July 11, 2024, Thursday
२०८१ असार २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

कविताः थाहाको झिल्को

२०७९ पुष १४

690

थाहाको झिल्को

ए भुइँमै पछारिएका भुइँमान्छेहरु
चिनिहाल थाहाको हरियो बोट
र साहस गर कलम चलाउन
आँट गर विरासत ढलाउन
र कोर्न सुरु गरिहाल चेतना र बिचारको बिरुवा रोप्न ।

यत्ती कुरा जरुर याद गर
हिरा पाउन समुन्द्रमै डुब्नु पर्छ
हिमाल चढ्न हिँउमै गल्नु पर्छ
अधिकार मागेर पाउने देश होईन यो
हुँदै होईन
हातमा बन्दुक बोकेर मान्छे बन्ने आँट गर ।

झुकेर पशुझै मरेर बाँच्ने युग होईन यो
हुँदै होईन
रगत जोगाउन रगतकै खेती गरेर
रगतको धारमा
आफ्नो बिरताको चिनो कोर्ने संकल्प गर ।

कति गर्छौ ए हलिदाइ
हलोको अनौमा आफ्नै हातको रेखा मेटाइ जमिनदारको रक्षा
अब त आफुपनि मालिक बन्ने अठोट गर ।

शासकको चिप्लो कुरामा
आफ्नो सीपलाई सस्तोदरमा कति बिकाइ रहन्छौ
ए सिकर्मी दाइ
आफ्नो श्रमको उचित मूल्य पाउँन
अब त शासक सीत बाँझ्ने आँट गर ।

कति बोक्छौ ए भरिया दाइ ?
पसिना र दुःखलाई आत्मिय साथी बनाइ
पाखा ,पखेरी अनि देउरालीका ढुङ्गाहरुसीत
युगौं पुरानो साइनो लगाएर
साहुको हिरा पाक्ने चुलोको भारी !
अब त छोडेर यी पुर्खेउली यात्रा
तय गर बरु आफै साहु बन्ने नयाँ युगको बाटो ।

बरु मुसाफिर बनेरै सहि
लेख्न सुरु गर पसिना र दुःखका रङहरु मिसाएर
आफ्नै स्वाद मिसिएको जिवनको
मिठो कविता ।

कहिले सम्म जोति रहन्छौ ए कामी दाइ
त्यो पुस्तौनी पुरानो आरन
र कति पिटि रहन्छौ फलाम सङ्गै तिम्रा ती सपनाहरु
अब त मान्छे बन्ने आरन चलाउ
र आरनमा फलाम होइन बिचार चलाउ ।

कहिले सम्म बोकि रहन्छौ ए दाजुभाइ
तिमिलाइ चम्चा बनाइ रहने ती नेताहरुको झोला
अब त आफैं नेता बन्ने आँट गर
र बनाउ नेताको भुँडी च्यातेर
वर्गबिहिन साम्यवादी मानव समाज ।

राजा महाजाराहरुको वंशावली घोक्ने
शिक्षालाई मसानघाटमा पुर्ने चेस्टा गर
र थाहा पाउन जरुरी छ
कि !
को हो यो देशलाई रेगिस्तान बनाउने ?
कि !
को हो यो देशको ढुकुटीमा रजाइँ गर्ने ?

को थिए यो देश जोगाउन
आफ्नै ज्यानको बलि दिने पहिलो सहिद ?
र किन लेखिएन
इतिहासको रातो पानामा उसको नाम ।

को थिए रुदाने
र उनको थाहायात्राको खुड्किलो के हो ?
एक्कै छिन यत्ती दुःख गर की
आफैलाइ चिमोट
जवाफ आफै भेटिनेछ ।