September 5, 2024, Thursday
२०८१ भाद्र २०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

प्रदेश १ सरकारमा माओवादी सहभागी नहुने,मुख्यमन्त्रीले आजै सपथ लिँदै

२०७९ पुष २५

766

काठमाडौंः सत्तारूढ दलका शीर्ष नेताहरूको निर्णयलाई चुनौती दिँदै प्रदेश १ मा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी नहुने भएको छ । मुख्यमन्त्रीमा प्रदेश १ का माओवादी केन्द्रका प्रदेश सांसदहरूको भावना विपरीत निर्णय गरेकाले तत्काल सरकारमा नजाने माओवादी केन्द्रले जनाएको हो ।

माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले यस प्रदेशका प्रदेश सांसदहरूको भावना विपरीत प्रदेश सरकारको नेतृत्व आलोपालोको सहमति नगरेकाले तत्काल सरकारमा नजाने बताएका छन् । उनले सत्तारूढ दलका शीर्ष नेताहरूले यस प्रदेशमा सरकारको नेतृत्वको विषयमा गरेको निर्णय सच्याउन माग गरेका हुन् । एमालेका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्तिका लागि संसदीय दलको बैठकले समर्थन गर्ने निर्णय गरिसकेकाले तत्काल त्यो फिर्ता गर्न नमिल्ने अवस्था रहेको तर माओवादी केन्द्र सरकारमा सहभागी नहुने आङ्बोको भनाइ थियो ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले ५ सदस्यीय मन्त्रीमण्डल गठन गरेर शपथ लिने तयारी गरेका बेला माओवादी केन्द्रले सरकारमा सहभागी नहुने निर्णय गरेको छ । कार्कीले आज दिउँसो २ बजे प्रदेश प्रमुख परशुराम खापुङबाट मुख्यमन्त्रीमा शपथ लिने कार्यक्रम रहेको छ ।