September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

भण्डारीको गैरआख्यान ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक

२०८० बैशाख ३१

596

काठमाडौंः साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक भएको छ । पद्यकन्या क्याम्पसको सगरमाथा हलमा आयोजित लोकार्पण समारोहमा माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’, अर्का माक्र्सवादी सौन्दर्यचिन्तक निनु चापागाईं, कवि तथा समालोचक द्वय डा. अमर गिरी र डा. विन्दु शर्माले संयुक्त रूपमा कृति सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा कृतिमाथि टिप्पणी गर्दै सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’ले शान्ति र बुद्धको देश भन्दै आएको वीरगाथा कालदेखि जनयुद्ध कालसम्म भएका युद्धहरूमाथि लेखिएको साहित्यलाई एकै ठाउँ राखेर अध्यययन गरेबाट नेपाल युद्धमय छ भन्ने कुरा प्रमाणित हुने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै सौन्दर्यचिन्तक निनु चापागाईंले नेपाली युद्धसाहित्यमाथि कमै लेखिएकोमा सबै कृतिलाई समेटेर युद्धसाहित्यको अध्ययन गरेकोले यस कृतिको महत्व बढी भएको बताएका थिए । साथै उनले कृतिमा माक्र्सवाद र समाजवादी यथार्थवादमाथि कहीँकतै नबोलेको, नलेखेकोमा प्रश्नसमेत उठाए ।
कार्यक्रमका अर्का वक्ता डा. अमर गिरीले युद्ध सशस्त्र मात्र नभएर निशस्त्र पनि हुन्छ भन्दै साइबर युद्ध, जैविक युद्ध जस्ता युद्धलाई कृतिमा नसमेटिएको जनाए । उनले समग्रमा यो कृतिले नेपाली युद्धसाहित्यको मोटामोटी चित्र प्रस्तुत गरेको बताए ।

त्यस्तै कार्यक्रममा अर्का वक्ता डा. विन्दु शर्माले नेपाली समालोचकहरूले युद्धसाहित्य र द्वन्द्वसाहित्यलाई एउटै भनेकोमा कृतिले युद्धसाहित्य र द्वन्द्वसाहित्यलाई अलग गरेर विवेचना गरेको बताइन् । साथै नेपाली साहित्यमा युद्धमाथि लेखिएको यसखााले कृति नआएकोमा यसको महत्व बढी भएको बताइन् ।

कार्यक्रमका चारै जना वक्ताले कृतिको भूमिकामा रहेको नेपाली साहित्यको कालविभाजनमाथि बढी समय खर्चिएका थिए । लेखकले वि.सं. १९४० देखि २०१७ सम्मलाई जागरण काल भनेकोमा असहमति व्यक्त गरेका थिए ।
लेखक विष्णु भण्डारीले नेपाली युद्धसाहित्यमाथि अध्ययन नभएको हुँदा यस विषयमा काम गर्ने हुटहुटी पैदा भएकोले कृति तयार गरेको बताए । उनले कृतिमा एकीकृत देश निर्माणको क्रममा भएका युद्ध, नेपालको अखण्डता, सार्वभौमिकता तथा प्रजातन्त्र र गणतन्त्र प्राप्तिका लागि भएका युद्ध र सशस्त्र विद्रोहमाथि लेखिएको साहित्यका साथै द्वन्द्वसाहित्यको पनि विवेचना गरिएको जनाए ।

भुँडीपुराणका अध्यक्ष केशव प्रसाद पराजुलीले आमन्त्रित अतिथिलगायत सम्पूर्ण सहभागीलाई धन्यवाद दिँदै युद्धमाथि लेखिएको यो कृति असाध्यै महत्वपूर्ण भएको हुँदा यस कृतिलाई विश्वविद्यालयको पाठ्यक्रममा राख्नुपर्ने बताए ।
पुस्तक ‘भुँडीपुराण प्रकाशन’ले बजारमा ल्याएको हो । ५ सय पृष्ठको कृतिको मूल्य ७ सय रुपैयाँ राखिएको छ ।