September 12, 2024, Thursday
२०८१ भाद्र २८
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
रकमराज तामाङ

तनहुँमा नागरिकताभन्दा बढी राहदानी वितरण

२०८१ श्रावण २४

112

तनहुँ जिल्लामा एक वर्षको अवधिमा नागरिकताभन्दा बढी राहदानी वितरण भएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा १५ हजार सात सय ७७ राहदानी वितरण गरेको छ ।

राहदानी लिनेमध्ये छ हजार सात सय ३४ महिला र नौ हजार ५३ पुरुष रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए । उनका अनुसार सोही अवधिमा १६ हजार सात सय ४३ राहदानी सिफारिस गरिएको छ ।

कार्यालयले एक वर्षको अवधिमा आठ हजार नौ सय ५५ नागरिकता वितरण गरेको छ । तीमध्ये वंशजको आधारमा आठ हजार नौ सय ४६ र वैवाहिक अङ्गीकृतको आधारमा नौ जनालाई नागरिकता वितरण गरिएको छ । नागरिकता प्राप्त गर्नेमध्ये चार हजार सात सय २८ महिला र चार हजार दुई सय २६ पुरुष छन् ।

यसैगरी, सात हजार छ सय ६१ जनालाई नागरिकताको प्रतिलिपि र ४३ जनालाई गैरआवासीय नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ । साथै सोही अवधिमा नौ महिला र १९ पुरुष गरी २८ जनाको नागरिकता रद्द गरिएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए ।

वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये गण्डकी प्रदेशमा तनहुँ उच्च भएकाले पनि नागरिकताभन्दा बढी राहदानी वितरण भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । कार्यालयले संस्था दर्ताबाट १० लाख ३० हजार, हातहतियारबाट छ लाख एक हजार, राहदानी दस्तुरबाट आठ करोड ४६ लाख ५३ हजार, न्यायिक दण्ड जरिवानाबाट ११ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।