February 12, 2026, Thursday
२०८२ माघ २९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

आत्मदाह प्रकरणः उपेन्द्र महतोसँग लियो प्रहरीले बयान

२०७९ माघ १८

364

काठमाडौंः एक साताअघि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्युको घटनामा प्रहरीले गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतोसँग बयान लिएको छ । काठमाडौँको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि आफैँमाथि पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेका आचार्यको परिवारजनले आत्महत्या दुरुत्साहनको आरोप लगाएपछि महतोसँग प्रहरीले बयान लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले व्यवसायी महतोसँग मङ्गलबार बयान लिएको बताए। उनका अनुसार आत्मदाह गर्नु अघि आचार्यले सामाजिक सञ्जालमा लेखेका आरोपबारेमा प्रहरीले व्यवसायी महतोसँग बयान लिएको हो। आचार्यले महतोको नेपाल ग्रामोद्योग कम्पनीले घिउ मगाएर म्याद गुज्रेपछि फिर्ता गरेर रकम निकासी नदिएको उल्लेख गरेका थिए ।

आचार्यको मृत्युपछि उनकी श्रीमतीले आर्थिक कारोबार जोडिएका व्यापारिक संस्था र तिनका प्रतिनिधिविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छन् । सो किटानी जाहेरीमा विभिन्न व्यापारिक समूहका १२ जनाविरुद्ध उजुरी परे पछि प्रहरीले धमाधम बयान लिन सुरु गरेको हो । सो क्रममा सोमबार भाटभटेनी सुपर मार्केट्सका सञ्चालक मीनबहादुर गुरुङसँग पनि बयान लिइएको थियो