September 5, 2024, Thursday
२०८१ भाद्र २०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

भौतिकवादी समाजको आवश्यकता

२०८१ असार १४

1.7K

सन् १९३१ मा बेल्जियन खगोलविद् तथा अन्तरिक्ष (ब्रह्माण्ड) अध्ययनकर्ता जर्ज लेम्याईटेले ब्रम्हाण्डको सुरुवात सम्बन्धी महाविस्फोट सिद्धान्त अवधारणा अघि सारे । जस अनुसार यो ब्रह्माण्ड अति सघन (एक प्रोटोन भन्दा सानो) थियो र करिब १३.७ अरब वर्ष पहिले यसमा भएको विष्फोटका कारण त्यसमा रहेको प्रत्येक कण फैलियो, फलस्वरूप ब्रह्माण्डको सृष्टि भयो । यस विष्फोटमा धेरै ऊर्जा निस्किएको थियो । यो ऊर्जा यति धेरै थियोकि जसका कारण आजसम्म पनि ब्रह्माण्डको विस्तार भइरहेको छ । सबै भौतिक अवधारणाहरू यस एकल घटनाद्वारा परिभाषित गरिएको छ, जसलाई बिग ब्याङ्ग सिद्धान्त भनिन्छ ।

Big Bang नामक यस महाविस्फोट धमाकाको मात्र १.४३ सेकेन्डको अन्तरालपछि समय र अन्तरिक्षको वर्तमान मान्यताहरू अस्तित्वमा आएको थियो । १.३४ सेकेन्डमा, ब्रह्माण्ड १० को पावर ३० गुणा फैलिएको थियो र क्वार्क, लेप्टन र फोटनहरूको तातो पिण्ड बनिसकेको थियो । १.४ सेकेन्डमा, क्वार्कहरू मिलेर प्रोटोन र न्युट्रोन बनेका थिए । ब्रह्माण्ड अब केही हदसम्म चिसो भइसकेको थियो । हाइड्रोजन, हिलियम आदिको अस्तित्व सुरु हुन थालेको थियो र अन्य भौतिक तत्वहरू बन्न थालेका थिए ।

आधुनिक भौतिकशास्त्रमा महाविस्फोट सिद्धान्त सुरुवातको इतिहास जर्ज लेम्याईट्रेले लेखेका हुन् । लेम्याईट्रे एक रोमन क्याथोलिक पादरी तथा वैज्ञानिक थिए । उनको यो सिद्धान्त अल्बर्ट आइन्स्टाइनको प्रसिद्ध सामान्य सापेक्षतावादको सिद्धान्तमा आधारित थियो । एडविन हबलले सन् १९२९ मा सबै आकाशगंगाहरू एक–अर्काबाट टाढा हुँदै गइरहेको खुलासा गरेका थिए । बिग ब्याङ्ग सिद्धान्त दुई मुख्य मान्यतामा आधारित छ । पहिलो, भौतिक नियम र दोस्रो, ब्रह्माण्डको सिद्धान्त । ब्रह्माण्डको सिद्धान्त अनुसार ब्रह्माण्ड एकरूप र समस्थानिक (Isotropic) छ । सन् १९६४ मा बेलायती वैज्ञानिक पिटर हिग्सले महाविस्फोट पछि एक सेकेन्डको अरबौं भागमा ब्रह्माण्डको द्रव्यको द्रव्यमानको सिद्धान्त प्रतिपादन गरे, जुन भारतीय वैज्ञानिक सत्येन्द्र नाथ बोसको बोसन सिद्धान्तमा आधारित थियो । यसलाई पछि हिग्स–बोसन भनिन्थ्यो । यस सिद्धान्तले ब्रह्माण्डको उत्पत्तिको रहस्य पत्ता लगायो साथै यसको स्वरूप र प्रकृतिलाई परिभाषित गर्न मद्दत गर्‍यो ।

पृथ्वीको उत्पत्ति आजभन्दा लगभग ४.६ अरब वर्ष पहिले भएको हो भन्ने तथ्य वैज्ञानिकहरूले चट्टानको अध्ययनबाट पुष्टि गरेका छन् । तर, कसरी उत्पत्ति भयो भन्नेमा वैज्ञानिकहरू अझै एकमत छैनन् । यसबारे उनीहरूका आआफ्नै परिकल्पना छन् । सौर्य परिवार उत्पत्तिका धेरै नमुनामध्ये पछिल्लो र धेरैले विश्वास गरेको नमुना हो– ‘केन्द्र विस्तार नमुना’ यो नमुना अनुसार ४.६ अरब वर्ष पहिले सौर्य परिवार धुलो र ग्याँसको एउटा बादल थियो । बिस्तारै उक्त बादलको गुरुत्व बलले गर्दा थप धुलो थुप्रदैँ गयो र आफैंमा त्यो पिण्ड घुम्न थाल्यो । अन्ततः त्यही पिण्ड सूर्यमा परिवर्तन भयो ।

सूर्यको जन्म भइसकेपछि गह्रौं कणहरूलाई छोड्दै हलुका ग्याँसहरू जस्तैः हाइड्रोजन, हिलियम सौर्य वायुले गर्दा टाढाटाढा पुगे । छोडिएका कणहरू एकत्रित हुँदै जाँदा ग्रहहरू बने । यसरी नै ग्रहहरूमध्येको एउटा ग्रह पृथ्वी बन्यो । टाढा पुगेका हलुका तत्त्वहरूबाट क्षुद्र ग्रह, पुच्छ्रे तारा र उपग्रहहरू बने । पृथ्वी बन्दै गर्दा पृथ्वीको केन्द्र भागमा गह्रौं पदार्थहरू जम्मा भए भने हलुका पदार्थहरूले पृथ्वीको बाहिरी तह निर्माण भयो । अत्याधिक चापका कारण पृथ्वीको सतह मुनि गह्रौं तत्त्वहरू अर्धतरल अवस्थामा बग्न थाले । यसले गर्दा उक्त अर्धतरल पदार्थको सतहमा तैरिरहेका ठूला चट्टानहरूबीच टकराव पैदा भयो । फलस्वरूप पहाडहरू बने, कतिपय अवस्थामा ज्वालामुखी पनि विस्फोट भए । ज्वालामुखी विस्फोट हुँदा धेरै ग्याँस बाहिर निस्कियो । पृथ्वीको गुरुत्वले केही ग्याँस कब्जा गर्‍यो । त्यसरी कब्जा भएको ग्याँसबाटै वायुमण्डल बन्यो ।

कल्पनाशीलतामा आधारित भएर मानवले विभिन्न मिथकहरु र कथाहरुको निर्माण गर्न सक्यो । वस्तुगत रुपमा कतै नभेटिने तिनै मिथकहरु जस्तै धर्म, पैसा, राज्य, ठूला कर्पोरेशन, संविधान, मानव अधिकार समयक्रममा यत्ति शक्तिशाली भइदियोकि त्यसमा ठूलो संख्यामा मानवहरुले विश्वास गर्न थाले ।

सूर्य र त्यसपछि पृथ्वी भर्खरै जन्मेका बेला थुप्रै पुच्छ्रे ताराहरू पृथ्वीको वरिपरि घुम्दै थिए । पुच्छ्रे ताराहरू बरफ र ग्याँसबाट बनेकाले जब तीमध्येका कुनै पुच्छ्रे ताराहरू कुनै बखत पृथ्वीसँग ठोकिन पुगे त्यत्तिबेला पृथ्वीमा पानी जम्मा भयो ।  अहिले पृथ्वीको भविष्य र यहाँ रहेका करिब ८७ लाख प्रजातिको अस्तित्व यहाँ पाइने एउटा प्रजातिको निर्णयमा कैद छ । मात्रै एक लाख वर्ष अघि अफ्रिकाको जंगलमा आफ्नो अस्तित्व रक्षाको लागि संघर्षरत उक्त प्रजाति अर्थात् मानव (वैज्ञानिक नाम होमो सेपियन्स् homo sapiens ल्याटिन शब्दको अर्थ बुद्धिमान व्यक्ति) यति छोटो समयमै कसरी विश्वविजेता बन्न सफल भयो ? क्रमिक विकासको तिथिमितिमा एक लाख वर्ष भनेको निकै छोटो समय हो । किनभने पृथ्वीको उत्पत्ति भएको नै ४ अर्ब ६० करोड वर्ष भइसक्यो ।

पृथ्वीमा पहिलो एक कोषीय जीव ३ अर्ब ८० करोड वर्ष अघि, बहुकोषीय जीव २ अर्ब १० करोड वर्षअघि, स्तनधारी प्राणी ६ करोड ३० लाख वर्ष अघि र मनुष्य जाति एप्स (apes) २ करोड वर्षअघि देखा परेका थिए । मानव जाति चिम्पाञ्जीसँग छुट्टिई भिन्न भएको नै ६० लाख वर्ष पुगिसकेको छ र आधुनिक मानव प्रजातिसँग मिल्ने प्राचीन मानव जातिहरु होमो (homo) २० लाख वर्षअघि देखि नै यस पृथ्वीमा पाइन थालेको हो । झन्डै २ लाख वर्षअघि यस पृथ्वीमा देखा परेको (अहिलेसम्म पाइएको सबैभन्दा पुरानो आधुनिक मानव अवशेष १ लाख ६० हजार वर्षअघिको छ) आधुनिक मानव अर्थात् हाम्रो प्रजाति होमो सेपियन्सले अघिल्लो एकलाख वर्ष प्रभाव र महत्वको हिसाबले निरीह भएर अन्य जीवहरुकै हैसियतमा बितायो –जन्मने, बाँच्नको लागि संघर्ष गर्ने, सन्तान उत्पादन गर्ने र मर्ने ।

करिब ७० देखि ३० हजार वर्ष यताका मानवहरु एकाएक एक अर्का बिच भाषागत संवाद गर्न सक्ने भए । त्यो कसरी सम्भव भयो ? धेरैको विश्वास छ, जैविक प्रकृयामा यदाकदा भईरहने अनुवांशिक उत्परिवर्तन (genetic mutation) का कारण । अनुवांशिक उत्परिवर्तनले मानव मस्तिष्कमा ल्याएको फेरबदलले गर्दा मानवले आफूले कहिल्यै नदेखेको, नसुनेको र नछोएको कुराको बारेमा सोच्न सक्ने भयो । अर्थात मानवमा कल्पनाशिलताको विकास र त्यसलाई संचार गर्नसक्ने क्षमताको विकास भयो । उक्त विकासक्रमलाई ह्यारीले संज्ञानात्मक क्रान्ति (cognitive revolution) को चरण भनेका छन् ।

त्यही कल्पनाशीलतामा आधारित भएर मानवले विभिन्न मिथकहरु र कथाहरुको निर्माण गर्न सक्यो । वस्तुगत रुपमा कतै नभेटिने तिनै मिथकहरु जस्तै धर्म, पैसा, राज्य, ठूला कर्पोरेशन, संविधान, मानव अधिकार समयक्रममा यत्ति शक्तिशाली भइदियोकि त्यसमा ठूलो संख्यामा मानवहरुले विश्वास गर्न थाले । त्यसले गर्दा अरबौं संख्या हुँदा पनि मानवहरुबिच एक अर्कामा लचिलो सहकार्य र सहयोग सम्भव भयो जुन अन्य प्रजातिमा सम्भव भएन । लाखौं, करोडौंको संख्याका मानवबिच सम्भव हुने सहकार्यको कारण एकल रुपमा अन्य जनावर भन्दा निरीह र कमजोर भएता पनि सामूहिक रुपमा मानव प्रजातिले विकासक्रममा सबैलाई पछि पारिदियो ।

एकआपसमा सहकार्य अन्य प्रजातिहरुमा पनि नहुने होइन । मौरी वा कमिलाले आफ्नो प्रजातिमा मिलेर काम गर्दछन् । चिम्पाञ्जी वा ब्वाँसोले आफ्नो समूहमा मिलेर सिकार गर्दछन् । तर, उनीहरु सीमित संख्यामा मात्रै मिलेर बस्दछन् । उनीहरुले पनि आफूमाथि आइलाग्ने खतराको सूचना एकआपसमा दिने गर्दछन् । संवाद गर्छन् । तर, त्यस्तो संवादमा वस्तुगत तथ्य मात्रै हुन्छ, मानव समाजको जस्तो कथा हुँदैन । चिम्पाञ्जीको संसारमा बाघ हुन्छ तर, लक्ष्मीको बहानको रुपमा हुँदैन । त्यहाँ मुसा भएता पनि त्यसमा कल्पनाको गणेश भगवान चढ्दैनन् । हरारीको शब्दमा, कामदार मौरीले मजदुर युनियन बनाउँदैनन् र रानी मौरीको विरुद्ध गणतन्त्रको माग पनि गर्दैनन् ।

उनीहरुको संसारमा सबैले विश्वास गर्ने खालको मिथक नभएको हुनाले मानव डीएनएसँग ९९ प्रतिशत मिल्ने डीएनए बोकेका चिम्पाञ्जीहरु ५० भन्दा बढी संख्यामा भएमा एक आपसमा लडाइँ गर्न थाल्दछन् । तर, अरबौं संख्यामा भए पनि मानवहरु एउटै धर्मको नियममा बाँधिएर बस्छन् । करोडौं संख्याका मानवहरु एउटै राज्यको नियम कानुन मानेर बस्छन्, आफूले मेहनत गरेर कमाएको पैसाको कर तिर्छन् । अन्य जनावरहरुको संसारमा पैसा अर्थहीन छ, तर विश्वभर भएका सबै मानवले पैसालाई औधी माया गर्छन् । धेरै मान्छेहरु मानवले गहुँ वा गाईलाई घरपालुवा बनायो भन्छन् त्यसो होइन, बरु गहुँ वा गाईले गर्दा मानव घरपालुवा भयो । हरारी तर्क गर्छन्, कृषि क्रान्ति मानव इतिहासको सबैभन्दा ठूलो धोका थियो । हरारी लेख्छन्, ओसामा बिन लादेनले अमेरिकी धर्म, संस्कृति र राजनीतिलाई असिम घृणा गर्दथे यद्यपि अमेरिकी डलरसँग भने उनको गाढा प्रेम थियो । हरारीको कथन छ, मानव निर्मित मिथकहरु राजा वा धर्म सबै ठाउँमा सफल भएनन् । तर, पैसा सफल भयो। पैसा मानव इतिहासको सबैभन्दा उन्नत आविष्कार हो, जसले गर्दा अपरिचित मानवबिच पनि विश्वास र सहकार्यको सम्बन्ध सम्भव भयो ।

रोचक कुरा धर्म, राज्य र पैसा सबै मान्छेले बनाएको भ्रम वा मिथक मात्रै हो, वस्तुगत यथार्थ होइनन् । वास्तविक संसारमा ती चिजहरुको भौतिक उपस्थिति कतै पनि छैन । धर्मका नाममा बनाइने मन्दिर वा मस्जिद वस्तुगत यथार्थ हो, त्यो भेटिन्छ । तर धर्म सिर्फ मानव मस्तिष्कको उपज हो । राष्ट्र वा राष्ट्रवाद हाम्रो कल्पनाको उपज हो । तर, त्योसँग जोडिएको भूगोल वा जनता वस्तुगत सत्य हो । त्यस्तै पैसा बनाइने कागज वा सिक्कामा प्रयोग हुने धातु वस्तुगत यथार्थ हो तर त्योसँगै जोडिएको मूल्य भने मानव निर्मित भ्रम वा विश्वास । हरारी अगाडि तर्क गर्छन्, मानव बाहेकका जनावरहरुको संसारमा एउटा मात्रै सत्य हुन्छ, वस्तुगत सत्य । तर, मानव समाजमा वस्तुगत सत्यसँगै काल्पनिक यथार्थ पनि हुन्छ र ठूलो संख्याका मानवले त्यसलाई मानेपछि त्यो कुरा भौतिक रुपमा नभए पनि अन्तर वस्तुगत सत्य बन्छ । आज कसैले पनि खोज्दा नभेटिने धर्म, राज्य, पैसा, मानवअधिकार, नियम कानुन जस्ता काल्पनिक कुरा छैनन् भन्दैनन् बरु सबैले तिनलाई विश्वास गर्छन् । यी मानव निर्मित अवधारणाहरु वस्तुगत यथार्थसँग यसरी जेलिएका छन् कि त्यसको अस्वीकार गर्ने अवस्था नै छैन ।

आजको ठोस विज्ञानका विविध धारा भौतिकशास्त्र, रसायनशास्त्र, जीवशास्त्र, खगोलशास्त्र लगायतको विकासको मुख्य आधार भने प्राचीन समयदेखि नै जगत, ब्रह्माण्ड, प्रकृतिको बोधगम्यता स्विकार्दै पदार्थको प्रधानतामा विविध कालखण्डमा संगठित अध्ययन प्रणाली विकास गरेको भौतिकवादी दर्शनशास्त्र हो ।

यस्तै भ्रमहरुको निरन्तर आविष्कार र प्रयोगले मानव प्रजातिलाई अन्य प्रजातिभन्दा फरक बनायो । हरारी भन्छन्, एक काइँयो केरा बोकेर बसेको चिम्पाञ्जीलाई अर्को चिम्पाञ्जीले पैसा दिन्छु, केरा देऊ भनेर फकाउँदा होस् या तिमीले बोकेको केरा ऊ त्यहाँको ढुंगामा लगेर नचढाएमा तिमी मरेपछि स्वर्ग जान पाउँदैनौं भनेर डरधम्की देखाउँदा होस्, उसले वास्ता नै गर्दैन । न त केरा नै दिन्छ । किनभने उसको नजरमा ढुंगा भनेको भौतिक वस्तु मात्रै हो । तर, मानवको अद्भुत क्षमता के भइदियो भने उसले प्रत्येक ढुंगामा कथा बुन्न सक्छ र आफूजस्तै अरुको विश्वास जितेर त्यसमा ढोगाउन, पुजाउन र ढुंगाका नाममा आफूसँग भएका प्रिय वस्तुहरुको त्याग गराउन सक्छ । कागजको टुक्रामा मूल्यको काल्पनिक विश्वास भरेर आफू जस्तै अरुलाई दिनभरी काममा जोताउन सक्छ । अपरिचित देश, फरक भाषा र संस्कृति भएको ठाँउमा गए पनि कागजको टुक्राको भरमा पेट पाल्न सक्छ, बाँच्न सक्छ । त्यही अद्भुत क्षमताका कारण पृथ्वीमा धेरै पछि आएको मानवले शहर बनायो, चिम्पाञ्जीले सकेनन् । त्यसैले त आज मानव निर्मित शहरको चिडियाखानामा मान्छेका मनोरञ्जनको साधन बनेर चिम्पाञ्जीहरु कैद भए । सायद एक लाख वर्षअघि त्यो कुरा कल्पनाभन्दा बाहिरको कुरा थियो, किनभने एकल चिम्पाञ्जी एकल मानवभन्दा कयौं गुणा शक्तिशाली हुन्छ ।

क्रमिक विकासको यस रोमाञ्चक यात्रामा मानवलाई यहाँसम्म ल्याउन सहयोग गर्ने दोश्रो ठूलो परिवर्तनकारी घटना लगभग ११ हजार वर्ष पहिले भयो (कतिपय वैज्ञानिकहरु यस मितिसँग असहमत छन्, नयाँ अध्ययनहरुका अनुसार मान्छेले कुकुर पाल्न थालेको १५ हजार वर्ष भइसक्यो) । मिति जे भए पनि मानिसहरु खेती गर्न सक्ने भए, जसलाई हरारीले कृषि क्रान्तिको चरण भनेका छन् । कृषि क्रान्तिसँगै पृथ्वीमा मानव प्रभाव बढ्न थाल्यो । खेती हुन थालेपछि खानाको आपूर्ति बढ्यो । त्योसँगै खानेमुखहरु बढे । यसरी मानव समाज आदिम समाज हुँदै दास युग, सामन्तवादी युग र पुँजीवादी चरणसम्ममा आईपुग्दा यो जगत, समाज, प्रकृति र समाजका घटनाक्रमबारे उत्पन्न जिज्ञासा अनुरुप नै ज्ञानको निर्माण गर्दै अघि बढिरहेको छ । जस अन्तर्गत आधुनिक विज्ञानको विकासले ब्रह्माण्ड र जगतको अस्तित्व पदार्थमा अन्तर्र्निहित रहेको कुरा पुष्टि गर्दछ भने मानव समाजको विकासको एउटा चरणमा धर्मको जन्म भएको विषय पनि पुष्टि गर्दछ ।

आजको ठोस विज्ञानका विविध धारा भौतिकशास्त्र, रसायनशास्त्र, जीवशास्त्र, खगोलशास्त्र लगायतको विकासको मुख्य आधार भने प्राचीन समयदेखि नै जगत, ब्रह्माण्ड, प्रकृतिको बोधगम्यता स्विकार्दै पदार्थको प्रधानतामा विविध कालखण्डमा संगठित अध्ययन प्रणाली विकास गरेको भौतिकवादी दर्शनशास्त्र हो । जसले मानवीय जिज्ञासा र प्रश्नहरुलाई निषेध गर्दैन र जगतका हरेक वस्तुको अस्तित्वलाई स्विकार गर्दछ र बोधगम्य मान्दछ । यही दार्शनिक प्रणाली र आधुनिक विज्ञान नै भौतिकवादी समाज निर्माणको मुख्य वैचारिक आधार हो ।

२०८० मंसिर २ मा आयोजित भौतिकवादी समाजको आवश्यकता विषयक गोष्ठी कार्यक्रममा भौतिकवादी समाजका केन्द्रीय सचिव सुवास पाण्डेद्वारा
प्रस्तुत कार्यपत्रको पहिलो अंश ।