काठमाडौंः अखिल नेपाल किसान महासंघले तत्काल स्वदेशी कृषि वस्तुको उचित मूल्य निर्धारण गरी बजारको सुनिश्चितता गर्न माग गरेको छ । महासंघले शुक्रबार आयोजना गरेको पत्रकारसँगको छलफलमा महासंघका अध्यक्ष बलराम बास्कोटाले उत्पादनको समुचित बजार र मूल्य नपाउँदा किसान ऋणमा डुब्दै जाने र विचौलिया तथा व्यापारी मोटाउने अवस्था रहेको बताउँदै खाद्य सम्प्रभुताको कार्यान्वयनमार्फत कृषि पेसालाई मर्यादित, आय र रोजगारीमूलक बनाउन सरकार संवेदनशील हुनुपर्ने बताए ।
कृषिमा आधारित अर्थतन्त्र रहेको हाम्रो देशमा बहुसङ्ख्यक जनता कृषिमा संलग्न रहेको उल्लेख गर्दै उनले भने, “कृषि उत्पादनले संरक्षण नपाउँदा एकातिर कृषि पेसाप्रतिको विकर्षण बढ्दो छ भने अर्कोतिर व्यावसायिक किसानले उत्पादित वस्तुको उचित मूल्य नपाएको अवस्था छ।” कृषि क्षेत्रको विकासका लागि किसानलाई आवश्यक मल, बीउबिजन आदि समयमै उपलब्ध गराउनु र उत्पादित वस्तुको बजारको ग्यारेण्टी गर्नु राज्यको प्रमुख दायित्व भएको अध्यक्ष बाँस्कोटाको भनाइ थियो।