September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

कविताः मुक्तिको यात्रा

२०७९ माघ २०

926

  • आरबी हिमाली

एउटा जातलाई मान्छे
र अर्को जातलाई मान्छे बन्न नदिने
यो ढोँगी समाजबीच मुक्तिको युद्धमा
तिमी एक्लै नसम्झिनु ए कामी दाई
यी सामन्तीहरुको विरुद्धमा
म सामन्ती कुलको छोरो नै सही
तिमी सितै छु
म तिम्रो लागि बन्दुक लिएर आउँछु
तिमी बारुद बनेर उड ।

नडराउनु तिमी न आत्तिनु तिमी
रोक्नेले रोक्न खोज्लान
तिम्रो मस्तिष्कमा पाप नामको ताल्चा रोपि
तिमीलाई कमजोर पार्न खोज्लान
कथित देवता र धर्मको डर देखाइ ।

नरोक्किनु तिमि कदापि
नमान्नु चिन्ता पाप र डरको
तिमी एक्लै छैनाै‌
ए गाइने दाजै
यी कथित मान्छेहरुको भिडमा
सँगै उभिएका छन् मान्छेहरु पनि
तिम्रै सारङ्गीको तालमा
रातो सङ्गीत र आवाज लिएर ।

यी जिउँदा शासक मुर्दाहरुले ठग्नु ठगे
तिम्रो अस्तित्व र सभ्यताको चिहान खनी
लगाए तिम्रो चेतनामा आगो
र बनाए तिमीलाई बलि नामको बोको
यो सब भ्रम हो
यो सब झुटो हो
अब तिमीमा चेतना पलाइसक्यो
अब तिमी आफैँ उभिन सक्छौ
तिमीले गुमाएको हक र अधिकार विरुद्ध

अधिकार मागेर होइन
थुतेर लिन सिक, ए सार्की मित्र
जसरी तिमीले युगाै‌सम्म शासकको लाज छोप्यौ
अब त्यसरीनै आफ्नो लाज छोप्ने आँट गर

क्रान्तिको अन्तिम खोलासित
एक्कै चोटि अन्तिम साइनो गाँस
र खोलाकै बहाव जसरी
निकाल सदियौँदेखि दबाएका तिम्रा आवाजहरु

तिमी यत्ती बुझकी ….ए दमेनी भाउजू
भगवान एक मिथ्या हो
यिनीहरुको कमाउने र रजाइँ गर्ने बाटो हो
तिमीलाई परिबन्दमा पार्ने केवल एक तुच्छ भ्रम हो ।

यदि हुँदो हो त ईश्वर
किन मान्छे हुन दिएन तिमीलाई
होइनाै‌ भने मान्छे तिमी
किन भन्न सकेन पशु तिमिलाई ?
यदि हौ भने मान्छे तिमी
किन बाँच्न दिदैन मान्छे झै तिमिलाई?
यत्ती सम्म लाचार र निरीह
कसरी हुनसक्छ देवता ?
कसरी हुनसक्छ भगवान ?

हुन त तिमीलाई र मलाई थाहा छ
सजिलो छैन हाम्रो यात्रा कदापी छैन,
यो सत्य हो
क्रान्ति भनेकै त अप्ठ्याराहरुको मौसम हो
तर अप्ठ्यारो छ भन्दैमा
तिमिले र मैले थाक्नु हुँदैन
थाक्नु भनेको दबिन तयार हुनु हो
र दबिनु भनेको तिम्रो पिँढीको यात्रा
झनै कठिन हुनु हो ।

कहाँ सजिलो हुन्छ र ?
मानव मुक्तिको लडाइँ
तिमीलाई त सजिलो हुन सक्छ कि,
तिम्रो लडाइँ त मेरा भनिनेहरु सितको हो
तर मलाई हेरन
मेरो त झन म सितकै लडाइँ हो ।

मलाई
कुलङ्गार भन्लान्, वंशनाशी भन्लान्
म बाटो मै मारिन सक्छु उनीहरुको हातबाट
तर म मरे भने पनि
नछोड्नु तिमीले कदापि बाटो
एक म मराै‌ला
तर हजाराै‌ महरु जन्मिने छन् पक्कै
तिमी पनि मारिन सक्छौ
र मर्न तयार पनि हुनैपर्छ
तर तिमी मरे पनि
जन्मिने छन तिमी जस्तै लाखौँ आवाजहरु
उम्रने छ झन तिमी भन्दा चर्का आवाजहरु
र बुन्ने छन जात रहितको समाज
वर्ग रहितको मानव सभ्यता ।