May 2, 2024, Thursday
२०८१ बैशाख २१
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

दसैँ महान पर्व कि असमानता र विभेदको पक्षपोषक ?

२०८० कार्तिक ११

7.7K

  • प्रदीप घताल

यत्तिबेला संसारभरका नेपालीहरुलाई दसैँ लागिरहेको छ । परदेशिएकाहरु छुट्टी नपाएर घर आउन नसकेकोमा दुःखी छन् भने नेपालमै भएकाहरु पनि विविध खाले तनावमा दसैँ मनाउन विवश छन् । हुनेखानेहरुलाई आफ्नो हैसियत र रवाफ देखाउने राम्रो अवसर बन्ने गरेको दसैँ पर्व दैनिक काम गरेर खाने कमजोर, निमुखा र दलितहरुको लागि भने विभेद, शोषण र बहिष्करणलाई संस्थागत गर्ने परम्परा बन्न पुगेको छ । वर्षभरि बालीमा काम गरेका दलितहरुले दसैँ भाग उठाउने भन्दै चामल, पुच्छर र घाँटी उठाउने, कथित विष्टको घरबाहिर बसेर दसैँ भाग खाने, अगाडि बसेर बाजा बजाउने तर पूजाआजामा सहभागी नगराउने, राष्ट्रपति, पूर्व राजा, प्रधानमन्त्री जस्ता सरकारी उच्च पदस्थहरुबाट आफू निकट कथित उच्च जात र पहुँचवालाहरुलाई निवासमा टीका ग्रहण गराउने जस्ता प्रचलनले समाजमा व्याप्त वर्गीय र जातीय ( वर्णीय) विभेदलाई झनै प्रोत्साहित गरेको छ । दुर्गा पूजा, रामको रावणमाथि विजयले हाम्रो जीवनमा कुनै अर्थ राख्छ कि भ्रम मात्रै हो ? चामलको टीका बनाई निधारमा लगाउनुको औचित्य के हो भन्ने तर्फ सोच्न र वैज्ञानिकता खोज्न कसैलाई फुर्सद छैन । बरु पुर्खाले मानिआएका परम्परा र संस्कृति हुबहु मान्नुपर्छ कुनै प्रश्न गर्न पाईन्न भन्ने सोच जबरजस्ती थोपरिएको छ ।

अक्सर हामी भावनामा बाँच्ने गर्छाैं । तथ्यका आधारमा सत्यको खोज गर्ने ज्ञान निर्माणमा हामीले किञ्चित् प्रगति गर्न सकेनौं । एकातिर गरिबीको आँकडामा सबैभन्दा पुच्छरमा पर्नु अर्काेतिर ष्त्र मा सबैभन्दा पछि हुनुले हामी कति भावना र अज्ञानतामा रमाउँछौं भन्ने पुष्टि हुन्छ । हामी शासकहरुले आफ्नो मान, सान र तामझाम देखाउन, शासकीय वर्चस्व कायम राखिराख्न निर्माण गरिएका संस्कृति र चाडपर्वहरुलाई महान बनाउने गर्छाैं । भावनात्मक आवेगमा चर्काे ऋण र तनावमा बाँच्न विवश हुन्छौं । कसैले सुनाएका दन्त्य कथा, मिथ्या भ्रमहरुमा लागेर हुबहु उतार्न र समाजमा आफूलाई श्रेष्ठ देखाउन मरिहत्ते गर्छौं । हजारौं लाखौं मान्छेहरु बेवारिसे, बेरोजगार र परदेशिनु परिरहँदासमेत थोरै पनि चिन्तित नबनाउने हाम्रो मन शास्त्र, ग्रन्थ र ब्राह्मण रचित कथा, धर्म संस्कार र भ्रमहरुमा छिट्टै लठ्ठ हुन्छौं । आखिरमा हामीसँग मानव केन्द्रित सोच, चिन्तन र दर्शनको विकास हुन सकेन । यसो हुन नसक्नुको कारण भनेको हजारौं वर्ष लगाएर जबरजस्ती लादिएको वर्णमा आधारित जात व्यवस्था नै हो ।

आशा कोही कसैसँग बाँकी छैन । जब कुनैपनि समाजलाई धार्मिक अन्धतामा आधारित पर्व र संस्कारहरुले लठ्ठ बनाउँछ तब त्यो समाजको प्रगतिको गति त्यहीँबाट रोकिन्छ ।

जसको जगमा निर्माण गरिएका यस्ता संस्कृति, चाडपर्वहरु कहिल्यै गरिबको, हुँदा खाने वर्गको र दलितको पक्षमा वा हितमा थिएनन् र हुँदैनन् । तर, आज मानिसहरुलाई यही संस्कृतिले लठ्ठ बनाएको छ । यसको खिलाफमा बोल्ने आँट कसैको छैन । हाम्रो ज्ञान निर्माणको जग नै गलत भएपछि, लामो समयदेखि शास्त्र र ग्रन्थ रचित भ्रमहरु पढाउँदा पढाउँदा एकोहोरो बनाईसकेपछि त्यही दर्शनले शासन गर्न सजिलो बन्ने रहेछ । वर्षेनि निधारभरि चामलका गेडा लगाएर सधैं प्रशस्त आशीर्वाद थाप्ने हामी आज गरिबी, बेरोजगारी, अभाव र विभेदको चपेटामा नराम्रो गरि लपेटिएका छौं । यदि हाम्रा आफन्तले दिएको आशीर्वादले हामी सम्पन्न र ठुलाबडा हुने थियौं भने आज हाम्रो अवस्था यत्ति दयनीय हुने थिएन । हाम्रा गाउँहरु युवा विहीन हुने थिएनन् र सरकारले पनि कसैलाई भत्ता बाँडिरहनुपर्ने थिएन ।

आज अधिकांश युवाले देशभित्र केही गर्न सकिन्छ भन्ने सपना देख्न छाडेको वर्षाै भैसक्यो भने उमेर कट्दै गरेकाहरु कहिले सरकारको भत्ता खान पाईएला भन्दै बस्ने गरेको पाईन्छ । युवा र विद्यार्थीहरुको काँधमा सिङ्गो परिवारको भविष्यको जोखिमको भारी थोपरिदिएपछि भविष्य खोज्न खाडी र युरोपतिर पलायन हुन बाध्य भए । परिवर्तन र सामाजिक क्रान्तिका लागि आफ्नो उर्जा, सीप र सोच खर्चनुपर्ने युवालाई लखेटेर केही दलाल, माफिया र व्यापारीहरुको हितमा काम गर्न पल्केको राजनीतिक नेतृत्वले क्रमशः देशका सबै सम्भावनाहरु र सुचकहरु जीर्ण बनाउँदै आफू र आफ्ना आसेपासे मोटाउने अवस्था निर्माण गरिरहेका छन् । यसरी देश सबै क्षेत्रमा पछाडि पर्दै असफल मुलुकतर्फ उन्मुख बन्दै गरेको छ । जनताको निराशाको डिग्री दिनानुदिन बढ्दो क्रममा छ । आशा कोही कसैसँग बाँकी छैन । जब कुनैपनि समाजलाई धार्मिक अन्धतामा आधारित पर्व र संस्कारहरुले लठ्ठ बनाउँछ तब त्यो समाजको प्रगतिको गति त्यहीँबाट रोकिन्छ ।

वर्चश्वशाली जाति र वर्गले आफ्नो अनुकुलता अनि श्रेष्ठतालाई जोगाउन निर्मित यस्ता संस्कृति हाम्रो ज्ञानको पुर्नजागरणका निम्ति बाधक बनिरहेका छन् ।अर्काेतर्फ हामीले कल्पना गरेको समतामुलक र समावेशी समाज निर्माणको लागि पनि चुनौती बनिरहेका छन् । संस्कृतिको नाममा राज्यले बनाएको कानुन र नीतिलाई ठाडो चुनौती दिने, समाजको भुईं तहमा रहेका, संरचनात्मक विभेदले पिल्सिएका निमुखाहरुलाई यो चाडहरुले झनै गिज्याईरहेको छ । विभेद र असमानताको पक्षपोषण गरेको हुनाले दसैँले पनि हाम्रो जस्तो विविधतापूर्ण समाजको सिङ्गो प्रतिनिधित्व गर्न सक्दैन । अझ दलितहरुको आँखाबाट हेर्दा त झन् यो बहिष्कार नै गर्नुपर्ने छ । यदाकदा केही बुझेका दलित अगुवाहरुले दसैँ टीका बहिष्कार गर्नुपर्छ भन्ने आवाज पनि धेरै पाईन्छ । त्यसकारण पनि यसलाई महान चाड, सबै नेपालीको बडा चाड भन्दा पनि खस आर्यहरुको र हुनेखाने वर्गको चाड हो भन्दा अत्युक्ति नहोला ।