September 5, 2024, Thursday
२०८१ भाद्र २०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

महानगरले नदेखेको डिल्लीबहादुरको ह्विलचियर

२०७९ माघ २०

882

काठमाडौंः  बुधबार गोरखापत्रमा एक ह्विलचियरमा बसिरहेका व्यक्तिलाई काठमाडौं महानगरको गाडीमा उठाएर हालिएको तस्बीर सार्वजनिक भयो । सो तस्बीर सार्वजनिक भएसँगै एकाएक सामाजिक संजालमा महानगरको सो कामको तीव्र रुपमा आलोचना भयो । आलोचना नसहने र प्रचारमुखी काममा रमाईरहेको महानगरले यस तस्बीरलाई लिएर भएको आलोचनालाई खण्डन गर्दै सामाजिक संजाल फेसबुक मार्फत स्पष्टिकरणसमेत दिन बाध्य भयो ।

स्पष्टिकरणमा महानगरले भनेको छ, ‘नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार प्रचार गरिएका व्यक्तिलाई आश्रम लैजान लाग्दा नमानेपछि हिजो साँझ बहिनी र भाञ्जाका जिम्मामा छाडिएको थियो । आश्रममा जान नमान्ने उनी आज पनि चुरोट, गुट्खालगायत बस्तु विक्री गर्न सडकमै निस्किएका छन् । अहिले नगर प्रहरीले उनलाई आश्रममा जानका लागि सम्झाइ बुझाइ गरिरहेको छ ।’ तर वास्तविकता भने स्पष्टिकरणमा भनिएजस्तो नभएको तथ्य बाहिरिएको छ ।

को हुन् डिल्लीबहादुर कार्की ?

डिल्लीबहादुर कार्कीको स्थायी ठेगाना दोलखा हो । दोलखा सैलुङ गाउँपालिकाका कार्की अहिले काठमाडौंमा श्रीमती र छोरीसंग बस्दै आएका छन् । कार्कीको करिब तीन वर्ष अगाडी बाख्रालाई घाँस काट्ने क्रममा रुखबाट लड्दा तीन ठाउँमा मेरुदण्ड भाँचिएको थियो । जसले गर्दा उनी कम्मर मुनिको भाग नचलेर ह्विलचियरमा बस्ने स्थितिमा पुगे । कार्कीको उपचारका क्रममा हालसम्म २० लाखभन्दा धेरै खर्च भइसकेको उनकी श्रीमती बताउँछिन् । अहिले पनि उनलाई डाइपर र नियमित औषधोपचार गर्न मात्रै मासिक २० देखि २२ हजारसम्म खर्च लाग्ने गरेको उनले बताइन् । उनको कम्मर मुनिको भाग नचल्दा दिसापिसाब रोक्नका लागि डाइपर लगाइरहनुपर्ने अवस्था रहेको छ । सबै सम्पत्ति उपचारमै खर्च भएपछि सडकमा झरेका डिल्लीबहादुर हाल परिवारको हातमुख जोर्न र आफ्नो उपचार खर्च गर्नकै लागि बाध्य भएर ह्विलचियरमै बसी मास्क,चुरोटजस्ता वस्तुहरुको बिक्री गर्दै आइरहेका छन् ।

महानगरले किन उठायो ?

डिल्लीबहादुर कार्कीको तस्बीर सार्वजनिक भएसँगै महानगरको आलोचना बढेपछि काठमाडौं महानगरले आश्रममा लैजाने भन्दै गाडीमा हालिएको स्पष्टिकरण दिएको छ । तर डिल्ली बहादुर कार्कीले भने ठुलो मान्छे भेटाउँछु र पछि यही ठाउँमा छोडछौ भन्दै झुक्याएर आफुलाई उठाएर लगेको र अलपत्र पारेको बताएका छन् । ‘मलाई ठुलो मान्छे भेटाउँछु भनेर वहाँहरुले लेरजानुभयो । अनि तपाइँलाई जस्तो लगेको त्यस्तै हामी यही ठाउँमा ल्याइदिन्छौ भन्नुभो वहाँहरुले । त्यहाँ लगेर गाडीबाट ओरालेर ४ घण्टा राख्नुभयो अनि साँढे ५ भएपछि जा भन्नुभयो’ । उनले भने । त्यस्तै उनले यसअघि पनि महानगरले आफ्नो सामान खोसेर लगेको बताएका छन् । जसका कारण उनी मर्नु बाहेक अब अर्को विकल्प नै नरहेको बताउँछन् ।

आधा शरीर नचलेको व्यक्तिलाई उठाएर महानगरले अन्याय गरेको डिल्लीबहादुरकी श्रीमती बताउँछिन् । ‘बालेनले कि बाटो देखाईदिन पर्‍योकि तेल्ले मार्नु नै पर्‍यो । होइन भनेदेखि यस्तो अन्याय आधा अंग मरेको मान्छेलाई किन गर्‍र्‍यो’ । उनले भनिन् । त्यस्तै उनले आफ्नो कमाएर ख्वाउने छोराछोरी पनि नभएको र राज्यले गरेर खान पनि नदिएको गुनासो समेत गर्छिन् । ‘मैले के गरी खानु ? न मेरो छोराछोरीले कमाएर देलान् भन्नु छ । मैले बाँच्नु त पर्‍योनी ? हामी नेपालीलाई मागेर खाँदा लाज हुँदोरछ । दुःख गरेर खाँदा पनि त्यसले मान्छे नै उठाएर लानुपर्छ भन्ने छैननी’ । उनले भनिन् ।

युवाहरुले केही गर्लान भन्ने आशामा थिए डिल्लीबहादुर

देशमा भइरहेका राजनीतिक घटनाक्रमहरुका बारेमा केही सचेत समेत रहेका डिल्लीबहादुर बालेन्द्र साह, रवि लामिछानेजस्ता युवाहरुले चुनावमा जितेर आउँदा आफुहरुका लागि पनि केही गर्लान भनेर आशा राखेका थिए । तर नगरप्रमुख बालेन्द्र साहले भने पदभार ग्रहण गरेसंगै अधिकांश गरिबहरुले आफ्नो जिविका चलाउनका लागि फुटपाथमा सामान बेचिरहेकाहरुलाई उचित व्यवस्थापन बिना नै जबरजस्ती बल प्रयोग गरी हटाउने कामलाई नै पहिलो प्राथमिकता बनाए र आफ्नो वर्गीय पक्षधरतालाई उदाङ्गो पारिदिए । दुईछाक हातमुख जोर्न फुटपाथमा दिनरात संघर्ष गरिरहेका सहर भित्र रहेका गरिबहरुलाई हटाएर मोटरसाईकल पार्किङ्गको लागि स्थान बनाए र ती फुटपाथ व्यापारीहरुका दुःख,पीडा र समस्याहरुलाई मजाक र सामाजिक संजालमा ट्रोलको विषय बनाउन अभिप्रेरित गरे । युवाहरुले चुनावमा जितेर केही गर्लान् र गरिबको पनि दिन आउँलान् भनेर गरेका डिल्लीबहादुरका आशा एकाएक निराशामा बदलियो र जो कोही सत्तामा आएपनि जसले चुनाव जितेपनि गरिबको दिन नआउने रहेछ भन्ने निष्कर्षमा पुगे ।

केही दिन अघि मात्र इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको घटनाबाट पाठ सिक्नुपर्ने अहिलेको शासक र प्रशासकहरुले फेरी पनि त्यस्तै घटना नदोहोर्‍याउने नीति अपनाएको भने पटक्कै छैन । यस्तै तरिकाले अझै अघि बढिरहने हो भने फेरी पनि प्रेमप्रसाद आचार्यको जस्तै अप्रिय घटना नघट्ला भन्न सकिँदैन र अन्ततः अहिलेको व्यवस्था नै संकटमा पर्ने खतरा समेत देख्न सकिन्छ ।