September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु

२०७९ फाल्गुन १२

288

काठमाडौंः मर्जरपछि हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु भएको छ । सिभिल बैंकलाई प्राप्ती गरेसँगै हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो । शुक्रबार हिमालयन बैंकको प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहकाबीच हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र तत्कालीन सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले पानसमा दियो बालेर एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।

सिभिललाई प्राप्ती गरेसँगै हिमालयन बैंक लिमिटेडको कुल पूँजी ३४ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । एकीकृत कारोबार शुभारम्भ गर्दै हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले मर्जरमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरे । त्यस्तै, उनले नौँ महिनाको लामो कसरत र छलफलपछि दुवै बैंकबीचको मर्जर सफल भएको बताउँदै आगामी दिनमा बैंकलाई थप सबल र उत्कृष्ट बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

हिमालयन बैंकले सिभिललाई १००ः८०.२८ सेयर अनुपातमा प्राप्ती गरेको हो । योसँगै अब सिभिल बैंकको १०० कित्ता सेयर हुनेको हिमालयन बैंकमा ८०.२८ कित्ता सेयर हुनेछ । मर्जरसँगै बैंकको कुल शाखा सञ्जाल १ सय ८१ र २० वटा एक्टेन्सन काउन्टर हुनेछ भने कुल कर्मचारीको संख्या १ हजार ९ सय ७३ रहनेछ ।