July 11, 2024, Thursday
२०८१ असार २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

ओशोका विचारहरूमाथि आलोचनात्मक दृष्टि

२०७९ श्रावण १०

1.3K

  • निनु चापागाई

ओशोको विचारमा संसारमा आज जुन दिशामा घटनाहरू घटिरहेका छन् । त्यस दिशाले सार्वभौमिक आत्मघात निम्त्याइरहेको छ र जीवनको भविष्य अन्त हुने सम्भावना बढेको छ । तर संसारका बुद्धिजीवी, वैज्ञानिक र दार्शनिकहरू यस तर्फ उपेक्षा गरिरहेका छन् । यसबाट बच्न, अस्तित्वको महानतम सृजनालाई जोगाउन आमूल छलाङ्ग (क्वान्टम लीप) लिनु आवश्यक छ र नयाँ पिँढीलाई हामी जसरी बाँचिरहेका छौं, त्यसरी नबाँचौं भनेर सिकाउनु जरुरी छ ।
विश्वमा मानवका लागि आवश्यक पर्ने आधारभूत वस्तुहरूको जन समस्या सृजना भएको छ, त्यो संयुक्त राष्ट्र संघले प्रकाशित गरेका प्रतिवेदनहरूले उल्लेख गरेजस्तो अर्थशास्त्र र पर्यावरणका कारणले मात्र भएको होइन । संसारमा धेरै राष्ट्रहरू बन्नु र राष्ट्रहरू विखण्डन भएको कारणले गर्दा यस्तो भएको हो । यसका निम्ति राजनीति, संगठित धर्म र सबै राष्ट्रहरू जिम्मेवार छन् । वर्तमान समस्याहरूको कारण अतीत हो, हजारौं वर्षसम्म मानिसले मनोमानी तरिकाले बाँच्तै आएको छ र यसले आउने पिँढीलाई आफूले चाहेजस्तो मनपर्दो ढङ्गले बाँच्न बाध्य पारेको छ । यसरी वर्तमान परिस्थितिको निर्माण अतीतले गरेको हो र अतीतबाट मुक्त हुन समाजको सबभन्दा आधारभूत इकाई विवाहबाट मुक्त हुनुपर्दछ । ओशोका दृष्टिमा सबै समस्याहरू यही विवाहबाट उत्पन्न भएका छन् । विवाहलाई विसर्जित गर्दा समाज विसर्जित हुन्छ, परिणामस्वरूप राष्ट्र, जाति, राजनीतिक, पुरोहित सबै बिदा हुन्छन् । त्यसैले, मानिसलाई दुःखी र दास बनाउने मूल जरो विवाहप्रथाबाट नै मुक्त हुनुपर्दछ ।

आजको भोकमरी, अनिकाल, जनसंख्याविस्फोट, पर्यावरणविनाश, प्रदूषण, उद्योग र शहरी समस्याजस्ता समस्याहरू कुनै एउटा राष्ट्रको मात्र समस्या नभएर अन्तर्राष्ट्रिय वा विश्वव्यापक समस्या बनेका छन् र यिनको समाधान पनि एउटा राष्ट्रमा खोज्ने आजको चिन्तनबाट सम्भव छैन, यिनको समाधान पनि विश्वव्यापी रूपमा नै हुन सक्तछ र हुनुपर्दछ । सबैले जानेकै तथ्य हो – एकातिर इथोपियामा दिनैपिच्छे हजारौँ मानिस खान नपाएर मर्दै थिए भने अर्कातिर युरोपमा नौनी घीउ लगायत अन्य खाचा पदार्थको भण्डार समुद्रमा फ्याँकिदै थियो । यही काम अमेरिका पनि गरिरहेको थियो । अमेरिकामा नै तीन करोड मानिसहरू कपोषणबाट ग्रस्त छन भने तीन करोड मानव अतिरिक्त (बढी) खानाबाट पीडित छन् । प्रतिवर्ष एक करोड पाँच लाख मानिसहरू संसारभर कुपोषणले मरिरहेका छन् । अनि एक करोड मानिस एड्सग्रस्त छन् । राष्ट्र संघको रिपोर्टलाई नै आधार बनाउने हो भने प्रतिवर्ष साठी लाख हेक्टर कृषियोग्य र चरन जमिन बन्जर जमिनमा परिवर्तित भैरहेको छ र प्रतिवर्ष दुइ करोड जनावरका जातिहरू सखाप हुँदै छन् । प्रतिवर्ष पन्ध–बीस लाख मानिसहरू कीटाणुनाशक दबाईको बीषबाट पीडित हुने गरिरहेका छन् र प्रतिवर्ष यसबाट दशहजार मानिसहरू मरिरहेका छन् । प्रतिमिनेट तीसजना केटाकेटीहरू भोजन र सुईको अभावमा मरिरहेका छन् र प्रतिमिनेट तेह्र लाख डलर विश्वको सैनिक बजेटमा खर्च गरिँदै छ ।

संयुक्त राष्ट्र संघको प्रतिवेदनलाई नै विश्वास गर्ने हो भने पनि विश्वको वर्तमान युद्ध बजेट नै झन्डै एक हजार अरब प्रतिवर्ष पुग्न आँटेको छ, प्रतिवर्ष एक हजार करोड डलर युद्धको गर्न मात्र लाग्ने गरेको छ र पाँच लाख वैज्ञानिकहरू युद्धका निम्ति अरू सामान बनाउन खटिरहेका छन् । यी समस्याको विश्वव्यापक समाधानको निम्ति विश्वशासनको व्यवस्था हनुपर्दछ र संसारभर एउटै अर्थव्यवस्था लागू गरिनुपर्दछ । संसार एउटा राष्ट्रमा बदलिनुपर्दछ । अनेक राष्ट्रको आवश्यकता ओशो देख्तैनन् । भिन्न भिन्न राष्ट्रका कारण अनेक मानिसहरूको अहंकारको दौड पूरा हुनु बाहेक अरू केही भएको छैन । सबै राष्ट्र युद्ध र विजयका नाममा आत्मघात मात्र गरिरहेका छन् । ओशोले विश्वशासनको अर्थ यस भूगोलको समग्र परिस्थितिको सर्वेक्षण गर्नु र जुन देश र ठाउँमा जुन चीजको खाँचो छ, त्यो चीज त्यहाँ पु¥याउनु हो भन्ने लगाएका छन् । एउटा विश्वशासन भएमा, राष्ट्रहरूका टुक्राहरू नभएमा पासपोर्ट, भिसा र अन्य सबै किसिमका मूढतापूर्ण शर्तहरूबिना नै एक राष्ट्रबाट अर्को राष्ट्रमा सजिलै जाने–आउने स्वतन्त्रताका कारण समस्याहरूलाई सरलताका साथ हल गर्न सकिन्छ । विश्वशासन बनाउन ओशोको विचार के छ भने संयुक्त राष्ट्र संघलाई नै औपचारिक संगठनबाट विश्वशासनमा रूपान्तरण गर्नुपर्दछ । विश्वशासनलाई सबै राष्ट्रले आआफ्ना हतियार र फौज सुम्पनुपर्दछ । यसो गरेको खण्डमा शस्त्रास्त्रको होडबाजी स्वतः समाप्त हुनेछ र एक राष्ट्रले अर्को राष्ट्रसँग युद्ध गर्नुपर्ने आजको स्थिति रहनेछैन । विश्वशासनअन्तर्गत विद्यमान देशहरूका प्रत्येक प्रधानमन्त्री विश्वशासनको सदस्य हुनेछ । यसरी विश्वशासनमा सहभागी हुने सबै प्रधानमन्त्री खालि कामका लागि मात्र आफ्नो पदमा रहने हुन् । उनीहरूसँग वास्तविक सत्ता हुँदैन । उनीहरूले आफ्नो देशको विकास निर्माणको काम गर्नु बाहेक अर्को देशमा आक्रमण गर्नुपर्ने स्थिति रहनेछैन ।

विश्वशासनका सदस्यले विश्वराष्ट्रपतिको निर्वाचन गर्नेछन् । तर विश्वशासनका सदस्यबाट विश्वराष्ट्रपति निर्वाचित गरिनेछैन, उनीहरूभन्दा बाहिरको व्यक्तिलाई राष्ट्रपति चुनिनेछ र त्यो व्यक्ति राजनीतिक व्यक्ति हुनेछैन । विश्वशासनका निम्ति विश्वसंविधान बनाइनुपर्दछ र यो काम विश्वभरिका माथिल्ला तहका बुद्धिजीवीहरूको विश्वसम्मेलन गरेर उनीहरूलाई विश्वसंविधान बनाउने काम दिइनुपर्दछ । आजसम्म विश्वका सम्पूर्ण बुद्धिजीवी समुदाय मानवताको भविष्य निर्धारित गर्न कहिल्यै एक ठाउँमा एकत्रित भएको छैन । अब विश्वसंविधानको निर्माण उनीहरूबाट गराएर यो काम शुरु गरिनुपर्दछ । यदि कनै राष्ट्र विश्वशासनमा समावेश नभएको खण्डमा त्यस्तो देशलाई अरू सबै राष्ट्रले बहिष्कार गर्नुपर्दछ । त्यससँग सम्बन्ध राखिनु हुँदैन, कुनै किसिमको आदान–प्रदान हुनु हुँदैन ।

ओशोले आफ्नो चिन्तनमा विश्वशासनको प्रश्नलाई निकै ठूलो महत्व दिएका छन् । उनका शिक्षा, विज्ञान, कलालगायत परिवारनियोजन र आनुवंशिक यान्त्रिकीसम्बन्धी चिन्तनहरू पनि यही विश्वशासनको विचारसँग गाँसिएर आएका छन् । उनी यी सबैको विश्व एकेडेमी हनपर्ने विचार अघि सार्दछन् । ओशोको विचारमा राष्ट्रपछिको अर्को ठूलो सामाजिक रोग धर्म हो । ओशोको भनाइमा धर्महरू परजीवी रहेका छन, यिनले मानिसहरूको शोषण गर्दै आएका छन्, उनीहरूलाई दास बनाउँदै आएका छन् र उनीहरूलाई बलपूर्वक विश्वास समाउन बाध्य पारिरहेका छन । ओशोका दष्टिमा विश्वास बुद्धिका निम्ति जहर हो, सबै किसिमको विकासका निम्ति बाधक तत्व हो । सबै धर्म विश्वासहरूमा आधारित छन् । तर विश्वास मानिस आफैलाई धोका दिने एउटा चाल मात्र हो । धर्महरूले काल्पनिक विश्वास निर्मित गरेर मनुष्यलाई मतिमन्द बनाएका छन् । ओशोका अनुसार धर्मका जति पनि परिभाषा दिइएका छन ती एकदमै कुरूप र गलत प्रमाणित भएका छन् । तिनले खुसी, सौन्दर्य र प्रेमको उँचाइहरूसम्म उठ्नमा मानिसलाई कुनै सहयोग प¥ुयाएका छैनन्, तिनले त बरु मानवतालाई दुःख र पीडामा पो होमेका छन् । तिनले मानिसलाई स्वतन्त्रता सिकाएका छैनन्, उल्टै तिनले आज्ञाकारिताको नाममा मानिसमाथि सब किसिमका दासताहरू लादेका छन् । पुरोहितहरूको आज्ञापालन, पैसावालहरूको आज्ञापालन र सत्ताधारीहरूको आज्ञापालन, संक्षेपमा सम्पूर्ण निहित स्वार्थहरूको आज्ञापालन गर्न तिनले सिकाउँछन् । धर्मले संसारमा काटमार मच्चाएको, कथित धर्मयुद्ध चलाएको र मनुष्यको अखण्डता र मानवतालाई नष्ट गरिदिएको छ । ।

ओशोको के भनाइ छ भने अस्तित्व तपाईलाई यहीँ र अहिल्यै स्वर्ग प्रदान गर्न तयार छ । तर मानिसले यसलाई स्थगित गर्दै आएको छ, स्वर्ग सधँै मृत्युपछि मात्र प्राप्त हुन्छ भनेर । स्वर्ग यहीँ छ र अन्यत्र कहीँ पनि कुनै स्वर्ग छैन । स्वर्गको निर्माण मानिसको लोभको विस्तार हो । मानिसलाई नर्कबाट भयभीत बनाउन मानिसको आत्माको केन्द्रमा नै ज्यादै ठूलो त्रास उत्पन्न गर्ने उपाय थियो । परमात्मा पनि ओशोका दृष्टिमा कविकल्पना मात्र हो । निश्चय नै यी कल्पनाहरू प्रेतहरूका निम्ति अतिशय लाभदायक भएका छन् । ओशोको के भनाइ छ भने सारा धर्महरू शरीर र चेतना एकैसाथ भएको मनुष्य एक एकाई हो र यो संसार मनुष्यबाट पृथक् छैन भन्ने तथ्यलाई स्वीकार गर्दैनन् । धर्मले हामीलाई यस जगतको अंश होइनाँै भन्ने सिकाएको छ । धर्मले हामी यस संसारमा कुनै सजाय भोग्न, आफ्ना मौलिक पापको प्रायश्चित्त गर्नका निम्ति आएका हौं भन्ने शिक्षा दिने गरेको छ । सबै धर्महरू मानिसले आनन्द लिन सक्ने सबै चीजका विरुद्ध छन् । मानिसलाई दुःखी बनाउनमा, अहिल्यै र यहीँ नै स्वर्गप्राप्ति हुने शान्ति, आनन्द र तृप्तिको खोजीका सबै सम्भावनालाई नष्ट गर्नुमा धर्महरूको निहित स्वार्थ रहेको छ । धर्मका दृष्टिमा परलोक रहिरहनका निम्ति मानिसका दुःख नितान्त आवश्यक छ । यस सम्बन्धमा उदाहरण दिदै ओशोले इंगित गरेका छन् – यदि तिम्रो सेक्स साँच्चिकै तृप्त भएको खण्डमा तिमीलाई परमात्माको आवश्यकता । रहँदैन, किनभने तिम्रो जीवन कृतकृत्य हुन्छ । तर तिम्रो सेक्सको निन्दा गरियो, त्यसको दमन गरिया, त्यसलाई नष्ट गरियो र तिम्रो मनमा यसप्रति निन्दाको भाव – गरियो भने मात्र परमात्मा सदा जीवित रहनेछ । तिम्रो आत्मघातबाट परमात्माले ऊर्जा प्राप्त गर्दछ ।

ओशोको भनाइमा, धर्म होइन, एक किसिमको धार्मिकता, प्रेमपूर्ण हृदय, समग्रका प्रति मैत्री आवश्यक छ । यस निम्ति कुनै धर्मग्रन्थ होइन मनुष्यता र धार्मिकता चाहिन्छ । ध्यान, सत्य, प्रेम, प्रामाणिकता र इमानदारी चाहिन्छ । उनको भनाइमा धार्मिक व्यक्ति त्यही हो जसले संसारमा यसअघि नभएको केही सौन्दर्य, केही खुसी, केही प्रसन्नता र केही उत्सवको योगदान दिन्छ, केही नयाँ, केही ताजा र केही फूल । ओशोका दृष्टिमा राष्ट्र र धर्मलाई फ्याँकिसकेपछि समुन्नत जीवन, अधिक जीवन, श्रेष्ठता एवं बुद्धिमत्ता र अधिक सृजनात्मकताप्रति समर्पित विज्ञानको खाँचो पर्दछ । यी तीन कुरा पूरा भएको खण्डमा पूरै मानवतालाई धार्मिक, राजनीतिक र सामाजिक नेताहरूको हातबाट बचाउन सकिन्छ । पूँजीवादी प्रजातन्त्रलाई ओशो भीडतन्त्रका रूपमा ग्रहण गर्दछन् र यसका विरुद्ध गुणतन्त्र (mभचष्तयअचबअथ) को प्रस्ताव अघि सार्दछन् । उनको भनाइमा पुरोहित र राजनीतिज्ञहरूले मानवताका विरुद्ध सधै नै षड्यन्त्र गर्दै आएका छन् । ओशोले झन्डैजसो राजनीतिक र पुरोहितलाई समकक्षमा राखेर हेर्ने गरेका छन् । राजनीतिक र पुरोहितहरू एकदोस्रासँग हातमा हात मिलाएर काम गर्दै आएका छन् । राजनीतिकसँग राजनीतिक शक्ति छ भने पुरोहितहरूसँग धार्मिक तागत छ । राजनीतिकले पुरोहितको रक्षा गर्दछ र पुरोहितले राजनीतिकलाई आशीर्वाद दिन्छ । यसरी जनताको शोषण हुन्छ । दुवै मिलेर जनताको रगत चुस्तछन् । राजनीतिकहरूले जीवनलाई बढी भन्दा बढी अशोभनीय बनाएका छन्, मनुष्यलाई नष्ट गरेका छन् । कारण उनीहरूको शक्ति जनताको दासतामाथि टिकेको हुन्छ । पुरोहितमाथिको आफ्नो आक्रोश व्यक्त गर्दै ओशो भन्दछन – पुरोहितहरूले संसारमा के मात्र गरेका छैनन् र ? तिनीहरूले बोक्सी भनेर महिलाहरूलाई जिउँदै पोलेका छन् । उनीहरूले अरू धर्ममा विश्वास गर्नेहरूको हत्या गरेका छन् । उनीहरू सृजनात्मक मानिसहरू होइनन्, उनीहरूले पृथ्वीमा कनै समद्धि ल्याएका छैनन् । गुणतन्त्रले राजनीतिक र पुरोहित दुवैलाई उनीहरूको प्रदीर्घ, अति प्राचीन प्रस्थापनाबाट निकालेर एउटा सर्वथा नयाँ किसिमको व्यवस्थापन विकसित गर्दछ ।

ओशोको दृष्टिमा अठार वा एक्काईस वर्षको उमेरमा पुग्नुको अर्थ शासनसत्तालाई चुन्न सक्षम हुनु होइन । उमेरका आधारमा गरिने चुनाव मूढतापूर्ण हुन्छ । आजसम्म लोकतन्त्रका नाममा सत्ताका निम्ति अत्यन्त लालायित, महत्वाकांक्षाबाट अतिशय पीडित व्यक्तिहरू चुनाव लड्दै आएका छन् । तिनले हत्या मात्र होइन, जेसुकै काम पनि पद आएका छन् र जनताको शोषण गरिरहेका छन् । यो आफ्नो हातले आफ्नै घाँटीमा सुर्कने कस्नुजस्तै हो । यो लोकतन्त्र होइन । त्यसैले गुणका आधारमा चुनेर बुद्धिजीवीहरूको हातमा शासनसत्ता दिइनुपर्दछ । यस निम्ति शिक्षा र गुणलाई आधार बनाइनुपर्दछ । जोसुकैलाई पनि मतदानको अधिकार नदिई मेट्रिकको जाँचमा उत्तीर्ण व्यक्तिलाई मात्र दिने अधिकार दिइनुपर्दछ र चुनावमा उठ्ने व्यक्ति त्यो भन्दा बढी शिक्षित हुनुपर्दछ । स्थानीय चुनावमा उमेदवार हुनका निम्ति स्नातक हुनु आवश्यक छ भने मेयर पदमा उठ्नका लागि स्नातकोत्तर हुनु आवश्यक हुन्छ । यस्तै प्रान्तीय चुनावमा मतदानको निम्नतम योग्यता स्नातक हुनु र उमेदवारले स्नातकोत्तर उपाधि प्राप्त गर्नु अनिवार्य हुन्छ । जति जति माथिल्लो तहको पदमा निर्वाचन हुने हो त्यति त्यति मतदाता र प्रत्यासीको शिक्षाको स्तर माथिल्लो तहको हुनु आवश्यक हुन्छ । जस्तो – राष्ट्रपतिको उमेदवार हुनका निम्ति न्यूनतम रूपमा दुई विषयमा पी.एच.डी. र एक सम्मानित डी.लिट. वा एल.एल.डी.को उपाधि प्राप्त भएको हुनुपर्दछ । ओशोले निश्चित उमेदवार र मतदाताका लागि निश्चित शैक्षिक स्तरको पनि निर्धारण गरेका छन् । ओशोका दृष्टिमा गणतन्त्र समाजको संरचना, शासनको संरचना वा शिक्षाको संरचनालाई रूपान्तरण गर्ने सम्पूर्ण कार्यक्रम हो ।

ओशोका दृष्टिमा गुणतन्त्रका आधारमा चुनिनु मात्र सत्तासंचालनका निम्ति पर्याप्त हुँदैन । एकजना बक्सरका निम्ति बक्सिङ्ग कसरी खेल्ने त्यसबारे शिक्षा लिनु आवश्यक हुन्छ । त्यसरी नै गितार बजाउनका निम्ति पनि गितार कसरी बजाउने हो त्यसको जानकारी चाहिन्छ । आजसम्म सत्तारूढ भएकाहरू सत्ता कसरी संचालन गर्ने कुनै प्रशिक्षण हासिल नगरिकन सत्तामा पुग्ने गरेका छन् । त्यसरी हुँदैन । सत्ताका निम्ति पनि मानिसहरूलाई प्रशिक्षण दिइनुपर्दछ । सत्तामा जानेहरूसँग केही विशिष्ट गुण भएको खण्डमा मात्र उनीहरूबाट सत्ताको दुरुपयोग हुन सक्तैन । त्यसैले सत्तारूढ हुनेहरूका निम्ति पनि अरू व्यवसायमा जस्तै प्रशिक्षणको आवश्यकता पर्दछ । यसनिम्ति ओशोले प्रत्येक विश्वविद्यालयमा डिप्रोग्रामिङ्गका निम्ति एउटा र अर्को ध्यान सिकाउने संस्था गरी दुईवटा संस्थाहरू हुनुपर्ने प्रस्ताव राखेका छन् । ओशोको प्रस्तावअनुसार स्नातक प्रमाणपत्र पाउने व्यक्तिले उक्त प्रमाणपत्र पाउनुअघि डिप्रोग्रामिङ्ग संस्थाद्वारा उत्तीर्ण भएको प्रमाणपत्र प्राप्त गर्नुपर्ने हुन्छ । विश्वविद्यालयको उपाधि, डिप्रोग्रामिङ्ग संस्थाबाट उत्तीर्णता प्रमाणपत्र र ध्यान विश्वविद्यालयबाट स्नातकको उपाधिको प्रमाणपत्र प्राप्त गरेपछि मात्र पाइनेछ । डिप्रोग्रामिङ्ग संस्थाले मानिसमा रहेका पूर्व संस्कारहरू मेटाउने र फोहोर फ्याँक्ने काम गर्दछ । ओशोकै शब्दमा भन्ने हो भने यसले धर्म, जाति, वंश र देशबाट मुक्त गरेर व्यक्तिलाई एक्लो व्यक्ति बनाउँछ । ध्यान सिकाउने संस्थाले चाहिँ व्यक्तिमा तनावरहित स्थिति सृजना गर्ने, व्यक्तिभित्र जे भैरहेको हो त्यसलाई हेर्ने द्रष्टा र अन्तर्द्रष्टा बनाउने, साक्षीभाव उत्पन्न गर्ने, त्यसका बारेमा निर्णय र मूल्यांकन गर्ने मूल्यांकनकर्ता बन्नबाट जोगाउने काम गर्दछ । ओशोका दृष्टिमा डिप्रोग्रामिङ्गले व्यक्तिको दिमागलाई खाली गर्दछ भने अर्कोले चाहिँ भर्ने काम गर्दछ । यसरी खराब कुराहरूबाट व्यक्तिलाई पर राख्तछ ।

ओशोको भनाइमा ध्यानले व्यक्तिलाई तनावरहित, शान्त, मौन, निरीक्षणकर्ता, सजग, अन्तर्प्रज्ञायुक्त बनाउँछ । ध्यानले व्यक्तिलाई एक नयाँ व्यक्ति, नयाँ मनुष्य र नयाँ चेतना बनाइदिन्छ । त्यस्तो व्यक्तिलाई भय, गम्भीरता, लोभ र घृणा आदि केहीले पनि स्पर्श गर्न सक्तैन । कुरूप, रुग्ण र घृणित जस्ता अँध्यारा मनोवेग र भावहरू केहिले पनि छुन सक्तैनन् । ध्यानले व्यक्तिलाई माथि उठाउन मात्र जान्दछ र माथि झन् माथि उठाउँदै लैजान्छ । यसो भएपछि संसारको कसैले पनि त्यस्तो व्यक्तिलाई रिप्रोग्रामिङ्ग गर्न सक्तैन । व्यक्तिलाई रूपान्तरित गर्दैन भने त्यो ध्यान हुनै सक्तैन ।

सत्तारूढ हुन चाहने व्यक्तिहरूलाई मात्र होइन, ध्यानको आवश्यकतालाई ओशोले अन्यत्र पनि पर्याप्त मात्रामा महत्व दिएर आवश्यक ठानेका छन् । उनले अघि सारेको शिक्षासम्बन्धी चिन्तनको एउटा महत्वपूर्ण आयाममा ध्यान पनि परेको छ । उनले शिक्षाका पाँचवटा आयाममा पहिलो आयामअन्तर्गत टेलिभिजन र कम्प्युटरबाट एकैसाथ पढाउन सकिने इतिहास, भूगोलजस्ता सूचनात्मक विषय र भाषालाई (मातृभाषा र अन्तर्राष्ट्रिय भाषाका रूपमा अंग्रेजी) समावेश गरेका छन् भने दोस्रो आयाममा वैज्ञानिक विषयहरूको खोजीलाई राखेका छन् । ओशोको शिक्षाको तेस्रो आयाममा बाँच्ने कला परेको छ ।

उनका अनुसार प्रत्येक बालबालिकालाई यसले क्रोध, घृणा र इष्र्यालाई कसरी प्रेममा रूपान्तरित गर्ने सिकाउँछ र जीवनको महत्वपूर्ण अङ्गका रूपमा हास्य–व्यङ्गयको समझ सिकाउने काम पनि गर्दछ । शिक्षाको चौथो आयाममा चित्रकला, संगीत, हस्तकला, कविता लगायतका सृजनात्मक विषयहरू सिकाइन्छन् भने शिक्षाको पाँचौं आयाममा चाहिँ मानिसलाई मर्ने कलाका अतिरिक्त ध्यानका सम्पूर्ण विधिहरू सिकाइन्छ । व्यक्तिले ध्यानका यी विधिहरूलाई बुझेपछि मानिसको मृत्यु हुँदै हुँदैन भन्ने ज्ञान पाउँछ र व्यक्ति आफूभित्रको शाश्वत जीवनसँग परिचित हुन्छ भन्ने धारणा ओशोको रहेको छ । मरेपछि खालि शरीर आफ्नो मूल तत्वमा विलीन हुन्छ, आत्मा दोस्रो गर्भमा उडेर जान्छ, केही नष्ट हुँदैन ओशोका विचारमा । उल्लेखित विवरणबाट हामी के कुरामा स्पष्ट हुनु आवश्यक छ भने ओशोले ध्यानलाई सबै समस्याको एउटै समाधानका रूपमा लिएका र प्रस्तुत गर्ने गरेका छन् । विश्वविद्यालयमा ध्यान, न्यायालयमा ध्यान, अस्पतालमा ध्यान, कम्युनमा ध्यान र ध्यानकेन्द्रहरूको स्थापना ओशोको यही चिन्तनको परिणाम हो ।

वंशउत्पादनका सम्बन्धमा पनि ओशोको आफ्नै किसिमको दृष्टिकोण रहेको छ । उनको विचारमा परिवारनियोजन पूर्णतः अनिवार्य गरिनुपर्दछ । यसले सयगुना गुणवत्तालाई बढाउँछ । मनुष्यले बाँच्ने हो भने, आफ्नो गरिमा, सम्मान र जिउने अधिकार प्राप्त गर्ने हो भने जनसंख्यालाई घटाउनै पर्दछ । वर्षमा कति नयाँ मानिस जन्माउने हो यसको निधो चिकित्सा समिति (मेडिकल बोर्ड) ले गर्नुपर्दछ र त्यसअनुसार बालबालिकाहरू जन्माउने काम एकदमै थोरै मानिसहरूले मात्र गर्नुपर्दछ, त्यो पनि सवश्रेष्ठ शुक्राणु र सर्वश्रेष्ठ अण्डाणु मिलाएर कृत्रिम बीजारोपणको पद्धति अपनाएर मात्र ।

ओशोले स्पष्ट शब्दमा आफू परिवारनियोजनको पक्षमा मात्र होइन, आनुवंशिक यान्त्रिकी (जेनेटिक इन्जिनियरिङ्ग)को पक्षमा रहेको उल्लेख गरेका छन् । र यो काम विज्ञानको अन्तर्राष्ट्रिय एकेडेमीको मातहतमा हुनुपर्ने समेत उनको राय छ । ओशोको दृष्टिमा बीजारोपण सर्वश्रेष्ठ बालक खोज्ने एकमात्र वैज्ञानिक उपाय हो । त्यसैले, म बाबु हुँ भन्ने पुरानो मानसिकतालाई परित्याग गरेर मैले सर्वश्रेष्ठ बालक चयन गरेको छु भन्ने धारणा निर्माण गर्नुपर्दछ र पुरुषले यसमा गर्व समेत गर्नुपर्दछ । प्रतिभासम्पन्न, मेधावी र स्वस्थ बालक जन्माउनका निम्ति आफ्नो शुक्राणु आमाको कुन आमाको गर्भमा रहेको छ भनेर चिन्ता नलिई सर्वश्रेष्ठ बच्चा उत्पन्न गर्ने चिन्ता गरिनुपर्दछ । ओशोको त कस्तोसम्म दृष्टिकोण रहेको छ भने कुनै शिशु लाटो, अन्धो, बहिरो वा अस्वस्थ जन्मिएको खण्डमा उसलाई सत्तरी–असी वर्षसम्म बचाएर व्यर्थमा दुःख भोग्न बाध्य पार्ने चिन्तन लिनुको साटो बाबुआमा मान्दछन् भने त्यस्तो बच्चालाई पहिल्यै महानिद्रामा सुताइदिनु उचित हुन्छ ।
ओशोका विचारमा प्रत्येक पुरुष बाबु र प्रत्येक स्त्री आमा हुनैपर्दछ भन्ने विचार गलत छ । उनी भन्दछन् – संभोगबाट शिशुको जन्म हुनुहुँदैन, संभोग उत्तरदायित्वबाट मुक्त हुनुपर्दछ, यसमा कुनै खतरा हुनुहुँदैन । संभोग आमाबाबुका निम्ति विशद्ध क्रीडा वा खेल हुनुपर्दछ । यौनतृप्तिलाई परमात्माको प्राप्ति ठान्ने ओशोको विचार यसअघि प्रस्तुत भैसकेको छ । उनी संभोगलाई नै जीवन मान्ने सोच समेत राख्तछन् । बहुगामितालाई अर्थात् धेरै जनासँग यौनसम्बन्ध राख्ने कामलाई एउटा जीवनमा अनेक जीवन जिउनु र जीवनलाई अधिक समृद्ध बनाउनु हो भन्ने धारणा ओशोको छ । आफूले प्रस्ताव गरेको कम्युनका बारेमा चर्चा गर्दा उनले स्पष्ट भनेका छन् – त्यसमा (कम्युनमा) विवाहको कुनै प्रश्न नै उठ्नेछैन न त सम्बन्धविच्छेदको नै । यदि दुई व्यक्ति सँगै बस्न चाहन्छन् भने बस्न सक्तछन्, र कुनै दिन उनीहरू एकसाथ बस्न चाहँदैनन् भने ठीक छ उनीहरू छट्टियून् । सँगै बस्ने चयन उनीहरूको आफ्नो चयन हो । उनीहरू कुनै अर्को मित्र छान्न सक्तछन् । वस्तुतः एक जीवनमा अनेक जीवन किन नबाँच्ने ? जीवनलाई बढी समृद्ध किन नबनाउने ? कोही स्त्री र पुरुष जीवनभरि एकअर्कासँग बस्न चाहन्छन् भने त ठीक छ, अन्यथा उनीहरू एकअर्कासँग किन टाँसिइरहने ?

ओशोले बलात्कारका सम्बन्धमा आफ्नो विचार व्यक्त गर्ने क्रममा धेरै व्यक्तिसँग यौनसम्बन्ध राख्नु उचित छ भनेर खुल्ला घोषणा नै गरेका छन् । उनी भन्छन् – जो व्यक्ति बलात्कार गर्दैछ, ऊभित्र सायद ती नैतिक मानिसहरूको भन्दा बेसी हारमोन छन् जो एउटी स्त्रीसँग सम्पूर्ण जीवन गुजार्दछन् र के ठान्दछन् भने उनीहरू ठूला नैतिकवान् हुन् । साँचो कुरो त के हो भने उनीहरूका हारमोनहरू धेरै नै कमजोर छन् । उनीहरूको हारमोनका निम्ति एउटी स्त्रीसँग रहन पर्याप्त हन्छ । जुन परुषसँग धेरै हारमोन हुन्छन् उसलाई धेरै स्त्रीहरूको आवश्यकता हुनेछ, यही कुरो स्त्रीका सम्बन्धमा पनि लागू हुन्छ । यसमा नैतिकताको कुनै सवाल छैन, यो सवाल हो जैविकीको । उनले परिवारनियोजनका गोलीहरूको प्रशंसा नै किन गरेका छन् भने यसले गर्दा चिन्तित हुने आवश्यकता हुँदैन, जतिखेर पनि सम्भावना हुनासाथ कसैसँग पनि संभोग गर्न सकिन्छ ।

यही सन्दर्भमा उनको विवाहसम्बन्धी धारणाको उल्लेख हनु उचित हुनेछ । ओशोको विचारमा विवाह स्थायी हुन्छ, तर यसको स्थायित्व प्रेमको हत्या गरेर पाइएको हुन्छ । प्रेमको चिहानमा विवाहले आफ्नो भवन उभ्याउँछ । स्वभावतः यसले खालि व्यथा, वेदना, पीडा र दासता ल्याउँछ र यसले सँगसँगै मनुष्यको आध्यात्मिकताको सर्वनाश पनि गर्दछ ।

ओशो परिवार र समाजका विरुद्ध उभिएका छन । उनको दृष्टिमा समाज आधारभूत सिद्धान्तमा टिकेको हुन्छ । समाजलाई विसर्जित गर्न त्यस्ता सिद्धान्तलाई हटाइनुपर्दछ । ओशोका अनुसार समाजको सबैभन्दा पहिलो र महत्वपूर्ण एकाई परिवार हो । परिवार लाखौं रोग र बिमारीहरूको मूल कारण हो । त्यसैले परिवारलाई नष्ट गर्नुपर्दछ । समाजको सट्टा सामूहिकताको नयाँ रूप कम्युन निर्माण गरिनुपर्दछ । आदर्श कम्युनमा परिवार हुँदैन, विवाह हुँदैन । मनुष्यलाई एक अर्कासँग जोड्ने एक मात्र कानुन प्रेम हुनेछ । कम्युन स्वतन्त्र आत्माहरूको मिलनस्थल हुनेछ । बालबालिकाहरू कम्यनको संरक्षणमा हुनेछन् – मातापिताको होइन । प्रतिभा पैदा गर्ने, बुद्धिविकासका लागि अवसर प्रदान गर्ने, सबै किसिमका विकासमा बाधा पुर्याउने विश्वासको ठाउँमा बुद्धिको विकास गर्ने, अन्वेषक, अनुसन्धानक, आविष्कारक र बाह्य जगत् एवं भौतिकतामा पुरारस लिने ‘जोरबा’ र त्यसरी नै आन्तरिक वा आध्यात्मिक खोजमा डुब्ने ’बुद्ध’लाई समिश्रण गरेर ‘जोरबा दि बुद्ध’को निर्माण गर्ने काम कम्युनमा हुनेछ । कम्युन ओशोका दृष्टिमा महत्वकांक्षारहित जीवनको घोषणा हो । त्यहाँ सबै मानिसलाई समान अवसर दिइनेछ । प्रत्येक व्यक्तिलाई सम्मान दिइनेछ । तर ओशो समानतालाई व्यक्तिमाथि थोपर्ने विषय होइन, यसमा कार्ल माक्र्ससँग आफ्नो असहमति रहेको विचार व्यक्त गर्दछन् । ओशोको यो सोच माक्र्सबारेको उनको गलत बुझाइमा टिकेको छ । ओशोको भनाइमा प्रत्येक व्यक्ति समान हनै सक्तैन र एक अर्कासँग तुलना पनि हुन सक्तैन, खालि प्रत्येक व्यक्तिलाई समान अवसर दिने कुरो मात्र हो ।

कम्युनमा निजी सम्पत्ति हुनेछैन र पैसालाई बिदा दिइनेछ । कम्युनमा शब्दको अभिव्यक्ति तथा सृजनाका लागि पूर्ण स्वतन्त्रता रहनेछ । व्यक्ति जस्तो छ त्यही रूपमा उसलाई सम्मान दिइनेछ, कसैको आदर्शअनुसार होइन । कम्युनमा सबैले उत्पादन गर्नु, सबैले मिलेर कम्युनलाई समृद्ध तथा सम्पन्न बनाउनुपर्ने हुन्छ । तर अल्छीहरूलाई पनि त्यहाँ एक खास अनुपातमा सम्मानजनक स्थान दिइनेछ । व्यक्तिका आधारभूत आवश्यकताहरू कम्युनले पूर्ति गर्नेछ, कम्युनको समृद्धिसँगै सुख, सुविधा पनि दिइनेछ । प्रत्येक कम्युन परस्पर निर्भर रहनेछन् र तिनका बीच पैसाको होइन वस्तुको विनिमय हुनेछ । ओशोका अनुसार यसले गर्दा गरीबी, पूँजीवादका सम्पूर्ण दुःस्वप्न र धनी र गरिब वर्ग र अर्कामाथि अधिकार जमाउने लालसा समाप्त हुनेछ ।

ओशोका आधारभत विचारहरू मोटामोटी रूपमा यिनै हुन् । हुन त स्वेच्छामरणको आधिकारको प्रस्ताव प्रत्येक हस्पिटलमा धेरै बाँचिसकेका र आफ्नो शरीरबाट मुक्त हुन चाहनेहरूका लागि सुखद, आनन्ददायक, सुविधापूर्ण मृत्युको प्रबन्ध गरिनुपर्छ भन्ने प्रस्ताव तथा दण्ड दिने धारणा अवैज्ञानिक हो र कारागार, न्यायाधीश, विधिविशेषज्ञ अनावश्यक समाजका यी क्यान्सर हुन तिनको सट्टा प्रेम र समझदारीमा आधारित व्यवस्थामाथि जोड, मनुष्यको शरीरको रहस्य बुझने, त्यसलाई प्रमुदित बनाउने र कला र सृजनात्मक कार्यलाई विशेष स्थान दिने लगायत परीक्षाप्रणालीको विरोध, शिक्षकलाई शिक्षकका रूपमा होइन मार्गदर्शकका रूपमा ग्रहण गर्ने र बाँच्ने कला र मर्ने कला विषयलाई पनि स्थान दिने शिक्षासम्बन्धी नयाँ दृष्टिकोणलाई समेत ओशोका आफ्नै विशेषताका रूपमा लिन नसकिने होइन ।

ओशोका उल्लेखित केही विचारहरू प्रस्तुत गरिसकेपछि अब म उनका विचारका सम्बन्धमा आफ्ना केही भनाइ राख्न चाहन्छ । विषयमा प्रवेश गर्नुअघि म के आवश्यक ठान्दछु भने ओशोको मूल्यांकन गर्ने क्रममा उनमा रहेका केही सकारात्मक पक्षहरूको उपेक्षा गर्नु ठीक हुँदैन । ईश्वर, धर्म, पुरोहित र धार्मिक पाखण्डलाई चिरफार गर्ने र तिनमाथि प्रहार गर्ने काममा उनी कुनै पनि भौतिकवादी भन्दा, अझ भनौं कुनै पनि कम्युनिस्टभन्दा पछि परेका छैनन् । ओशोको स्पष्ट भनाइ छ – ‘म सबै संगठित धर्मका विरुद्ध छु ।’ माथि प्रस्तुत भएका धर्मसम्बन्धी उनका दृष्टिकोणबाट नै पनि उनको विरोध कस्तो थियो बुझ्न सकिन्छ । यसरी नै उनले मूर्तिपूजा, कर्मकाण्ड, दान, पुण्य, धुप, दीप, नैवेद्य आदिको प्रखर विरोध गरेका छन् । उनको धारणामा ईश्वरको मृत्य भैसकेको छ ।

अर्को उनमा देखिने सकारात्मक पक्ष के छ भने उनी अन्धविश्वास र रूढिवादजस्ता विषयका विरुद्ध दृढतापूर्वक उभिएका छन् र उनले वैज्ञानिक विचार र विज्ञानमाथि विशेष जोड दिएका छन् । उनको भनाइ छ – हामीले राजनीति र धर्मको असफल प्रयोग गरेर हेरिसक्यौं, अब विज्ञानको प्रयोग गरेर हेर्नु छ । शिक्षा, वंशउत्पादन, अनुसन्धान, खोज आदि सबै विषयमा ओशोले विज्ञानलाई विशेष महत्वका साथ प्रस्तुत गरेको सहजै देख्न सकिन्छ ।
यसरी नै उनी निजी सम्पत्ति, शोषण, अन्याय, वर्गयुद्ध र सामाजिक भेद आदि पूँजीवादले भित्र्याएका सबैजसो विसंगतिका विरुद्ध रहेका छन् र मानवकल्याणको भावनालाई मुखरित गर्ने प्रयत्न गरेका छन् । यस अतिरिक्त उनी संसारभर एउटै राष्ट्रको पक्षमा छन् र राज्यसत्ताका विरुद्ध पनि देखिन्छन् ।

तर यस किसिमका सकारात्मक पक्षहरू रहँदारहँदै पनि उनका निष्कर्ष र समाधानहरू भने नितान्त काल्पनिक छन् र वस्तुगत तथ्य अनुरूप हुनेगरी प्रस्तुत गरिएका छैनन् । उनको चिन्तनको सबैभन्दा ठूलो कमजोरी नै यही देखिन्छ ।
यसरी नै, उनी घोर अराजकतावादी समेत देखिन्छन् । उनी राज्यसत्ता, समाज, परिवार, विवाहप्रथा सबैलाई ध्वस्त पार्न चाहन्छन् । तर उनले बनाउन चाहेको सामूहिकता वा कम्युनको निर्माण भने वस्तुगत तथ्यलाई हृदयङ्गम गरेर अघि सारिएको पाइँदैन । फलतः उनको विचारअनुसार व्यवहारमा ध्वंस सहजै हुने र निर्माणचाही असम्भवप्रायः हुने देखिन्छ । उनलाई विद्रोहीका रूपमा हेर्न सकिन्छ तापनि पहिलका नामी अराजकतावादीहरू ब्लांकी, प्रुँधो र बाकुनिकहरूभन्दा उनी फरक छन् । उनीहरू भौतिक एवं सशस्त्र विद्रोहको पक्षमा थिए भने ओशोचाहिँ आत्मिक विद्रोहको पक्षमा मात्र सीमित रहेका छन् ।

झट्ट हेर्दा ओशोका विचारहरू भौतिकवादी जस्ता लाग्दछन् । तर सारमा ति विचारहरू अध्यात्मवादी रहेका छन् । उनको भनाइ नै छ – भौतिकवादको दरो जग विना आध्यात्मिकता (धार्मिकता) टिक्तैन । वास्तवमा उनी द्वैतवादी देखिन्छन् । एकातिर उनी ईश्वरको विरोध गर्दछन् भने अर्कातिर ईश्वर र भगवानका बीच विभेद गरेर भगवानमाथि आस्था समेत प्रकट गर्दछन । कृष्ण र बृद्धको भजनकीर्तन गर्दछ । पुनर्जन्म तथा जीवनको शाश्वततामाथि विश्वास राख्तछन् ।
ओशोका कतिपय चिन्तनहरू एकदमै अनैतिहासिक वा इतिहासविरोधी छन । अतीतप्रतिको उनको विक्षोभ यसैको एउटा उदाहरण हो । वर्तमान परिस्थितिको निर्माण अतीतले गरेको हो र मनुष्यताको सारा अतीत मूढतापूर्ण विचारधाराहरूबाट भरिएको छ भन्ने उनको विचार यसअघि नै हामीले उल्लेख गरिसकेका छौं । पृथ्वीलाई मनुष्य सृजन गर्न चालीस लाख वर्ष लाग्यो, यो त्यति महत्वपुर्ण छ भनेर मुल्यांकन गर्ने रजनीश जब अतीतलाई सम्पूर्णतया गाली गर्दछन् त्यतिखेर उनको यही इतिहासविरोधी दृष्टिकोण प्रकट हुन्छ ।

भौतिक तत्वमा रस लिने र आत्मिक तत्वको गहन खोजीमा लाग्ने नयाँ र परिष्कृत मानिसको जुन चित्र ओशोले ‘जोरबा दि बुद्ध’ भन्ने सूत्रबाट व्यक्त गर्ने प्रयत्न गरेका हुन् ती ‘जोरबा’ र ‘बुद्ध’ दुवै जना अतीतकै देन थिए भन्ने तथ्य हामी सबैलाई थाहा नै छ । त्यस्तै ओशोले आफ्नो चिन्तनमा विज्ञान र प्रविधिमाथि जुन विशेष जोड दिएका छन् त्यो विज्ञान र प्रविधिको विकास पनि आज एकाएक नभएर अतीतदेखिकै निरन्तर विकासको परिणाम हो भन्ने पनि हामी बिर्सन सक्तैनौं । अरू सबै कुरालाई छाडेर ओशोले आफ्नो चिन्तनमा अतिशय महत्व दिएको ध्यानको विषयलाई नै लिने हो भने पनि ध्यानका ती विधिहरूमध्ये अधिकांश वा प्रायः सबै नै ओशोले अतीतका विद्वानहरूबाट प्राप्त गरेका हुन् भन्ने तथ्य कसैबाट छिप्न सक्ने विषय होइन । अनि एकोहोरो रूपमा अतीतको विरोध के का लागि स्वतः प्रश्न उठ्न पुग्छ ।

ओशोको अतिशय भोगवादी चिन्तनका सन्दर्भमा पनि केही उल्लेख हुनु म आवश्यक ठान्दछु । पश्चिमा पूँजीवादी समाजको व्यभिचार, वेश्यावृत्ति र बहुगामितालाई वैधता प्रदान गर्ने प्रयत्न बाहेक यो अरू केही हुन सक्तैन । विवाहप्रथाको विरोध, मुक्त प्रेममाथि विशेष जोड, सम्भोगलाई विशुद्ध क्रीडा, आनन्दको विषय, खतरा र उत्तरदायित्वबाट मुक्त बनाउनुपर्ने उनको दृष्टिकोणले त्यही चिन्तनलाई प्रतिनिधित्व गर्दछ । यौनप्रति उनको विशेष मोह व्यक्त भएको पाइन्छ । यौनतृप्तिलाई परमात्माको प्राप्ति मान्ने, सम्भावना भयो कि सम्भोग गर्नुपर्छ भनेर उत्प्रेरित गर्ने र बढी हारमोन हुनेहरूका लागि बहुगामिता नैतिक हो भनेर खुल्ला रूपमा बहुगामितालाई प्रश्रय दिने उनका चिन्तनहरू यौन स्वच्छन्दता र अराजकताका पक्षमा रहेका छन् र यो खुलेआम वेश्यावृत्तिलाई बढावा दिने दृष्टिकोण हो ।

विवाहप्रथाको ओशोको विरोध पनि मूलतः उनको यही एउटा जीवनमा धेरै जीवन जिउने र जीवनलाई अधिक समृद्ध बनाउने अर्थात् बहुपति वा बहुपत्नीप्रथालाई प्रश्रय दिने र सम्भव भएसम्म यौनसम्बन्ध स्थापित गर्ने चिन्तनका कारणले रहेको हो कि भनी तर्क गर्ने पर्याप्त अवसरहरू छन् । निश्चय नै, हाल प्रचलनमा रहेको एकनिष्ठ विवाहप्रथा नारीका निम्ति दासता र पुरुषका निम्ति व्यभिचार र वेश्यावृत्तिमा आधारित विवाहप्रथा हो । यसले नारीका लागि एकनिष्ठतामा जोड दिन्छ पुरुषका लागि होइन । त्यसैले यसको विरोध हुन अस्वाभाविक होइन । तर एकनिष्ठ विवाहप्रथाको बिराध गर्नु भनेको पुरुषले गर्दै आएको बहुगामितालाई स्त्रीका निम्ति पनि विस्तारित गर्नु पटक्कै होइन । यसको उल्टो पुरुषका निम्ति पनि एकनिष्ठता लागू गराउनुचाहिँ हो । यौनका पक्षमा समेत पुरुषलाई जत्तिकै नारीलाई पनि समान अवसर, तह र स्थान प्रदान गर्नु हो । यसो गर्न भनेको विवाहलाई प्रेममा आधारित बनाउनु हो । यसको अर्थ विवाह तिनीहरूका बीच गरिने वा हुने प्रथा चलाइनुपर्दछ जसका बीच प्रेम हुन्छ । जहाँ प्रेम हुँदैन, त्यहाँ विवाह नहुने मात्र होइन विवाह भएकै खण्डमा पनि यौनसम्बन्ध पनि अनैतिक मानिनुपर्दछ र यस्तो भएको खण्डमा सम्बन्धविच्छेद अपरिहार्य हुन्छ । ओशोले विवाहप्रथाको विरोध गर्दा उठाएको महत्वपूर्ण तर्क भनेकै विवाह स्थायी हुनु र प्रेमको हत्यामा विवाहप्रथा खडा हुनु रहेको छ । प्रेममा आधारित विवाहलाई मान्यता दिनासाथ उनको यो तर्क स्वतः खण्डित हुन पुग्दछ । विवाहलाई औपचारिकताको अर्थमा मात्र बुझ्नु हुँदैन । यौनसम्बन्ध स्थापित गर्ने र सँगै बस्ने वा छुट्टिने काम व्यावहारिकतामा विवाह गर्नु र सम्बन्धविच्छेद गर्नु नै हो । त्यसरी सारमा विवाहलाई स्वीकारिसकेपछि सामाजिक मान्यताका दृष्टिले यसलाई सहज बनाउन कसैले समारोह गर्छ नै भने यसको विरोध गरिरहनुको खास केही तुक देखिदैन । दुई व्यक्तिका बीचको व्यक्तिगत मामिला भएकाले यसलाई विशेष चर्चा – परिचर्चाको विषय बन्नबाट पर राख्न सक्दा त्यो नराम्रो कुरोचाहिँ होइन ।

यहींनिर वंशउत्पादनसम्बन्धी ओशोको अल्पतन्त्रलाई चरम विशेषाधिकारसम्पन्न बनाउने चिन्तनका बारेमा पनि स्पष्ट हुन आवश्यक हुन्छ । प्रतिभासम्पन्न, मेधावी र स्वस्थ सन्तान जन्माउने आकर्षक नारामा केही अति सीमित विशिष्ट, समाजमा उत्कृष्ट ठहरिएका व्यक्तिहरूको शुक्राणुलाई मात्र सन्तानोत्पत्तिका लागि उचित ठह¥याउने र सबै प्रेमीप्रेमिकालाई सन्तानोत्पादन गर्नबाट रोक लगाउने ओशोको चिन्तन रहेको छ । यही अर्थमा उनले संभोगलाई विशुद्ध क्रीडा एवं आनन्दको विषय मात्र बनाउने र सन्तान हुने खतरा र जिम्मेवारीबाट मुक्त पार्ने अति चरम भोगवादी विचार अघि सारेको पाइन्छ । यसमा संभोगलाई सामाजिक दायित्वका रूपमा, मानवसमाजलाई निरन्तरता दिने र मानव सृजना गर्ने गहनतम र महान् उत्तरदायी कार्यका रूपमा नहेरी यसलाई मात्र भोगवादमा पतन गराउने दृष्टिकोण व्यक्त भएको छ ।

यसरी केही अति थोरै कथित प्रतिभावान् र मेधावी समाजका विशिष्ट व्यक्तिहरूलाई सन्तानोत्पत्तिको विशेषाधिकार त ओशोले दिएकै छन, समाजका अधिकतम मानिसहरूले सन्तान जन्माउने दायित्वबाट पन्छने स्थिति खडा भएपछि ती विशेषधिकार दिइएको व्यक्तिले पनि संतानउत्पादन आफूबाट नगराउने अडान लिए भने समाजको अवस्था के हुने यसको जवाफचाहिँ ओशोले कहींकतै दिएका छैनन । ओशोको मान्यता नै के रहेको छ भने व्यक्ति जस्तो छ त्यही रूपमा उसलाई सम्मान दिइनेछ अरू कसैको आदर्श अनुसार उसलाई हेर्ने काम हुनेछैन । यसको अर्थ के भने मानिएका विशिष्ट प्रतिभाशाली व्यक्तिहरूले सन्तान जन्माउन नचाहेमा उनीहरूको विचारको पनि सम्मान नै हुनु पर्नेछ, त्यसो भएको खण्डमा समाजको अस्तित्व कसरी रहन्छ ?

समाजको हितका विपरीतको उनको यस्तै किसिमको अर्को विचारका बारेमा पनि यहाँ केही कुरा उठाउनु उचित नै हुनेछ । उनले कम्युनका सन्दर्भमा आफ्नो दृष्टिकोण व्यक्त गर्दा अल्छीहरूलाई पनि काम गर्नेहरू सरह नै त्यहाँ सम्मानका साथ राख्ने विचार व्यक्त गरेको पाइन्छ । कम्युनमा त्यस्ता मानिसहरू भएका खण्डमा त्यस्तो कम्युन समृद्ध कम्युनको तुलनामा कम समृद्ध होला कुरो त्यति मात्र हो भनेर यसलाई उनले अति हलुकासँग हेरेको देखिन्छ । तर सुविधा खोज्ने र काम नगरी ससम्मान समाजमा बाँच्न पाउने स्थिति भएपछि काम नगर्ने प्रवृत्ति विकसित हुनु स्वाभाविक हुन्छ र त्यस्तो कम्युन अस्तित्वमा नरहनु पनि अस्वाभाविक कुरो हुँदैन । यसरी उनी निर्माणको पक्षमा रहेका हुन् कि विनाशको पक्षमा गम्भीर प्रश्न उत्पन्न हुन्छ ।

ओशोको चिन्तनमा राजनीति र राजनेता प्रतिको विद्वेष डरलाग्दो रूपमा विद्यमान छ । उनको दृष्टिमा राजनीति रोग हो । राजनीतिकहरू एक थोक भन्दछन् र अर्को थोक गर्दछन् । उनीहरूको अनुहार वास्तविक अनुहार नभएर मुखुन्डो मात्र हो । राजनीतिकहरू मूलतः नपुंसक हुन्छन् । त्यसैले उनीहरूमा सत्ताको लालसा हुन्छ । आफ्नो कमजोरी, हीनता र शक्तिहीनताका बारेमा उनीहरूलाई बोध छ । उनीहरू केही होइनन् भन्ने उनीहरूलाई थाहा छ । तर जनसाधारणलाई उनीहरूले तिनको आवश्यकतालाई पूर्ति गर्नेछन् भन्ने विश्वास दिन सकेको खण्डमा पारस्परिक सम्झौता हुन्छ । यसरी जनताले उनीहरूलाई शक्ति दिन्छन ।

अनि आफ्नो हातमा सत्ता आउनासाथ उनीहरू आफूले दिएका सबै आश्वासनहरू बिर्सन्छन् । राजनीतिक अरू केही नभएर अहंकारी मात्र हुन्छ । ओशोले राजनीतिक व्यक्तिलाई अपराधी मात्र होइन कुकुर र गधा जस्ता विशेषण लगाएर निकृष्ट पाराले गाली गर्ने गरेका छन् । तर ओशो स्वयं राजनीतिबाट संचालित छन् र उनको चिन्तनमा राजनीतिको प्रमुख स्थान रहेको छ । त्यसैले उनको राजनीति र राजनीतिज्ञको विरोध आफैमा उनको राजनीतिको एउटा पाटो मात्र हो भन्ने तथ्यलाई हामीले बिर्सनु हुँदैन । अनि फेरि राजनीतिमाथि यति ठूलो विद्वेष किन ? के साँचो हो भने विश्वमा शोषणमुखी राजनीति गर्नेहरूले मानवताका विरुद्ध भयानक षड्यन्त्रहरू गर्दै आएका छन् र तिनले आज पनि गरिरहेकै छन् । तर सबै राजनीति र राजनीतिकलाई एउटै श्रेणीमा राखेर मूल्यांकन गर्नु गलत हुन्छ, विश्व इतिहासले नै पनि पर्याप्त पष्टि गरेको विषय हो यो । अर्को कुरो, समाजमा राज्यसत्ता कसरी देखा पर्यो, राजनीतिको आवश्यकता किन देखियो र यसको कारण के थियो भन्ने यथार्थलाई उपेक्षा गरेर राजनीतिको एकोहोरो विरोध गर्नु एकदमै अनैतिहासिक दृष्टि हो भन्ने स्पष्ट नै छ । सबैले बुझन सकिने तथ्य के हो भने ओशोको विश्वशासन, गुणतन्त्र, कम्युन र शासनसत्ताका लागि मानिसहरूलाई प्रशिक्षण दिने चिन्तन सबैमा राजनीति छ ।

यो राजनीतिमा आम जनताको सट्टा बुद्धिजीवीहरूलाई स्थापित गर्ने र पढलेखेका केही मानिसहरू अर्थात् अल्पसंख्यामा रहेका मानिसको अल्पतन्त्र कायम गर्ने दरिलो अडान छ । यस अतिरिक्त बुद्धिजीवीले राजनीतिकको स्थान लिएको खण्डमा वा बुद्धिजीवीहरूले सत्तामा रहेर शासन गरेमा त्यो राजनीति नहुने अनौठो र छक्कलाग्दो तर्क ओशोको प्रवचन र लेखमा जहाँसुकै देख्न पाइन्छ । राजनीति गर्नेहरू बुद्धिजीवी हुन् कि अरू ? बुद्धिजीवीले राजनीति गरेको खण्डमा तिनले राजनीतिज्ञहरूले जस्तो शोषण, दमन वा विभिन्न किसिमका बदमासीहरू गर्दैनन् भन्ने तर्कलाई पनि न इतिहासले नै पुष्टि गर्दछ न त वर्गीय समाजमा तिनले वर्गभन्दामाथि उठेर काम गर्लान भनी विश्वास नै गर्न सकिन्छ ।
ओशोसाहित्य सम्पूर्ण नै व्यक्तिलाई सम्बोधन गरेर निर्मित भएको छ । समूहमाथि, भीडमाथि ओशोको वितृष्णा र अविश्वास रहेको छ । तर विडम्बना भन्नुपर्छ – ओशोले आफै सन्यासीहरू र माँहरूको समूह वा भीड जम्मा गर्ने कार्य गरेका छन् । एकातिर व्यक्तिमुखी हुनु, व्यक्तिवादको चरम उन्नयन गर्नु, चरम भोगवादी यौन स्वच्छन्दताको पक्षपोषण गर्नु र अर्कातिर रूढि, अन्धविश्वासको विरोध र विज्ञान तथा प्रविधिमाथि विशेष जोड दिनु आदि कारणहरूले गर्दा ओशो सम्प्रदायलाई पूँजीवाद वा साम्राज्यवादी समाजको सबैभन्दा उन्नत सम्प्रदाय भन्न सकिन्छ ।

ओशोले धर्मका बारेमा व्यक्त गरेका विचारसम्बन्धमा यसअघि केही उल्लेख भैसकेको छ । ओशोका दृष्टिमा धर्मको सबैभन्दा उल्लेखनीय विषय भनेको यो विश्वासमा आधारित हुनु हो । उनले स्पष्ट शब्दमा भनेका छन् –सबै धर्महरूको जोड एउटै मात्र कुरो विश्वासमा जोड भएको कारणले मानिस आजसम्म बुद्धिहीनतामा बाँचेको छ । विश्वास बुद्धिका निम्ति जहर हो । धर्महरू खालि एउटै कुरो विश्वासमाथि जोड दिने गर्दछन् र विश्वास सबै किसिमको विकासको बाधा हो । ओशोले आफूले कल्पना गरेको नयाँ मानिसको बारेमा भनेका छन् उसको कुनै विश्वासव्यवस्था हुनेछैन र कुनै विश्वास हुनेछैन । ऊ खोजी हुनेछ, अन्वेषक हुनेछ, अनुसन्धान गर्नेछ । उसको जीवन एक प्रगाढ आविष्कारकको हनेछ । बाह्य र आन्तरिक जगत दुवेमा आविष्कारक । बाह्य जगतमा ग्यालीलियो कोपरनिकस, कोलम्बस र आन्तरिक जगतमा गौतम बुद्ध, जरथुस्त्र र च्वाग्त्सु । तर ओशो सम्प्रदायले यस किसिमका मानिसहरूको निर्माण गर्नुको सट्टा ओशोका मतहरूलाई अकाट्य प्रमाणका रूपमा ग्रहण गने धार्मिक मतावलम्बीहरूको निर्माण गर्नमा नै बढी चासो लिएको स्पष्टतया देखिएको छ ।

यही कारण विज्ञानले पुष्टि गर्नै नसक्ने पुनर्जन्म र जीवनको शाश्वततामाथि विश्वास गर्ने, भगवानमाथि आस्था राख्ने र भजनकीर्तनमा रमाउने ओशोको मतलाई यसका अनुयायीहरूले आलोचनात्मक दृष्टिले नहेरी अकाट्य विश्वासका रूपमा लिने गरिरहेका छन् । यसको अर्थ ओशोले जेजस्तो मत प्रचार गरे पनि त्यसलाई विश्वासका रूपमा मान्यता दिएर ओशो सम्प्रदाय आज धार्मिक सम्प्रदायका रूपमा विकसित हुने प्रक्रियामा अघि बढिरहेको सजिलै देख्न सकिन्छ ।

अब म ध्यान सबै समस्याको समाधान हो भन्ने ओशोको विचारका सम्बन्धमा केही कुरा राख्न चाहन्छु । ओशोले परम्परागत ११२ वटा ध्यानहरूलाई आधुनिकतम मनोविज्ञान, मनोचिकित्सा र मनोविश्लेषणबाट प्राप्त ज्ञानका आधारमा परिष्कृत गर्ने काम गरेका छन् । निश्चय नै, ध्यानले व्यक्तिलाई मनोग्रन्थि र मनोदशाका समस्याबाट केही समय मुक्ति दिने, तिनलाई बिर्साउने र सामाजिक समस्याबाट केही समय अलमल्याउने (डाइभर्ट) काम गरेर सहयोग पुयाउँछ । त्यति मात्र होइन, ध्यानले मानिसलाई केही समय ऊर्जा, मानसिक शान्ति, स्फूर्ति समेत प्रदान गर्दछ । तर यसले सामाजिक समस्याहरू वा व्यक्तिगत समस्याहरूलाई समाधान गर्दैन । चुनौतीका साथ के भन्न सकिन्छ भने यसले समस्याबाट मुक्ति होइन, केही समय पलायन गराउने मात्र हो । व्यक्तिलाई यसले सापेक्ष रूपले लाभ दिन सक्तछ, समस्याको समाधान भने गर्दैन ।

माथिका कतिपय कुराहरूलाई दृष्टिगत गरेर के भन्न सकिन्छ भने ओशोको विचार महान् कल्पनामा आधारित छ, वस्तुपरक चिन्तनमा होइन । भौतिक परिस्थितिमा परिवर्तन नगरी मानसिक स्थिति बदल्न सकिन्न भन्ने भौतिकवादी चिन्तनका विरुद्ध लक्षित छ ध्यानआन्दोलन । ध्यान भौतिक स्थिति नबदली मानसिक स्थिति बदल्न सकिन्छ भन्ने चिन्तनमा आधारित छ । यो व्यक्तिमुखी मात्र होइन, समाजविरोधी पनि छ ।

माथी संयुक्त राष्ट्र संघलाई औपचारिक संगठनको सट्टा एक विश्वशासन बनाउनुपर्छ भन्ने ओशोको विचारको उल्लेख भैसकेको छ । ओशोले भनेजस्तो सबै राष्ट्रले आ–आफ्ना सेना र हातहतियारहरू संयुक्त राष्ट्र संघलाई सजिलै समर्पित गर्ने स्थिति भएको भए संयुक्त राष्ट्र संघ उहिल्यै विश्वशासन बनिसक्ने थियो । यो कोरा कल्पना हो भन्ने कुरा स्वयं अनुभवले पुष्टि गरिसकेको छ । यस्तै कल्पना कम्युन, वस्तुविनिमय, पैसाको बिदाइ र कम्युनको परस्पर निर्भरताका सम्बन्धमा पनि देखापर्दछ । ओशोले जङ्गलको घना र हरिलो भरिलो क्षेत्रमा, पहाड र द्वीपमा बसेका रेखदेख गर्न सजिलो हुने गरी बनाइएका पाँच हजारदेखि पचास हजारसम्मका सस्याना लाखौं कम्युनहरूको कल्पना गरेका छन् । ओशोका विचारमा आधारित भएर त्यस्ता कम्युनहरू जे जति बन्न सक्थे, ती बन्न नसक्नु र बनेका कम्युनमा वस्तुविनिमय नभएर पैसाकै उपयोग हुनुले यो चिन्तन काल्पनिक रहेको पुष्टि गर्दछ । त्यसरी नै कम्युनको परस्पर निर्भरताको कुरो पनि भारतको पुनास्थित कम्युन र नेपालको नागार्जुनमा रहेको कम्युनमा देखा परेको परस्पर कटुता र विरोधले नै वस्तुगत नभएको देखाइसकेको छ ।

विडम्बना नै भन्नुपर्छ – जुन सामाजिक शक्ति र चिन्तनका विरुद्ध रजनीशको विचार लक्षित भएझै देखिन्छ, त्यही साम्राज्यवादलाई नै यसले व्यवहारमा लाभ पु¥याइरहेको छ । पूँजीवाद वा त्यसको चरम रूप साम्राज्यवादको उद्देश्य मानिसलाई घोर व्यक्तिवादी बनाउनु, समाज, परिवार, राष्ट्र र तिनका समस्याबाट व्यक्तिलाई विमुख गराउनु, संगठित वर्गीय एवं सामाजिक संघर्षबाट मात्र सामाजिक समस्याहरू समाधान हुन सक्तछन् भन्ने चिन्तनबाट व्यक्तिलाई पर राख्न विशेष भूमिका निर्वाह गर्नु र त्यसरी काम गर्ने चिन्तनका विरुद्ध विचार फैलाउने काम गर्नु रहदै आएको छ । ओशोका विचारहरूले पनि साम्राज्यवादले जे चाल चालिरहेको हो त्यसलाई पूर्णतया सहयोग पु¥याइरहेका छन् ।