामुली कुरा हो । तपाईंलाई अवश्य थाहा होला । मभित्र पनि चञ्चलता उछलकुदमा लागेको थियो । तर उनले बढ्ता ‘बहकिन’ दिएनन् । ‘मन बहकाउने’ एक्सपर्टले नै बहकिन दिएन ?? तपाईंलाई यसले अतिशय प्रशंसा गर्यो लागिसक्यो होला । यस्तो ढङ्ग नपुगेको तर्क त नगर्नु पर्ने हो लागिसक्यो होला । तर यथार्थ त यही हो । प्रमाण चाहिएमा या कुनै किसिमको जाचपड्ताल÷छानविन गर्नु परेमा हाम्रो कुराकानीको साक्षी विजय विश्वकर्मालाई केरकार गर्न सक्नु हुनेछ । अथवा तपाईंको नजिक जो जति उनलाई भेटेका पात्र छन् । तिनिहरूसँग चिया पिउन सक्नुहुन्छ । चिया गफमा उनीहरूले अवश्य बताउने छन् की महावीर मन बहकाउन मात्र हैन सम्हाल्न पनि महा वीर नै छ भन्ने कुरा ।

पहिलो भेटले फुटप्रिन्ट छाडेको थियो यो मानिस आगोको फिलुङ्गो हो । नेपाली समाज, सिमान्तकृत सौन्दर्य र दलित आन्दोलनलाई हेर्ने उनको दृष्टिकोण उज्यालो एंव स्पष्ट थियो । बहसको बिषय जब महिला मुद्दाकेन्द्रित भयो उनले ‘महिला सहभागिताबिना हामीले बोलेको त के मजा भयो र ?’ भन्दै पवित्रा म्यामलाई आमन्त्रण गरे । जसको आवाजमा पुरै देश मन्त्रमुग्ध छ । उ नै श्रोता हुन तयार थियो । उ मुद्दालाई भ्यालिड गर्ने अनुहार÷आवाज खोजिरहेको थियो । मैले यति सुन्दर लोकतान्त्रिक चेत÷अभ्यास कमैमा भेटेको छु ।

२. अनफिनिस्ड एपिसोडहरू

हेल्लो मनोज जी ? आराम हुनुहुन्छ ?……..’

दोस्रो भेट यहि फोनवार्ताले तय गरेको थियो । संयोग कस्तो भने यसपटक पनि म चितवनमै थिएँ । चितवन मेडिकल कलेजको रेडियोलजी रूमभित्र सरला जीलाई पठाएर महावीर जीको कल रिसिभ गरेको थिएँ । यस वार्ता÷संवादमा हामीले लगभग ३ः३३ को आयु सहर्ष समाप्त गर्यौं । उहाँ झापामा हुन गइरहेको पार्टीको प्रशिक्षण कार्यक्रमको लागि यात्रारत हुनुहुन्थ्यो । म अस्पतालको आतंकले स्ट्रेस्ड थिएँ । हतारै हतारमा कल कम्प्लिट भयो । सारांशमा संवाद यस प्रकार थियो ‘….बोल्ने सेलिब्रेटी’ कार्यक्रम चलाऊँ कि भनेर सोचेको थिएँ । तर सुस्मिताको अबकभ मा सेलिब्रेटीको सामाजिक साक्षरता देखेर त ट्वाँ परेँ । अलमल परेँ । अलमलकै बीचमा एउटा भाइले दुखेसो पोख्यो–मान्छेहरू जातपात छैन भन्छन् । यहाँ आफ्नो प्रेम’मा जातकै कारण ट्राजेडी भइराछ ।’ उसको कुराले झस्कायो । अनि लाग्यो– भाड मे जाय सेलिब्रेटी ! अब भुईँमान्छेकै जात व्यवस्था विरोधी प्रयत्नलाई समेटेर कार्यक्रम बनाउँछु । अन्तरजातिय प्रेम–विवाह गरेका जोडीका साहस, सङ्घर्ष र सपनाको कथा देखाउँछु । त्यसकै लागि तपाईं र सरला जीलाई भेट्न हामी चपुर आउछौं है ; पार्टीको प्रशिक्षण कार्यक्रम सकेर….’ आफ्नो÷खुदको÷निजी मुक्तक सङ्ग्रह प्रकाशन गर्न दोधार÷त्रिधारसम्म भएका उनी यो कार्यक्रम ल्याउन अधैर्य एवं आतुर थिए । यो हतारो सायद उनको दिमागमा उम्रिएको आगोको उपज थियो ।

हेल्लो मनोज जी ? हाम्रो टिममा त म एक्लै हुने भए नि । हाम्रो ड्रोनम्यानको हालसालै ड्रोन हरायो । अब ड्रोन सटहरू छुट्ने भए । ड्रोनको शोकमा ड्रोनकार पनि यतै छुट्ने भए । म चैं आउँछु है…’

महावीर जी, चपुर आइपुग्नु भयो । चपुरकै अनन्य मित्र क्षितिज लामिछानेले हाम्रो घरसम्म ल्याइदिनु भयो । यो घर चै सुकुम्बासी बस्तीको सक्रिय सदस्य हो भन्ने तपाईंलाई थाहै होला । छैन भने थाहा लिइहाल्नुस् । यो बस्तीका अभाव, अज्ञानता, आक्रोश महावीरको लागि सकस बनेन । हामी स्वागतार्थीको लागि यो सुन्दर कुरा भयो । झन सुन्दर कुरा; बस्तीलाई हेर्दै उनी अभावमा बितेको बालापन जोड्ने कोरिडोर छिरे । भोकै सुत्नु परेका रातहरू सम्झिए, एकजोर नयाँ लुगा लगाउन दशैँ नै कुर्नुपर्ने अवस्था, राम्री लागेको केटीको अघि १ किलो चामल, १० रूपियाँको तेल बोकेर हिँड्दा हुने ह्युमिलेसनका किस्सा सुनाए । यो बस्तीका दुख्ख, फोहोर, रोगले महावीरलाई भगौडा बनाएन । बरू कष्टकर किशोरकालका किस्सा कोट्याए । उनले सम्झिए–मन मिल्ने साथीले घरमा हुल्न गरेको इन्कार, छरछिमेकमा बिहे–बटुलो हुँदा अलग्याउने भान्सा, तिनको अपराधी आँखाको भाव, सामाजिक/नैतिक शिक्षा पढाउने सरले गर्ने असामाजिक÷अनैतिक व्यवहार आदी आदी ।

उनको यात्रा सुकुम्बासी बस्तीबाटै प्रारम्भ भएको थियो । त्यसै उनी सिमान्त सौन्दर्य सुमसुम्याउन सक्थे । भावुक प्रकृतिका थिए । त्यसैले भावलाई, विचारलाई र व्यक्तिलाई प्रेम गर्न सक्थे, प्रेमी थिए । तपाईंलाई त थाहै छ हरेक प्रेमीभित्र एउटा कवि भूमिगत हुन्छ । महावीरभित्रको कविले रातो कविता मात्र लेख्यो र, रातै जीवन बाँच्यो । उनले आमा र बुवाको उत्तर र अनुहार क्यामरामा कैद गरे । सरला जी र मेरो सङ्घर्ष, सोच र सपना सोधे । हाम्रा स–साना कृत्य क्याप्चर्ड गरे । त्यहि क्रममा दिदी आइपुग्नु भयो । पारिवारिक परिचय भए । अनुभव र अनुभूति बाँडिए । केही बहस उठे । तर्क गरिए । तर निष्कर्ष निष्कासन भएन । समग्रमा गफगाफ भव्य चल्यो । महावीर सबैसँग खुल्ला पुस्तक बनेर पल्टिएका थिए । आज कसैले उनको समग्र जीवनलाई युवा पुस्ताले पनि र बौद्धिक सर्कलले पनि प्रंशसा गरेको पाउँदा मैले पहिल्यै यो कुरा महसुस गरिसकेको थिए नि जस्तो लाग्छ । क्यामेरामा कैद भएर रिलिज नभएको त्यो एपिसोड अनफिनिस्ड नै रहने भए । त्यस्तै अनफिनिस्ड नै रहने भए उनले ‘अब आहुतिको सोच÷योगदानलाई निरन्तर आन्दोलन बनाएर हिँड्नु छ’ भन्दै गरेको सङ्कल्प ! उनले त्यो भेटमा सबैभन्दा बढी सुनाएको सपना त्यही थियो ।

३. मन जोड्ने मानिस

कहिले समथर सागर भइ रहिदिन्छ
कहिले छाल भइ उर्लिदिन्छ
सम्हाल्नै गाह्रो भो झन
बहकिने मन…बहकिने मन….बहकिने मन….

मन सबैको एउटै हुन्छ । दुःख, सुख, प्रेम, उत्तेजना, संवेगको साझा प्रोफाइल हुन्छ । कहिले बहकिन्छ । कहिले सम्हालिन्छ । सायद यस्तै मनोदशाबाट उद्वेलित हुँदा ‘बहकिने मन’ बनेको थियो । उनले प्रेम लेखे । प्रेमका आरोह÷अवरोह । प्रेमको अभाव, अपेक्षा, आँसु लेखे । प्रेमीलाई, प्रेमविहिनलाई शब्दले जोडे । निस्सास मनलाई प्रेमको ढुकढुकी दिए । जब बुझ्दै गए–मन संवेगको साझा प्रोफाईल मात्र हैन । यो हाम्रो सामाजिकीले निर्माण गर्छ । मनमा सम्पूर्ण समाज चियाउने आँखीझ्याल हुन्छ । उनले समाजलाई अझै पढे । आफूले बाँचेर आएको जीवन र समाजको किनारमा रहेको मन पढे । तिनलाई समाजले गर्ने उपेक्षालाई पढे । तिनको आँसुको आयाम पढे । अनि ‘बहकिने मन’को फम्र्याट बदलियो । जुन पछिल्ला अङ्कमा अनुभूत गर्न सकिन्छ । जसलाई उनका सच्चा श्रोताले हृदयङ्गम गरे । सराप्नेहरूले सिकाएञ्सिमान्त मनलाई समेट्न खोज्नु चुनौतीपूर्ण छ है भनेर । उ चुनौतीसँग निरन्तर भिडिरहेको मानिस थियो । डर त्रासले दस्तक दिन सकेन ।

बरू उसले स्पष्ट पक्षधरता बनायो । कुनै दोग्लागिरी गरेन । महावीरले मन जोड्न उठाएको यो जोखिम अनुकरणीय लाग्छ । उ फिल्म खेल्थ्यो । हिरो लुक्स थियो नै । रिलमा देश, समाज बदल्न सक्थ्यो । किन रियल लाईफमा बदल्न खोज्यो ? उनको स्वरको जादुमा बजार लठ्ठ थियो । स्वर बेचेर शानदारसँग बाँच्न सक्थ्यो । फोटो सेसन, गसिफ, नाथे एउटा जीवन डेटिङ्गमै डोनेट गर्न सक्थ्यो । तर उसले सत्तासँग किनाराको मन जोड्छु सम्झ्यो । अनि भन्यो– ‘अघाएकाहरूले ठिकठाक देखिरहेको समाजलाई भोकाएकाहरूको आँखाबाट हेरेर भताभुङ्ग भनिरहेको एक असन्तुष्ट पात्र….’ सराप्नेहरू झन आँखा फुट्ने गरि चिम्लिएर सराप्न थाले । सायद यस्ता प्रतिकृया पढ्दा उनले आफ्नै पुरानो मुक्तक सम्झिए होलान-

‘नजिक छु कि जस्तो लाग्थ्यो टाढा भएछु
सम्झनामा भने सधैं गाढा भएछु ।
शिरफूल बनाई सजाउँछु भन्थ्यौ
कसो कसो बिझाउने काँडा भएछु ।’

नजिक छन् ठानेका वास्तवमा नजिक थिए कि थिएनन् ? शिरफूल बनाउँछु भन्नेले काँडा किन ठाने ? उनले बुझेका ती अघाएका हुन् । विचलित भएनन् । काँडै बनेर पनि शताब्दिऔं पुरानो मनको दुरी मेट्न हिँडे । सायद दृढ थिए-

‘खुशी थोरै आँसु धेरै पिर छ आज पनि
पिर मेट्ने यात्रामा महावीर छ आज पनि’

महावीर कवि हो । मुक्तककार हो । अभिनेता हो । अभियन्ता हो । प्रस्तोता हो । यी सबै क्षेत्रबाट विद्रोह गरिरहेको एउटा उज्यालो हो, एउटा क्रान्ति हो । मलाई लाग्छ उनीप्रतिको सच्चा श्रद्धाञ्जली त्यो क्रान्तिको अभिभारा लिनु हो । त्यो क्रान्तिमा ‘आहुति’ हुनु हो ।

अलविदा कमरेड !

यो पनि पढ्नुस : कमरेड महावीरको सम्झनामा !