September 5, 2024, Thursday
२०८१ भाद्र २०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपाल एसिया कपमा

२०८० बैशाख १९

908

काठमाडौं: एसीसी मेन्स प्रिमियर कपको च्याम्पियन बन्दै नेपाल एसिया कपमा छनोट भएको छ । टियु मैदानमा मंगलबार भएको फाइनलमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल अपराजित रहदै च्याम्पियन बनेको हो ।

युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि गुलसन झाले ८४ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले । गुलसनले एकदिवसीय अन्तराष्ट्रियमा आफ्नो दोस्रो अर्धशतक ७५ बलमा पूरा गरेका थिए ।

गुलसनले भीम सार्कीसँग मिलेर चौथो विकेटका लागि ९२ रनको अविजित साझेदारी गरेका थिए । भीमले ७२ बलमा ३६ रनमा अविजित रहेका थिए । सुरुआत राम्रो हुन नसकेको नेपालका दुवै ओपनर सस्तैमा आउट भएका थिए । ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा रोहन मुस्तफाले एलबीडब्लु धरापमा पारे । अर्का ओपनर आसिफ शेखले आयान खानको बलमा ८ रनमा आउट भए । कप्तान रोहितकुमार पौडेल रोहन मुस्तफाको बलमा १ रनमा बोल्ड आउट भए ।

युएईका लागि रोहन मुस्तफाले २ तथा आयान खानले १ विकेट लिए । त्यसअघि टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो । रोकिएको स्थितीबाट आज खेल सुरु भएकोमा युएईले ११ रन थप्दै आफ्नो अन्तिम विकेट गुमायो । नेपालका लागि ललितनारायण राजवंशीलेले अन्तिम विकेट लिए ।

युएई ३३ दशमलब १ ओभरमा १० विकेट गुमाएर १ सय १७ रन बनायो । युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छककाको सहयोगमा ५४ रन बनाए । खानलाई ललिनारायण राजवंशीको बलमा विकेट किपर आसिफ शेखबाट समातिए । ओपनर आर्यान लाक्राले २८ बलमा २३ रन बनाए । वसिल हमिद र आसिफ खानले छैटौं विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । वासिलले २७ बलमा १० रन बनाएका थिए । कप्तान तथा ओपनर मुहम्मद वासिमले १ चौका र १ छक्काको सहयोगमा ८ बलमा ११ रन बनाए ।

नेपालका लागि ललितनारायण राजवंशीले ७ दशमलब १ ओभरमा १४ रन खर्चिएर ४ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले समान २र२ तथा गुलसन झा,सोमपाल कामीले समान १र१ विकेट लिए । यस उपाधिसँगै नेपालले २१ वर्षपछि एसिया कपमा स्थान बनाएको छ । नेपालले यस अघि सन् २००२ मा एसिया कपमा स्थान बनाएको थियो । एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ । एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र प्रिमियर कप विजेता समूह ए मा तथा समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् । समूह चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली सुपर फोर खेल्नेछन् । शीर्ष दुई टोली फाइनल खेल्नेछन् । एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ ।