July 18, 2024, Thursday
२०८१ श्रावण ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

प्रेमप्रसाद र रामदेवहरु मर्नुपर्ने कहिलेसम्म ? (तस्बीरहरु)

२०७९ माघ १२

556

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन वैज्ञानिक समाजवादी युवा लिग,नेपाल र वैज्ञानिक समाजवादी विद्यार्थी संगठन,नेपालको संयुक्त आयोजनामा प्रेम प्रसाद आचार्यले गरेको आत्मदाह र रामदेव डोमले गरेको आत्महत्याको विषयलाई लिएर काठमाडौंको माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । दिनप्रतिदिन मानिसहरुले आत्मदाह र आत्महत्या गर्नुको प्रमुख कारण राज्य व्यवस्था हो भन्दै उक्त प्रदर्शन गरिएको हो ।

उक्त विरोध प्रदर्शन कार्यक्रममा नाराबाजीका साथै विभिन्न गीत एवं कविताहरु समेत प्रस्तुत गरिएको थियो । त्यस्तै कार्यक्रममा ‘प्रेम प्रसाद र रामदेवहरु मर्नुपर्ने कहिलेसम्म ?’, ‘अपराधिलाई कारबाही गर’ , ‘दलाल पुँजीवादी संसदीय व्यवस्था मुर्दावाद’ , ‘वैज्ञानिक समाजवादी क्रान्ति जिन्दावाद’ लगायतका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

बिहीबार दिउँसो भएको उक्त कार्यक्रममा वैज्ञानिक समाजवादी युवा लिगका कार्यवाहक संयोजक विजय विश्वकर्मा,वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका संयोजक करण बुढाक्षेत्री एवं केन्द्रीय सदस्य फूलमतीले सम्बोधन गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै वैज्ञानिक समाजवादी युवा लिगका कार्यवाहक संयोजक विजय विश्वकर्माले प्रेमप्रसाद आचार्यको पैसा तिर्न बाँकी रहेका व्यापारीहरुले तुरुन्तै पैसा नतिरेमा आफुहरुले नै कारबाही गर्ने बताएका थिए । “यदी तिमीहरुले प्रेम प्रसाद आचार्यलाई तिर्नुपर्ने रकम सिघ्र भन्दा सिघ्र फिर्ता गरेन भने हामी कारबाही गर्छौ”,उनले भने । त्यस्तै वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका संयोजक करण बुढा क्षेत्रीले अहिलेको राज्य व्यवस्थाले दिनप्रतिदिन उद्यमी,किसान र मजदुरहरुलाई हत्या गरिरहेको बताएका छन् । “यो व्यवस्थाले आज आम मानिसहरुको हत्या गरिरहेका छ । यो व्यवस्था उद्यमी,किसान र मजदुरहरुको हत्याराको रुपमा अगाडि आएको छ ।” उनले बताए । त्यस्तै वैज्ञानिक समाजवादी विद्यार्थी संगठनकी केन्द्रीय सदस्य फूलमतीेले आत्मदाह गर्न बाध्य गर्ने व्यवस्था विरुद्ध लड्न आवश्यक रहेको बताएकी छन् । “यो व्यवस्थाले पटकपटक आफ्नो शरीरमाथि आफै पे्रट्रोल छर्केर आत्मदाह गर्नुपर्ने अवस्था निर्माण गरिरहेको छ र यो व्यवस्था विरुद्ध हामी लड्न आवश्यक छ” । उनले बताइन् ।