July 18, 2024, Thursday
२०८१ श्रावण ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

सुन्तलाका बिरुवा बिक्री नभएपछि म्याग्दीका कृषकले उखेलेर फाले

२०७९ माघ ११

222

काठमाडौंः म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ फगामका कृषकले बिक्री नभएपछि सुन्तलाका बिरुवा उखेलेर फाल्न थालेका छन् । फगाम सुन्तलाको बिरुवाका लागि स्रोत केन्द्र भए पनि बिक्री नभएपछि नर्सरीका बिरुवा उखेलेर तरकारी लगाउन थालिएको कृषक जोखबहादुर बिकले बताएका छन् । सोही स्थानकी डिलकुमारीले पुन पनि बिक्री हुन छाडेपछि सुन्तलाका बिरुवा उत्पादन गर्न छोडेकी छन् ।

करिब पाँच रोपनी जमिनमा सुन्तलाको नर्सरी बनाएकी उनी छिमेकीलाई जग्गा भाडामा दिएर तातोपानी बजारमा झरेकी छिन् । दुई वर्ष उमेरका सुन्तलाका बिरुवा रोप्न योग्य हुन्छन् । दुई वर्ष नाघेका बिरुवा बिक्री नभएपछि उखेलेर फाल्नुको विकल्प नभएको अर्का कृषक नारायण पुर्जा गुनासो गर्छन् । बजार बिस्तार हुन नसकेका कारण बिरुवा नबिकेको स्थानीय कृषक दुर्गादत्त सुवेदीको भनाइ छ । वडासदस्य समेत रहेका उनका अनुसार फगाममा उत्पादन भएका मध्ये करिब एक लाख सुन्तलाका बिरुवा बिक्री भएका छैनन् । केही वर्षअघिसम्म सुन्तलाको बिरुवाको माग अत्याधिक थियो ।

नयाँ नर्सरी बढेपनि बजार विस्तार हुन नसक्दा बिरुवा बिक्री नभएको हो । मेहनत गरेर नर्सरीमा हुर्काइएका बिरुवा बिक्री गर्न नसक्दा कृषक समस्यामा परेका छन् । ९ र १० नम्बर वडाका ४ वटा फार्ममा टिमुरका ५० हजार र वडा नम्बर ३ मा दुई लाख तीस हजार रोप्नका लागि योग्य सुन्तलाका बिरुवाले बजार नपाएको प्रशंसा बहुउद्देश्यीय नर्सरीका सञ्चालक सागर बानियाँले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बेनीस्थित सुन्तला जोन कार्यालयका कृषि अधिकृत बिक्रम बस्यालले कृषकहरूलाई सङ्गठित बनाएर बजारको खोजी गर्नुपर्ने देखिएको उल्लेख गरेका छन् ।