September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

काभ्रे बस दुर्घटनाः १७ को मृत्यु,१३ को पहिचान र २२ जनाको उपचार हुँदै

२०७९ मंसिर २८

1.2K

काठमाडौंः काभ्रेको बेथानचोक गाउँपालिका वडा नं ४ को चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख, एसपी चक्रराज जोशीका अनुसार मृत्यु हुनेमध्ये ७ जना एउटै वडाका छन् । मृतक ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङ बनेपा नगरपालिका वडा नं ११ का हुन् ।

मृतक मध्ये १३ जनाको पहिचान भएको छ । अन्य मृत्यु हुनेमा बनेपा १४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नगरपालिका १ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल ११ का ३० वर्षीय बुद्ध तामाङ र बेथानचोक ५ का ३२ वर्षीय मञ्जु तामाङ छन् । बस चालक ललितपुर महांकालको ४ घर भई हाल पनौती ४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको समेत मृत्यु भएको छ । मृतकमध्ये ४ जनाको नाम नखुलेको प्रहरी प्रमुख जोशीले जानकारी दिएका छन् ।

बनेपा नगरपालिका–११ बाट व्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार राति दुर्घटना भएको थियो । दुर्घटनामा घाइते २२ जनाको धुलिखेल अस्पताल, बनेपाको शिर ममोरियल अस्पताल, मध्यपुर थिमि अस्पताल, वीर अस्पताल र न्यूरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ। बसमा ३९ सवार थिए ।