September 5, 2024, Thursday
२०८१ भाद्र २०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

मुगुमा पनि पुगेन पाठ्यपुस्तक, हेलिकोप्टरबाट पुर्‍याइयो मतपत्र

२०७९ कार्तिक २१

760

काठमाडौं: निर्वाचन आयोगले गत शनिबार हेलिकोप्टरबाट मतपत्र मुगु पठाएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार कर्णालीका सबै जिल्लाहरुमा मतपत्र ढुवानी भइसकेको छ । तर शैक्षिक सत्र सुरु भएको ७ महिना भैसक्दा पनि विद्यार्थीलाई अत्यावश्यक पर्ने पाठ्यपुस्तक भने अझै पुग्न सकेको छैन । मुगुका अधिकांश विद्यालयहरुमा अझै पाठ्यपुस्तक नपुगेको स्थानीय बासिन्दा,शिक्षक र विद्यार्थीहरु गुनासो गर्छन् ।

आम निर्वाचन नजिकिए संगै हेलिकप्टरबाटै मतपत्र ढुवानी हुँदा,दलहरुका घोषणापत्र हातहातमा आइपुग्दा र विद्यालयहरुलाई मतदान केन्द्रका लागि धमाधम तयारी गर्दै गर्दा त्यहाँका विद्यार्थीहरु अनौठो मान्ने गर्दछन् । पाठ्यपुस्तक हातमा नभएकै कारण आफ्नो सिकाइमा असर पर्दा विद्यार्थीहरु निराश छन् भने विद्यालयको शैक्षिक गुणस्तरमा नै कमी आउँदा शिक्षक र अभिभावकहरु पनि निराश भएका छन् ।

केही दिन अगाडि मात्रै रोल्पाबाट पाठ्यपुस्तक अभावकै खबर विभिन्न सञ्चार माध्यमहरुमा छाएको थियो । फेरि पनि मुगुबाट सोही प्रकृतिको खबर आउनुले मुलुकका धेरै ठाउँमा पाठ्यपुस्तक नपुगेको समस्या सतहमा आएको छ । तर पनि यहाँका शासक,प्रशासक र मुलधारका भनिएका राजनितिक दलहरु भने पाठ्यपुस्तक जस्तो महत्वपुर्ण कुरालाई बेवास्ता गर्दै मतपत्र र घोषणापात्र छापेर टोलटोलमा पुर्‍याउन र बाँड्नमै व्यस्त छन् ।