July 18, 2024, Thursday
२०८१ श्रावण ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

गणतन्त्रको उपहास गर्दै जंगबहादुरको श्राद्ध सरकारी खर्चमा

२०७९ फाल्गुन २१

518

काठमाडौंः राणा शासनका संस्थापक जङ्गबहादुर राणा कुँवरको शनिबार दुईवटा श्राद्ध गरिएको छ । एकै तिथि र स्थानमा सरकारी खर्चमा तथा उनका सन्ततिले श्राद्ध गरेका छन् । राज्यका तर्फबाट श्राद्ध गरिएको १४६ वर्ष पुगेको छ भने सन्ततिले श्राद्ध गर्न थालेको १७ वर्ष मात्र भएको छ । सन्ततिले स्थापना गरेको नेपाल राष्ट्रिय राणा समाजले उनको श्राद्ध गर्दै आएको छ ।

हिन्दु धर्म संस्कृतिअनुसार तीन पुस्तासम्मको मात्र श्राद्ध गर्ने गरिन्छ । त्रिपुरेश्वरको कालमोचन घाटस्थित जङ्ग–हिरण्य–हेम नारायण मन्दिर हातामा शनिबार श्री ३ जङ्गबहादुरको श्राद्ध गरिएको हो । जङ्गबहादुर राणाको उभिएको सालिकको आडमा सरकारी खर्चमा श्राद्ध गरियो भने पाँच फिटको दूरीमा उनका सन्ततिले श्राद्ध गरे । सरकारी खर्चमा जङ्गबहादुरको मात्र श्राद्ध गर्ने चलन छ । यसको बन्दोबस्त गुठी संस्थानले गर्दै आएको छ । जङ्गबहादुरको श्राद्ध कौसीतोषखानाले गर्दै आएकोमा २०२० सालपछि संस्थानले गर्न थालेको हो ।

यसरी सरकारी खर्च मै जङ्गबहादुर राणाको श्राद्ध गरेकोमा यत्तिबेला विभिन्न व्यक्तित्वहरुले भने आपत्ति जनाएका छन् । जहाँनिया राणा शासन चलाएर नेपाली जनतामाथि १०४ वर्षसम्म दमनमा राखेको र १९१० को जस्तो अन्याय,अत्याचार,निरंकुश,तानाशाह र जात व्यवस्थालाई संस्थागत गरेको मुलुकी ऐन जारी गरेका व्यक्तिको श्राद्ध राज्यले गरिनु आपत्तिजनक भएको बताएका छन् । जहाँनिया राणा शासनको अन्त्य भएर मुलुक संघीय लोकतान्त्रीक गणतन्त्र र धर्म निरपेक्ष भएको शासन व्यवस्थामा आईपुग्दा समेत सामन्ती व्यवस्था र निरंकुशताको प्रतिक जंगबहादुर राणाको श्राद्ध गर्न नहुने उनीहरुको भनाई छ ।

रौतहटको पत्थरघट्टामा सिकारमा रहँदा १९३३ सालमा जङ्गबहादुरको निधन भएको थियो । १९३४ सालको फागुन शुक्लद्वादशीका दिनबाट श्राद्ध हुँदै आएको छ । सरकारी खर्चमा गरिएको श्राद्धमा कर्ताका रूपमा मन्दिरका पुरोहित गोविन्दप्रसाद कोइराला रहेका थिए । सन्ततिका तर्फबाट जङ्गबहादुरका पाँचौँ पुस्ताका सन्तान मेघजङ्ग राणा, छैटौँ पुस्ताका सन्तान रामप्रताप जबरा, सातौँ पुस्ताका सन्तान सन्तोषप्रताप जबरा र छैटौँ पुस्ताका सन्तान रामप्रताप जबराले गरेका थिए ।