July 18, 2024, Thursday
२०८१ श्रावण ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता
बहस

पुँजीवाद र महिलावाद

२०७८ फाल्गुन १५

512

करुणा पराजुली

पुँजीवादले हर क्षेत्र र आन्दोलनलाई आफू अनुकुल बनाउने प्रयत्नबाट महिलावादी आन्दोलन पनि अछुतो रहेन । महिलावाद र महिला सशक्तिकरणको विकाससँगै पुँजीवादी बजार व्यवस्थाले महिला आन्दोलनका मुद्दा मार्फत बजार कब्जा गर्ने रणनीति प्रयोग गर्यो । यसको एउटा उदाहरण हो, अमेरिकामा महिलाहरु माझ बढाइएको चुरोट व्यापार । यहाँ यस विषयामा छलफल गरिनेछ ।

युवतीहरुले चुरोटको सर्को तान्दै–“ओ फिल्स सो एम्पावर्ड, वी आर रिभोल्टिङ्” भन्दै खित्खिताएको धेरै ठाउँमा सुनिएको छ । चुरोट सेवनलाई महिला मुक्ति र समानताको रुपमा बहस गरेको पनि सुनिन्छ । यस सम्बन्धमा चुरोटको महिला मुक्तिसँग सम्बन्ध छ वा छैन होला ? यसबारे केही अध्ययन गरी अमेरिकी समाजमा चुरोटको अर्थ राजनीति र त्यहाँका चुरोट कम्पनीले आफ्नो उत्पादन बेच्न महिला आन्दोलनलाई गरेको प्रयोग र त्यसको हामी कहाँ गरिएको सिको यसमा सामेल गरिएको छ । पहिलो विश्वयुद्ध पश्चात अमेरिका र युरोपमा जब सिपाहीहरुको रासनमा नै चुरोट राखियो, धुम्रपान गर्ने पुरुषहरुको संख्या ह्वात्तै बढ्यो । यसरी चुरोटको कारोबार पुरुषबीच मात्र बढेको देखेपछि, अमेरिकन सुर्ती कम्पनीका अध्यक्ष जर्ज वाशिंटन हिलले सन् १९२८ मा स्मोकरको संख्या बढाएर मार्केट विस्तार गर्दै अझ नाफा कमाउने दाउ राखी एडवाड्र्स बर्नेसलाई मार्केटिङ अभियन्ता नियुक्त गरे । बर्नेस, आधुनिक पब्लिक रिलेसनका पिता, उनको दख्खल, प्रोपोगान्डा मार्फत शैन्य वा राजनैतिकभन्दा बढी आर्थिक नाफामा केन्द्रित थियो । चुरोटको कारोबार बढाउन, महिला एक आइडियल मार्केट हो भन्ने कुरा बर्नेसको दिमागमा भए पनि तत्कालिन समाजमा महिलाले सार्वजनिक स्थानमा चुरोट पिउनु बर्जित थियो । चुरोट पिउने महिलालाई चरित्रहिन वा वेश्याको संज्ञा दिइन्थ्यो । यस्तो अवस्थामा महिलामा चुरोट खाने बानी विकास गर्नु चुनौती नै थियो । तर यसै चुनौतीबीच अवसर लुकेको कुरा बर्नेसले बुझेका थिए । त्यो अवसर थियो सन १९२० को दशकमा चलिरहेको महिला समान मताधिकारको अभियान । यो सामाजिक (राजनीतिक परिवेशमा महिला समानता र स्वन्तत्रतालाई चुरोटसँग जोडेर प्रचार गर्दा चुरोट उपभोग महिलामा बढ्ने निष्कर्ष उनले निकाले । अनि त “टर्च अफ फ्रिडम” अर्थात स्वतन्त्रताको दियोको रुपमा महिलाले चुरोट पिउने अभियान सुत्रपात गरे ।

सन् १९२९ मा न्युयोर्क शहरको इस्टर आइतबारको परेडमा ‘टर्च अफ फ्रिडम’ अभियान सुरुवात गर्दा महिलाहरुको हातमा प्ले कार्ड नभई ‘लक्की स्ट्राइ’ नामका चुरोटका ठुटा थिए । बर्नेसको योजना अनुरुप महिलाहरुले चुरोट सल्काउँदै सडकमा हिंडे । संचार माध्यमलाई पहिले नै खबर गरिएको थियो, यस मार्चले देशब्यापी चर्चा बटुल्यो । यतिसम्म की चुरोट कम्पनीहरुले नियमित हलिउड कलाकारलाई चुरोट सप्लाई गर्न थाले र आफ्ना विज्ञापनमा समर्थन गर्न पैसा तिरे । ‘फिलिप मोरिस’ नामक चुरोट कम्पनीले त विभिन्न राज्यमा महिलाले कसरी शानका साथ चुरोट पिउने भन्ने ‘लेक्चर टुर’ नै सञ्चालन गर्यो । यो मार्च कुनै हिसाबले पनि महिला समानताका लागि थिएन, यो त सस्तो मूल्यमा तिब्ररुपले आफ्नो चुरोटको धेरै भन्दा धेरै मानिसमा पुग्ने प्रचारको एउटा योजना थियो ।

चुरोट र रक्सी पिउनु वा नपिउनु नित्तान्त व्यक्तिको रोजाइको विषय हुनसक्छ । महिला होस वा पुरुष, पुरुषले पिउदा स्वीकार्य तर महिलाले पिउदा घृणा गर्नु, दोहोरो मापदण्ड हो, जुन गलत छ । तर महिला आन्दोलनमा चुरोट र रक्सीको प्रभावकारी भूमिका देख्नु, पुँजीवादी कम्पनीहरुले वस्तुकारण गरेको ‘टर्च अफ फ्रिडम’, ‘हियर टु अस’ जस्ता उदारवादी मुद्दालाई प्रोत्साहन गर्नु मात्र हो ।

समानताको कोणवाट हेर्दा पुरुषसरह महिलाले पनि समानरुपमा चुरोट पिउने देखाइयो तर वास्तवमा यो अभियानको उद्देश्य चुरोटको विक्रीलाई दोब्बर गराउनु नै थियो । फलत उक्त कम्पनीको चुरोट विक्री दुई सय प्रतिशतले वृद्धि भयो र दुई वर्षसम्म सो कम्पनी बेस्ट सेलिङ ब्रान्ड बन्यो । यसबारे बर्नेसले आफ्नो १९६५ को बायोग्राफी अफ एन आइडियामा ‘टर्च अफ फ्रिडम’ सुरु भएपछि कम्पनीका मालिक हिलले स्वतन्त्रताको नारामा महिलाहरु चुरोट पिउन आकर्षित हुँदै आफ्नो कम्पनीको चुरोटको बिक्री बढ्नु, आफ्नो कम्पनीको लागि बगैचामा सुनखानी खोले सरह भएको अभिव्यक्ती दिएको कुरा उल्लेख गरेका छन । बर्नेसले महिलामाझ चुरोटको बिक्री बढाउन सुरु गरेको समानताको नारा अन्य चुरोट कम्पनीले सिको गर्दै आफ्ना चुरोटका प्रचार महिला लक्षित गर्न थाले । यसरी चुरोट कम्पनीले आफ्नो फाइदाका लागि चुरोटलाई नै महिला स्वन्तत्रताको प्रतिकको मान्यता स्थापित गर्ने लागे । सन १९३० देखि १९६० सम्म अमेरिकी बजारमा एकातिर चुरोटको बिक्री बढ्दै थियो भने अर्काे तिर चिकित्सा क्षेत्रमा धुम्रपानले स्वास्थ्यमा पार्ने असर बारे तिब्र बहस । सन १९६४ अमेरिकी केन्द्रिय सरकारको सार्वजनिक स्वास्थ्य सम्बन्धी प्रवक्ता सर्जन जनरलको रिपोर्टले यो बहसलाई झनै उत्कर्षमा पु¥यायो । यसले पहिलो पटक धुम्रपानले मानव स्वास्थ्यमा क्यान्सर, मुटुका रोग जस्ता अन्य नकारात्मक असर निम्त्याउने तथ्य सार्वजनिक गर्यो । सरकारी स्तरमा जनस्वास्थ्य सम्बन्धी यस्तो गम्भिर रिपोर्ट आएपछि चुरोट कम्पनीहरुले चुरोटको व्यापार ओरालो लाग्ने खतराको पूर्व आंकलन गरेर तुरुन्तै १९६०को दशकमा चलिरहेको ‘सेकेन्ड वेभ अफ फेमिनिज्म’को नामले परिचित महिला आन्दोलनको सहायता लिने जुक्ती निकाले । सेकेन्ड वेभ अन्तर्गत महिलाहरुमाथि हुने सांस्कृतिक तथा राजनीतिक विभेद बिरुद्ध विभिन्न गतिविधी हुँदै थियो । वुमन लिबेरेसनको नाममा एकातिर महिलाका प्रजनन स्वास्थ्य सम्बन्धी अधिकार, गर्भनिरोधक साधनको सर्वसुलभ पहुँचको नारा घन्किदै थियो भने अर्कातिर यस आन्दोलन ‘बेबी ब्लुमर्स’ जस्ता धनी र संभ्रान्त वर्गका अमेरिकन युवाको हालिमुहाली भएकोले वर्गीय पक्षधरता नभएको आन्दोलनका रुपमा अगाडि बढ्दै थियो । यस्तो विरोधबीच सेकेण्ड वेभको, ब्रा जलाउ अभियान, गर्भपतन सम्बन्धी अधिकारसंगै समाज र बजार पितृसत्तामक रहेको विषयले विश्वव्यापी रुपमा ध्यान खिचिरहेको थियो ।

बजारमा जे बिक्छ, त्यो बेच्नुपर्छ भन्ने मुख्य नारा बोक्ने पुँजीवादी मान्यताका अमेरिकी चुरोट कम्पनीले अब आफ्ना सबै प्रोडक्ट बेच्दा, बजारमा चलिरहेको कोमन लिबेरेसनसँग संगतिपूर्ण हुनैपर्ने थियो । तसर्थ भर्जिनीया स्लिम्स नामक ब्राण्डले महिला केन्द्रित भर्जिनीया स्लिम्स अल्ट्रा लाईट्स र भर्जिनीया सुपरस्लिम्स नै उत्पादन गयो । यी चुरोटको प्रचार गर्ने क्रममा सो ब्राण्डले यस्तो बिज्ञापन तयार गर्यो, जसले अमेरिकी बजारमा तहल्का पिट्यो । बिज्ञापनको सुरुवातमा एक दमित महिला देखाइयो र बिस्तारै उक्त चुरोटको सेवनले महिला शहरीया, सभ्य, स्वतन्त्र र आत्मनिर्भर भएको देखाइयो । यसै बिज्ञापनमा एउटा कथा भनियो, एउटा समय थियो जब महिलाहरुको समान अधिकार थिएन, मताधिकार र आफ्नो श्रमको ज्याला पाउदैन थिए । त्यो यस्तो समय थियो जतिबेला महिलाले एक खिल्ली चुरोट पिउन पनि दुव्र्यसनीको पछि लाग्नुपथ्र्यो । तर अहिले नारीहरुले त्यो समय पार गरेर नयाँ यात्रा तय गरेका छन । अब भर्जिनिया आयो, अर्थात महिलाको आफ्नै चुरोट आयो । प्रचार मात्र होइन, सन १९७३ ताका महिला खेलाडीहरुको खेल टुरमा आर्थिक सहयोग नै गर्यो उक्त ब्राण्डले । त्यो बेला अमेरिकामा महिला र पुरुष टेनिस खेलाडीबीच पारिश्रमिक र पुरस्कारमा गरिने विभेद बिरुद्ध, बिल्ली जिन किड् (अमेरिकी महिला टेनिस एसोसिएसनकी संस्थापक) को नेतृत्वमा सो संस्थाका महिला खेलाडीहरु बिरोध गरिरहेका थिए । पुरुषसरह आफुहरु खेल्न र कमाउन सक्ने क्षमता देखाउन ती महिलाहरु विश्वव्यापी टुर गर्न चाहन्थे । तर यस्तो टुर गर्न उनीहरुसँग पर्याप्त रकम थिएन । एकातिर यी महिला खेलाडीहरु प्रायोजक खोजिरहेका थिए । अर्काेतिर टुरमा लगानी गर्दा संसारभर सजिलै प्रचार पनि हुने र महिला खेलाडीको मुद्दामा साथ दिंदा धेरै महिलाको समर्थन पाइने योजना बनाएको भर्जिनिया स्लिम्स । अन्ततः उसले टुर प्रायोजन गर्ने भयो । सो टुरलाई ‘भर्जिनिया स्लिम्स सर्किट’ नामाकारण गरियो । उक्त ब्राण्डले चलाखीपूर्ण ढङ्गले टुर प्रायोजन गरी महिला खेलाडीलाई चुरोटले, स्वस्थ बनाउँछ भन्ने गलत सन्देश दिएको भनी स्ट्यान्फोर्ड विश्वविद्यालयलले आलोचना गरेको थियो ।

१९९० सम्म त यस्ता गतिविधिले भर्जिनिया स्लिम्सको व्यापारमा टेवा पुन्ययो तर १९९० पछि युवा महिलाहरुले यी चुरोटको सट्टा काप्री र ‘मिस्टी’ नामक चुरोट सेवन गर्न थाले । यसरी एकाएक व्यापार घाटा व्यहोरेको भर्जिनिया स्लिम्स बनाउने फिलिप मोरिस कम्पनीले बजारमा किन अन्य ब्राण्ड महिलाको रोजाइमा पन्यो ? भन्ने सर्वेक्षण गन्यो । भर्जिनीया स्लिम्सको स्लोगनले १९६० दशकका महिला प्रतिबिम्बित गर्ने तर १९९० दशकका युवतीको व्यक्तिगत परिचय, जब हन्टका संघर्ष र साथीहरुसँग अनुभुत हुने युवापन प्रतिनिधित्व नगर्ने कुरा सर्वेक्षण मार्फत प्रयोगकर्ताले बताए । युवा महिलाहरुको निश्कर्ष थियो, यो चुरोटको नारा आउटडेटेड भएको र थर्ड वेभ फेमिनिज्मको प्रतिक बन्न सकेन । प्रयोगकर्ताका यस्ता अभिव्यक्तिबाट कर्पोरेटका विज्ञापन र प्रचारले कसरी सामाजिक इमेज बन्छ र उपभोक्तावादी संस्कार निर्माण हुन्छ भन्ने स्पष्ट हुन्छ । चुरोटबाट कसरी मानव स्वास्थ्य खस्किदै छ भन्ने अध्ययनबाट तयार द सिगरेट सेन्चुरीका लेखक प्रोफेसर आलन ब्रान्ट भन्छन, ‘पछिल्ला केही दशकको समिक्षा गर्दा नयाँ राजनीतिक, आर्थिक, सामाजिक परिवेश बन्दै गरेका देशमा चुरोट कम्पनीहरुले चुरोटलाई स्वतन्त्रता र प्रगतिको पासपोर्ट स्वरुप प्रचार गरिरहेका छन् ।’

हुन पनि १९९० उदारीकरण नीति अभ्यासको फाइदा लिन , चुरोट कम्पनीले विकसितबाट विकासोन्मुख र अविकसित मुलुकतिर डेरा जमाउन थाले । यस्तै उदाहरण हो साउथ अफ्रीका त्यहाँ चलिरहेको ‘अपार्टहेर्ट’ (रङभेद) बिरुद्दको आन्दोलनलाई पनि चुरोट कम्पनीले प्रयोग गरे । आफ्ना विज्ञापनमा काला महिलाले गोरा पुरुषको हातबाट चुरोट खोसेको देखाइयो । यसको सन्देश थियो, काला महिलाले चुरोट पिएर उक्त रङ्गभेद बिरुद्ध आन्दोलनमा समाहित हुने ।

चुरोट कम्पनी र यसको मार्केटिङ शैलीको बेलायती अध्येता आमान्ड आमोस र मार्गरथा हग्लुन्डका अनुसार, चुरोट कम्पनीको आक्रामक प्रचारको प्रभाव एसीयन मुलुकहरुमा प¥यो । भारतीय चुरोट कम्पनीले त अमेरिकी सिको गर्दै, पाइन्ट, टी–सर्टमा चुरोट पिएको महिला देखाउँदै, पश्चिमका महिला जस्तै स्वतन्त्र हुन चुरोट पिउनुपर्ने विज्ञापन र होर्डिङ बोर्ड प्रयोग गरे । कतिपय बलिउड फिल्ममा चुरोटलाई महिला मुक्तिको सम्वाहक देखाएको पाइन्छ । यस्तै फिल्म मध्यको एक हो ‘लिपिस्टक अन्डर माइ बुर्का’ । फिल्मको क्लाइमेक्स सिनमा चार जना महिला पात्र बसी चुरोट तान्छन् । महिलावादी धार बोकेको भनी दाबी गरिएको यस्तो फिल्ममा महिला स्वन्तत्रतालाई चुरोट पिएर बिम्बित गर्नाले पनि चुरोट र महिला समानता पर्यायवाची हुन कि भन्ने गलत मनोविज्ञान समाजमा निर्माण हुँदैछ । ग्लोबलाईजेसनले ब्रम्हाण्डै साँगुरो बनाएको बेला, विश्वव्यापी आन्दोलन त्यसमा पनि भारतीय फिल्मका पारखी हामी नेपालीमाझ यी दुवैको प्रभाव हाम्रो समाजमा देखिनु अप्राकृतिक कुरो होइन । तथ्यांक कै कुरा गर्ने हो भने विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार चुरोट सेवन गर्ने महिलाको संख्या साउथ एसियामा प्रतिशतको हिसाबमा नेपाल अगाडि छ ।

यसैलाई मानक मान्दा त लैङ्गिक समानताको इन्डेक्समा सबै साउथ एसियाली देशभन्दा नेपाल अव्बल हुनुपर्नेमा किन अन्तिम तीनमा पर्छ त ? ठुला कर्पाेरेशनले धुम्रपान मात्र होइन रक्सीजन्य पदार्थको उपभोग बढाउन महिला सशक्तिकरणको नारालाई प्रयोग गरे । यसको उदाहरण हो, १९९० मा महिला लक्षित ‘लो कार्बोन कन्टेन्ट’ भन्दै उत्पादन सुरु गरिएको रक्सीका ब्राण्ड । हेलवुड अन्तर्राष्ट्रिय नामक बेलायती कम्पनीले व्याम्बिनी ब्राण्डमा ‘स्कीनी ओरिजिनल’, ‘कम क्यालोरी’ महिलाको लागि एक मात्र विकल्प छ भनी मार्केटिंग गरेको थियो । यस्ता उत्पादनहरूको मार्केटिङ स्टन्ट नै महिला आफ्नो फिगरवारे चिन्तित हुन्छन् तसर्थ कम क्यालोरीको रक्सी पिउँदा फिगरको चिन्ता गर्नुपर्दैन भन्ने स्टेरियोटाइप सोच विकसित गर्ने हो । यस्ता प्रचार शैलीमा मदिरालाई महिलाको बौद्धिकता उकास्ने, महिला सशक्तिकरण गर्ने र महिला मित्रता घनिष्ट पार्ने वस्तुको रुपमा प्रस्तुत गरिन्छ । यस्तो प्रचार शैली नौलो नभई ६० को दशकमा सुर्ती उद्योगले महिलाको लिबरेशन आन्दोलनको मुद्दा समातेर महिला सशक्त हुने संदेश दिन खोजेको नक्कल हो भन्छिन् ‘फेमिनिज्म अफ अल्कोहल मार्केटिंग’ अध्ययन गर्दै ग्लासगो क्यालेडोनियन युनिभर्सिटीको स्कूल अफ हेल्थ एण्ड लाइफ साइन्सेजमा पदार्थ प्रयोग तथा दुरुपयोगको प्राध्यापक–क्यारल एम्स्ली ।

यस्तै भर्जिनिया स्लिम्स सिगरेटले ‘यु ह्याब कम अ लङ्ग वे बेबी’ भन्ने नारा बोकी लिबरेसन आन्दोलनमा भएका महिलालाई आकर्षित गर्न खोजेको थियो । क्लारा जेट्किनको नेतृत्वमा श्रमजीबी महिलाहरुले सुरु गरेको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज युएन लगायत विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाइन्छ । रोचक कुरा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने नाममा चुरोट रक्सी कम्पनीले विभिन्न इभेन्टस् प्रायोजन गरिरहेका हुन्छन । वाशिंगटनको एक मदिरा पसलमा १००० बोतल वाइन प्रत्येकलाई एक पेनीमा बिक्री, बेले कम्पनीको महिला मित्रता घनिष्ट गर्ने ‘हियर टु अस’ महिलाले महिलाको लागि तयार गरेको भनी बकार्डी कम्पनीको नयाँ भोड्का उत्पादन गर्दै लैंगिक समानताको नारालाई प्रयोग गरेका छन् ।

यो त जगजाहेर छ । चुरोट र रक्सी पिउनु वा नपिउनु नित्तान्त व्यक्तिको रोजाइको विषय हुनसक्छ । महिला होस वा पुरुष, पुरुषले पिउदा स्वीकार्य तर महिलाले पिउदा घृणा गर्नु, दोहोरो मापदण्ड हो, जुन गलत छ । तर महिला आन्दोलनमा चुरोट र रक्सीको प्रभावकारी भूमिका देख्नु, पुँजीवादी कम्पनीहरुले वस्तुकारण गरेको ‘टर्च अफ फ्रिडम’, ‘हियर टु अस’ जस्ता उदारवादी मुद्दालाई प्रोत्साहन गर्नु मात्र हो । पुँजीवादी युग प्रवेशसंगै महिलाहरु घरेलु काममा मात्र सिमित रहेनन् । महिलाहरु विभिन्न सामाजिक राजनीतिक–आर्थिक क्षेत्रमा प्रवेश गरे । व्यापारिकरणको प्रभावमा महिलाहरु कामको शिलशिलामा देश विदेशमा हिडडुल गर्न थाले । यसले केही हदसम्म महिलाको सामाजिक–आर्थिक स्तर उकास्यो । यसले महिलाको जीवनशैली परिवर्तन हुनु स्वभाविक थियो । विभिन्न कम्पनीहरुले महिलाको यो परिवर्तनलाई ध्यान दिदै महिला लक्षित उत्पादन बढाउने तर्फ लागे । यस्ता मुद्दाहरु बोकेर अहिलेको महिलावादी आन्दोलनले राज्य निर्देशित पुँजीवादलाई प्रोत्साहन गरेको भन्दै नान्सी फेजर ‘सेकेन्ड वेभ फेमिनिज्म’को चर्काे आलोचन गर्छिन र भन्छिन ‘फस्ट वेभको आलोचना गर्दै सेकेन्ड वेभ विकसित भएको तर पुँजीवादको नोकर बन्न पुगेको छ । चुरोट र रक्सी सेवन सामाजिक परिवर्तनको सम्वाहक कदापी हुन सक्दैन ।’

महिलाले रक्सी सेवन र चुरोट पिउँदा बन्धनबाट मुक्ति हुने भए, हाम्रो घरगाउँमा दाजु–भाइ सबैको सामु निस्फिक्री चोलोको गोजीबाट चुरोट निकालेर एक सर्को तान्दै घाँसदाउरा गर्ने आमैहरु पहिले नै मुक्त हुने थिए । पिउनुले बन्धन मुक्त पार्ने भए, आफ्ना जात अनुसारका चाडमा रक्सी, आएला, देज्याङ्ग, तोंङ्बा, छ्याङ्ग, जॉड सहज पिउने महिलाहरुले अझ समान अधिकारका लागी लड्नु पर्दैनथ्यो । एक सर्को महिलावादले न हाम्रा ती आमाहरुको मुक्ति गर्यो, न आजका हामी युवालाई नै त्यसले मुक्ति दिनेवाला छ । चुरोट सेवन, रक्सी सेवन कुनै महिलावादी आन्दोलनको प्रर्याय हुन सक्दैन । बरु यी पुँजीवाद प्रर्वद्धन गर्ने ज्यावल नै हुन । माक्र्सका अनुसार महिला मुक्ति केवल पुँजीवादी व्यवस्थालाई उन्मूलन गरेर मात्र प्राप्त गर्न सकिन्छ ।

  • यो लेख मार्क्सवाद र महिलावाद नामक पुस्तकबाट लिइएको हो ।