September 5, 2024, Thursday
२०८१ भाद्र २०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता
कविता

सुन तस्कर पत्ता लाग्यो

२०८० भाद्र १७

1.7K

– जीवन साशंकर
तस्करी भयो सुन
तस्कर, लुटेरा र भ्रष्ट भए मान्छेहरू
तर
कस्को भोक मेट्न आयो सुन ?
कस्को इज्जत ढाक्न आयो सुन ?
न त भोक मेट्न त्यो आएको छ कसैको
न त प्राण रोक्न नै त्यो आएको छ ।
हो
कसैको इज्जत छोप्न त्यो अवश्य आएन
गरिबको औँला
मजदुरको गर्धन
जन बनियारको शिर र पाउ देख्दै नदेख्ने सुन
आएको आएकै छ
ल्याएको ल्याएकै छ
बिचरा भरिया फसेको छ
बचेको छ अरनिया खटनिया
तर जनताको नजरबाट
फसेकै पो देख्छु उस्लाई पनि म
अचेल पहेँलो कारोबारले कालो पोतेको छ
देशद्रोहीको कालो
बाध्यता छ उस्लाई पनि
किनभने ’स्वर्ण’
दानमा चाहिएको छ ’बाजे’लाई
जलहरिमा नाम लेखाउन चाहिएको छ ’बा’लाई
अनिवार्य छ सतो–सत्य धरोधर्म
मर्दा सुन
जन्मिदा सुन
व्रतबन्ध र गुन्यु चोली
सम्धेलो र ढोगभेट
इन्गेजमेन्ट र बिहेको त कुरै छोडौँ
दुलहीलाई सुन लगाएको हो कि सुनमा दुलही बसेकी
छुटाउनै मुस्किल भा’छ
यस्तो बेला सबै सबैको जोड्ने र फुकाउने
’सुन’ नै त भा’छ ।
कस्तो गजब !
करोडौँको पाप पखाल्ने क्षमता पनि लाखको सुनमा छ
हजारौँ बस्तीमा अछुतबाट चोख्याउने जिम्मा
बाजे सुनकै हातमा दिन्छन् ।
आमा/बालाई ’स्वर्ग’ पठाउन होस या
स्वर्ग पुगेको भनिएका बा÷आमाका लागि पठाउन होस
काज क्रिया, बरखी र श्राद्धमा
‘आमालाई डेलिभरी दिने बाजे’लाई चाहिएको छ ‘सुन’।
मुर्दाको मुखमा हाल्न
स्वर्गको पुल बसाल्न
साथीलाई ढाडस देखाउन
छिमेकीलाई सेखी गर्न
सबैलाइ चाहिएको छ सुन
यत्रतत्र सर्वत्र सुन
सुनै सुन सुनै सुन
ल्याउने बोक्ने बोकाउने सबै बिचरा घुन जस्तो देख्छु घुन मात्र घुन
स्वर्णमय विकृत संस्कृति र त्यसका प्रतिपादक
कर्मकाण्डी ढोँगी कथित गुरु पुरोहित
वास्तवमा अपराधी हुन
हो, यो बेकामे ’सुन’लाई सबैतिर अनिवार्य गर्ने
’सुन संस्कृति’का प्रतिपादक नै वास्तवमा अपराधी हुन।