September 5, 2024, Thursday
२०८१ भाद्र २०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

मलेसियामा डेढ दर्जन नेपाली अलपत्र,राजदुतावासको बेवास्ता

२०७९ पुष २७

626

काठमाडौंः मलेसियामा रोजगारीका लागि पुगेका डेढ दर्जन नेपालीहरु अलपत्र परेका छन् । मलेसियाको केलाङ सहरको एक भवनभित्र अलपत्र परेका उनीहरू चिसो भुइँमा कष्ठसँग दिनरात बिताइरहेका छन् । कम्पनीले गरेको ज्यादतीविरुद्ध बोल्दा कामबाट निकालिदिएपछि उनीहरु एक सातादेखि अलपत्र परेका हुन् । कम्पनीबाट निकालेर एक भवनको अनकन्टार कोठामा लगेर छाडेका म्यानपावर कम्पनीका एजेन्टले उनीहरुलाई कोठा बाहिर ननिस्कन भनेको छ ।

पीडित बाबुलाल विश्वकर्माका अनुसार उनीहरु बसेको कोठामा बत्ती, पानी र खानाको सुविधा दिइएको छैन । काठमाडौंको खोजी रिक्वायरमेन्टबाट ४ महिनाअघि मलेसिया पुगेका उनीहरुमध्ये रौतहटका हिरालाल राउतलाई ‘हङ टिज चिकेन सप्लायर्स’ कम्पनीका सञ्चालकबाट अभद्र व्यवहार र कुटपिट भएको थियो । त्यसअघि पनि अन्य श्रमिकले यस्तो यातना सहेकाले उनीहरु सबै एकजुट भएर त्यस्तो हर्कतविरुद्ध बोलेका थिए ।

५० किलो तौलको बोरा उचाल्न नसकेको भन्दै कुटपिटमा उत्रिएका कम्पनी सञ्चालकविरुद्ध आवाज उठाएपछि २८ जनालाई कामबाट निकालिदिएको थियो । त्यसपछि म्यानपावर कम्पनीको समन्वयमा एजेन्टले एउटा कोठामा ल्याएर छोडेको हो । मलेसियास्थित नेपाली दूतावासका अधिकारीहरुले श्रमिकहरुलाई आएर भेटेपनि सकेसम्म मिल्न र कम्पनीमा फर्किएर काम गर्न अनुरोध गरेको थियो । युवाहरूले दुर्ब्यवहार सहेर काम गर्न नसकिने बताएपछि प्रहरीमा प्रमाणसहित उजुरी गर्न सुझाव दिएर दूतावासका अधिकारी फर्किएका थिए ।

त्यसपछि आधा दर्जन युवाहरु काममा फर्किएका छन् । तर, यातना सहेर नबस्ने भन्दै डेढ दर्जनभन्दा बढी नेपाली भने अझै उद्धार मागिरहेका छन् ।