September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

रुकुमपश्चिम नरसंहारको मुद्धामा आजको बहस सकियो, भोलिबाट निरन्तर सुनुवाइ हुने

२०८० मंसिर १७

942

काठमाडौंः रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ स्थित सोती गाउँमा अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा अन्तिम सुनुवाइ सुरू भएको छ । तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछुतको मुद्धामाथि रूकुमपश्चिमका जिल्ला न्यायधीश खड्गबहादुर केसीको इजलासमा आइतबारदेखि अन्तिम सुनुवाइ सुरू भएको हो ।

सो मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाइ हुने जिल्ला अदालत रूकुम पश्चिमका सूचना अधिकारी गोविन्द कोइरालाले बताए । ‘वादी र प्रतिवादीसमेत गरी अहिलेसम्म २४ जना वकिलहरूले बहस गर्ने सूची छ । मुद्दाको फैसला आउन केही दिन लाग्न सक्छ,’ उनले भने ।

अधिवक्ता यमकुमारी ददेलका अनुसार आज वादीका तर्फबाट जिल्ला न्यायधिवक्ता चन्द्रबहादुर सिंजालीको नेतृत्वमा सहायक न्यायधिवक्ता राजेन्द्र रेग्मी, अधिवक्ता मोहन शाशंकर, कुञ्जनी परियार, राम शर्मा, भोजराज आचार्य,शिव सुनार तथा वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र हरि सुवेदीले बहस गरेका छन् । उनका अनुसार वादीका तर्फबाट सोमबार भने अधिवक्ताहरु यमकुमारी ददेल, श्याम विश्वकर्मा, गणेश बराईली, गोपाल विक र जिल्ला सरकारी वकिल कार्यालय जाजरकोट र सुर्खेतका वकिलहरुलेसमेत बहस गर्ने तालिका रहेको छ । त्यस्तै, प्रतिवादीकातर्फबाट पनि आठ जना वकिलले बहस गर्ने अदालतले जनाएको छ ।

अदालतभित्र मुद्दामा अन्तिम सुनुवाइ सुरू भइरहँदा अदालत बाहिर भने पीडित परिवार, दलित अधिकारकर्मी तथा विभिन्न संघसंस्थाहरूले न्याय माग्दै धर्ना सुरू गरेका छन् । शनिबार रातिदेखि नै अदालत परिसर पुगेका पीडित परिवार र अधिकारकर्मीहरूले आइतबार बिहानैदेखि अदालतको गेटमा धर्ना दिएका छन् । त्यसक्रममा उनीहरूले नाराबाजीसमेत गरेका थिए । पीडितहरुको धर्नामा जात व्यवस्था उन्मूलन मोर्चाका अध्यक्ष मण्डलका सदस्य प्रेम गैह्रे लगायत मोर्चाका नेता तथा कार्यकर्ताहरुले उपस्थिति जनाएर साथ दिएका थिए भने दलित अभियन्ताहरु अम्बेडकरवादी मनोज जैगडी, खगेन्द्र सुनार लगायतका अभियन्ता तथा अधिकारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।

२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोतीगाउँमा पुगेका थिए । त्यहीबेला उनीहरूमाथि सोती गाउँका स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराज विकसहित ६ जनाको ज्यान गएको थियो भने अरू १२ जना घाइते भएका थिए । मृत्यु भएका नवराज विकसहित उनका साथीहरूको शव दुई हप्तासम्म लगाएर भेरी नदी किनारबाट संकलन गरिएको थियो ।

उक्त घटनामा नवराज विकसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टिकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीले ज्यान गुमाएका थिए । नवराजका बुवा मुनलाल नेपालीको जाहेरीका आधारमा सो घटनामा चौरजहारी–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्धा चलेको छ । उनीहरूमध्ये ११ जना तारेखमा छुटेका थिए भने २३ जना पुर्पक्षकालागि कारागार चलान भएका थिए । सो घटना लगत्तै रूकुम पश्चिमका सङ्घीय सांसद जनार्दन शर्माले संसद बैठकमै कुरा राख्दै पीडकहरूलाई बचाऊ गर्ने गरी दिएको अभिव्यक्ति विवादास्पदसमेत बनेको थियो । सो घटनाबारे छानविन गर्न नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको नेतृत्वमा संसदीय समिति गठन गरी प्रतिवेदन पेश भएता पनि उक्त प्रतिवेदन सरकारले हालसम्म सार्वजनिक गरेको छैन । संसदीय समितिले सोती घटनामा योजनाबद्धरूपमा हत्या भएको निष्कर्ष निकालेको थियो ।