September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

शुक्रबारदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण हुने

२०७९ मंसिर २२

424

काठमाडौंः मेलम्ची आयोजनाले उपत्यकाको काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा पानी वितरण गर्ने भएको छ । सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानमा गत जेठमा बन्द गरिएको सुरुङको मुखबाट ११ दिनअघि मेलम्ची खोलाको पानी प्रवेश गराइएको थियो । बाढीले मुहान क्षति गर्ने सम्भावनाका कारण सुरुङको मुख बन्द गरिएको थियो ।

मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार गत १८ गते काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा झरेको पानी वितरण गर्न लागिएको हो । प्रशोधित पानी बिहीबार बेलुकी महाङ्कालस्थित रिजर्भ ट्याङ्कीमा पठाउने योजना रहेको छ । शुक्रबार बिहान पानी औपचारिक घर–घरको धारहरूमा पठाइनेछ । पानी सबै स्थानमा भने एकै पटक पठाइने छैन । उपत्यकाको विभिन्न १० स्थानमा रहेको रिजर्भ ट्याङ्कीमा पानी पठाउन करिब ७७ किमि पाइपबाट वितरण गर्नुपर्छ । यसको व्यवस्थापन भने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गर्नेछ ।

शुक्रबार बिहान खानेपानी मन्त्री उमाकान्त चौधरीको उपस्थितिमा पानी वितरण सुरु गर्ने कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । २०७८ असारको बाढीले क्षतविक्षत भएको मेलम्चीको हेडवर्क्सलाई अस्थायी रुपमा व्यवस्थापन गरेर पानी ल्याइएको हो । हेडवर्क्सलाई स्थायी संरचनाको रुपमा कसरी निर्माण गर्ने भन्ने योजना बनिसकेको छैन । हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याउने तयारी छ । यसपछि दोस्रो फेजमा सिन्धुपाल्चोककै याङ्ग्री र लोर्के खोलाबाट १७ , १७ करोड लिटर पानी राजधानी ल्याउने योजना रहेको छ ।