September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

नामिबियामाथि नेपालको पहिलो जित

२०७९ फाल्गुन २

360

काठमाडौंः आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्र्तराष्ट्रिय सिरिजमा नेपालले नामिबियालाई हराएको छ । टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको हो । नेपालले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो पटक नामिबियालाई हराएको हो । नेपालले पाँचौं खेलमा नामिबियालाई हराएको हो ।

नामिबियाले दिएको २ सय ८५ रनको लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।
एकदिवसीय अन्तराष्ट्रियमा नेपालले पूरा गरेको यो सबैभन्दा ठूलो लक्ष्य हो । यस अघि यूएईले दिएको २ सय ५४ रनको लक्ष्य नेपालले पूरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले कीर्तिमानी शतकीय इनिङ खेले ।

भुर्तेलले १ सय १३ बलमा १० चौका र ४ छक्काको सहयोगमा १ सय १५ रनको शतकीय ईनिङ खेले । कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक हो । टी(ट्वान्टी अन्तराष्ट्रिय तथा एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने भुर्तेल तेस्रो नेपाली खेलाडी हुन् । यस अघि पारस खड्का र दीपेन्द्र सिंह ऐरीले दुवैमा शतक प्रहार गरेका थिए । कुशल एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने नेपालका पहिलो ओपनर पनि हुन् ।

यस्तै कप्तान रोहित पौडेलले ७६ बलमा ७२ रन बनाए । रोहितले ७ चौका र ३ छक्का प्रहार गरेका थिए । सन्दीप जोराले २४ बलमा २८ रन बनाए । उनले ३ चौका र १ छक्का प्रहार गरे । पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ३५ बलमा २५ बनाए । करण केसीले १२ बलमा २० रनमा बनाए । सन्दीप लामिछाने गोल्डेन डग आउट भए । नामिबियाका रुवेल ट्रम्पेलम्यान र जान निकोलले समान ३।३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले अन्तिम बलमा अलआउट हुँदै २ रन ८५ रन बनाएको थियो । उसका मिचेल भानले १ सय ३७ बलमा १ सय ३३ रनको शतकीय ईनिङ खेलेका थिए । उनले ९ चौका र ५ छक्का प्रहार गरेका थिए । कप्तान ग्रेर्हाड इरास्मसले ७९ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । जान ग्रिनले ३४ रन बनाएका थिए ।

नेपालका करण केसीले १० ओभरमा ६१ रन खर्चिएर ५ विकेट लिए । करणको यो एकदिवसीय अन्तराष्ट्रियमा तेस्रो ५ विकेट हो । एकदिवसीय अन्तराष्ट्रियमा तीन पाँच विकेट लिने करण पहिलो नेपाली खेलाडी हुन् । सन्दीप लामिछानेले ३ विकेट लिए । छ महिना पछि मैदान फर्किएका लामिछानेले १० ओभरमा ६६ रन खर्चिएका थिए । सोमपाल कामी र कुशल मल्लले समान १र१ विकेट लिए । सिरिजमा नेपाल २५ खेलमा २० अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३१ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।