September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

वैज्ञानिक आविस्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन: प्रधानमन्त्री दाहाल

२०७९ फाल्गुन ९

246

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विज्ञान र प्रविधिको विकास नभइकन नेपालको विकास हुन नसक्ने बताएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन् ।

‘वैज्ञानिक आविस्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन,’ उनले भने ।

वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसका विकास अपरिहार्य भएकोमा उनले जोड दिए । ‘अहिलेको युग नै विज्ञान र प्रविधिको हो । जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन,’ प्रधानमन्त्रीले भने ।

विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले अहिले विद्यमान ऐन कानुन तथा कार्यान्वयनमा देखिएका समस्या हल गर्दै अघि बढ्ने जानकारी दिए ।

आविस्कार केन्द्रका प्रमुख महावीर पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो ।

कृषि, शिक्षा, ऊर्जा, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्रमा नविनतम आविस्कारका माध्यमबाट आत्मनिर्भर नेपालको निर्माण गर्न सकिने अनुभव राख्दै पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताए ।

छलफलमा राष्ट्रिय योजना आयोगका अध्यक्ष मीनबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका विज्ञान प्रविधि विभाग प्रमुख गणेश साह, महासचिव देव गुरुङलगायतको उपस्थिति रहेको थियो ।