September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

कविता : घडी र समय

२०७९ असार १

638

  • केशव घिमिरे (सुमन)

 

घडी बिग्रिएको छ
र,
समय खराब छ
घण्टा, मिनेट र सेकेन्डको
तीन थरिको सुई भएको मेरो घडी
सेकेन्डले ६० पाइला चाल्दा
मिनटले एक पाइला चाल्न पनि धरमराउछ
मिनेटले ६० पाइला चाल्दा
घण्टाले घण्ट बजाउन अटेर गर्छ
सेकेन्ड, मिनेट र घण्टाको
तालमेल बिग्रिदा
एक अर्काबीचको होडबाजि र बलमिच्याँइले
मेरो घडी बिग्रिएकोे छ
र त,
समय खराब चलिरहेको छ ।

पहिले पहिले आफ्नै मजेरीमा झुल्किएको
घामलाई हेरेर समयको हिसाब गर्ने म
आज घडीबिना ‘समय’ थाह नपाउने भएको छु
घडीको लत लागेको छ मलाई
र त,
घडी बिग्रनासाथ मेरो सारा समय नै बिग्रिरहेको छ ।

सातमा भारतबाट ल्याएको घडी
सत्रमा बिग्रियो
सत्रदेखि छत्तिससम्म पिलपिले नै काम चलाइयो
सत्चालिसमा किनेको तीनवटा सुई भएको सिको घडी
त्रिसट्ठीमा हराएरै गयो
बाले दिनुभएको अंश नै बेचेर
विदेशबाट ल्याएको रोलेक्सको
ब्याट्रि किन्न नसकेर
अब आमाको गहना बेच्ने अवस्थामा छु
खै कसरी ठिक पारौँ यो घडीलाई ?
एउटा असल मिस्त्री पनि ठाउँमा नहुँदा
मेरो घडी बिग्रिएकोे छ
र त,
समय खराब चलिरहेको छ ।

न म आफै घडी बनाउन सक्छु
न घडीबिना नै समय भन्न सक्छु
म यति घडी भक्त भएछु कि घडी नाडिमा नहुँदा
मलाई मेरो हातै नभए जस्तो लाग्छ
घडी साथमा नहुँदा दिन नचले जस्तो लाग्छ
रात नढले जस्तो लाग्छ ।
अब बिस्तारै बिस्तारै
घडी किन्ने हैसियत सकिएपछि
अझ भनौ ब्याट्री किन्ने समेत पैसा नभएपछि

उदाउँदो सूर्यले बजाएको बिहानीको ६
अस्ताउदोले बजाउने बेलुकीको ६
पूर्ण चन्द्रको पूर्णिमा
अनि अँधेरीको औंसी हेदै
एकाध मिनट तल माथी भएपनि
घडी विग्रिदा पनि नविग्रने
समय बनाउँदै छु
हो,
म मेरो आफ्नै समय बनाउँदैछु ।