January 22, 2026, Thursday
२०८२ माघ ८
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending

टेकेन्द्र बोकटी

विकासवादी जीवविज्ञानमा स्नातकोत्तर गरेका टेकेन्द्र बोकटी हाल लेखनका साथै शिक्षण पेशामा क्रियाशील रहेका छन् ।

धर्मको उत्पत्ति, विकास र वर्तमान सन्दर्भ

२०८२ मंसिर २८

1.4K

आज संसारमा करिब ४ हजार भन्दा बढी धर्महरु अस्तित्वमा छन् । यी सबै धर्महरुका आ–आफ्नै ईश्वर, धार्मिक मान्यता, परम्परा तथा धार्मिक कथाहरु छन् । यिनीहरु प्राकृतिक जगतको विषयमा, मानव समाजको विषयमा, नैतिकताको विषयमा तथा राजनीतिको विषयमा फरक फरक रुपले आ–आफ्नै बुझाइ राख्दछन् । यस लेखमा म धर्मको उत्पत्ति, विकास र वर्तमान सन्दर्भमा यसको उपयोगिता र आवश्यकता के छ, र धर्म वर्तमान संसारका लागि मानव जाति विकासको लामो इतिहासमा विकसित एक अनावश्यक उत्पादन मात्रै हो, भन्ने विषयमा मेरो आफ्नो बुझाइलाई व्याख्या गर्ने प्रयत्न गर्ने छु ।

FOXP2 gene Mutation ले हामीलाई यस प्रकारका दन्त्यकथा बनाउन र बुझ्न मदत गर्छ ।

मानव विकास र धर्म
आधुनिक मानिस अर्थात होमो सेपियन्सको विकास आज भन्दा करिब ३ लाख वर्ष अघि आधुनिक मानिस र निएन्दरथल मानिस (होमो निएन्दथेलेन्सिस) को साझा पुर्खा होमो हाइडेलबर्गेन्सिस बाट भएको हो । मानिसले करिब २ लाख ८८ हजार वर्ष धर्म र ईश्वर बिना आफ्नो अस्तित्व जोगाउँदै ल्यायो, तर करिब १२,००० वर्ष अघि देखि मानिसमा यस्तो परिवर्तन भयो कि मानिस धर्मको दास हुन पुग्यो । मानिस आफ्नो कुल विकासवादी उमेरको करिब ९६ प्रतिशत समय धर्म र इश्वर बिना नै बाँच्न सफल भयो भने बाँकी ४ प्रतिशत समयमा ऊ दाबी गरिरहेको छ कि धर्म र इश्वर बिना बाँच्नै सक्दैन । यस प्रश्नलाई हामी मानिसको विकासवादी इतिहास र आनुवांशिकीबाट बुझ्न सक्छौँ ।

FOXP2 gene मा उत्परिवर्तन

FOXP2 gene भाषाको विकासका लागि महत्वपूर्ण जीन हो । यस विशिष्ट उत्परिवर्तनले हामीलाई लचिलो भाषा बोल्न सक्षम बनायो । उसो त अरु जीवहरुको पनि भाषा छ । एउटा बाँदरले बाघ देखेमा उसले भाषाका माध्यमबाट बाघ आएको खतराबारे अरु बाँदरहरुलाई जानकारी दिन्छ । तर, मानिसले FOXP2 gene उत्परिवर्तनका कारण त्यही बाघलाई कथाको रुपमा व्यक्त गर्न सक्छ । माथि बाँदरले बाघ आएको खतरा मात्र बताउन सक्छ भने मानिसले त्यहि बाघ देखेमा, “मैले जङ्गलको छेउमा रहेको नदीको किनारमा बाघ देखे । म सिकार गर्न गएको थिए, मैले दिनभरी एउटा पनि सिकार नभेटाएर दुःखित थिए, त्यसै बेला एउटा बाघ आएर, खोलामा पानी पिउन आएको मृगलाई मार्‍यो र मलाई देखेर भाग्यो, त्यहि बाघले मारेको मृग मैले ल्याएको छु । अब देखि बाघलाई हाम्रो संरक्षक मान्नुपर्छ ।” भनेर एउटा कथा नै भन्न सक्छ । वैज्ञानिकहरु सहमत छन् कि यस्तै कथाहरुबाट धर्मको प्रारम्भिक रुप मानव समाजमा देखिएको हुनुपर्छ । इजरायलको जेरुसेलम विश्वविद्यालयका इतिहास शास्त्रका प्राध्यापक डा. युवाल नोआ हरारी आफ्नो विश्व प्रशिद्ध पुस्तक “सेपिएन्सः मानव जातिको संक्षिप्त इतिहास” मा एउटा रमाइलो उदाहरण दिँदै लेख्छन् कि, “हामीले एउटा बाँदरलाई उसको हातमा भएको एउटा केरा ‘मलाई दे, तँ स्वर्गमा असंख्य केरा पाउँछस’ भनेर सम्झाउन र विश्वस्त तुल्याउन सक्दैनौँ, तर त्यही कुरामा मानिसलाई विश्वस्त तुल्याउन सकिन्छ ।” अब किन विश्वस्त तुल्याउन सकिन्छ त भन्दा माथि भने झैँ FOXP2 gene Mutation ले हामीलाई यस प्रकारका दन्त्यकथा बनाउन र बुझ्न मदत गर्छ । हाम्रो भाषा लचिलो हुनुको फाइदा धेरै छ, किनभने यही भाषाको लचिलोपनले गर्दा हामीले परिवार, समाज, राष्ट्र, राष्ट्रियता, राजनीति जस्ता सामूहिक चिन्तनको विकास गरेका हौँ, तर यसको साइड इफेक्टका रुपमा धर्म पनि समाजमा देखा पर्न थाल्यो ।

प्रकृति पूजाका अस्तित्वहरु अहिले पनि भेटिन्छन् । यसरी सबैभन्दा पुरानो धर्मका रुपमा प्रकृति पूजाको विकास भयो ।

Mirror Neuron  System को विकास

मानिसको मस्तिष्कमा करोडौँको संख्यामा मिरर न्युरोनहरु हुन्छन् । यी न्युरोनहरुले एक अर्कोलाई सिको गर्न मदत गर्छन् । जब प्राचीन मानिसहरुले कथा भन्न थाले मिरर न्युरोनहरुले ती कथामा समवेदनाका माध्यमबाट सामुहिकीकरण गर्न मदत गरे । एउटा मानिसले रचेको कथा मिरर न्युरोनहरुका कारण एउटा समूहको साझा कथा बन्न पुग्यो, एउटा व्यक्तिका लागि संरक्षक भएको बाघ अब एउटा समूहकै संरक्षक हुन थाल्यो । यसरी मिरर न्युरोनहरुले एउटा मानिसको फगत एउटा कल्पनालाई एउटा समूहको आस्थाको रुपमा विकास गर्न मदत गर्न थाल्यो ।

यीनै मिरर न्युरोनहरुले धार्मिक अनुस्ठानका दौरान एकै प्रकारका संवेग र व्यवहार प्रकट गर्न मदत पनि गरे, जसले उक्त कथालाई व्यक्तिको कथाबाट सामूहिक आस्थामा बढुवा गर्‍यो। यसले मानिसहरुमा धर्मको वैधता बढाउने कार्य पनि गर्‍यो । उदाहरणका लागि क्रिश्चियन चर्चमा (विशेष गरि पेन्टीकोस्टल र क्यारेजमेटिक सम्प्रदायका चर्चहरुमा) आराधनाको बेला यदि एउटा आराधक रुदै अन्य भाषामा प्रार्थना गर्छ भने यीनै मिरर न्युरोनहरुको कारणले अन्य आराधकहरु पनि रुदै अन्य भाषामा प्रार्थना गर्न थाल्छन्, यदि एउटा आराधक भुइँमा लड्यो भने यिनै मिरर न्युरोनहरुका कारण अन्य आराधकहरु पनि भुइँमा लड्छन । यसले के गर्छ त भन्दा एउटा व्यक्तिको अनुभवलाई एउटा समूहको अनुभव बनाउँछन, यसरी नै धर्म एउटा व्यक्तिको कथाबाट एउटा समूहको आस्थाको रुपमा संगठित हुन गयो ।

सामाजिक सुरक्षाको रणनीति
मानिसको विकास एक सामाजिक प्राणीका रुपमा भएको हो । मानिस समाजबाट अलग भएर आफ्नो अस्तित्व बचाउन सक्दैन । त्यस कारण धर्म जसरी संगठित हुँदै गयो, मानिसले आफ्नो सुरक्षाका लागि पनि धर्म मान्नुपर्ने भयो । उदाहरणका रुपमा हेरौँः एउटा समूहले एउटा पहाडलाई आफ्नो कुल देउता मान्छ, तर त्यही दलको एक जना अर्को व्यक्ति त्यही जंगलमा रहेको नदीलाई कुल देउता मानेर पहाडलाई कुल देउता मान्न इन्कार गर्छ, भने के हुन्छ ? उसको समूहका बहुमत सदस्यहरुले उसलाई आफ्नो समूहबाट निकाल्ने छन्, ऊ जंगलमा एक्लै बाँच्न, भोजन खोजी गर्न तथा प्रजननका लागि साथी खोज्न बाध्य हुनेछ । तपाईंलाई के लाग्छ ऊ एक्लिएको सदस्य एक्लै अवस्थामा आफ्नो अस्तित्व बचाइ राख्न सफल हुनेछ त ? हुँदैन । यसैकारण उसले आफ्नो सामाजिक सुरक्षाको ग्यारेन्टीका लागि पनि समूहमा बहुसंख्यकले मानेको पहाडलाई नै आफ्नो कुल देउता मान्नुपर्छ ।

आजसम्म धर्मयुद्ध, जिहाद र क्रुसेडका नाममा करोडौँ व्यक्तिको हत्या गर्ने एक आत्मघाती बमको रुपमा धर्म विकसित भयो ।

यसरी मानव विकासका विभिन्न पक्षहरु जस्तैः जिन उत्परिवर्तन, मिरर न्युरोन सिस्टम र सामाजिक सुरक्षाको रणनीतिका आधारमा हेर्ने हो भने प्रारम्भिक धार्मिक विश्वास एक जनाले गढेको कथाबाट एउटा समूहको आस्था र सामाजिक सुरक्षाका लागि एक निर्विवाद सत्यका रुपमा देखा पर्न थाल्यो । यसरी धर्मलाई हामीले FOXP2 gene उत्परिवर्तन, मिरर न्युरोनहरुको विकासबाट निस्किएको एक बाइप्रोडक्ट जसलाई हाम्रो सामाजिक सुरक्षाको ग्यारेन्टीका लागि तथाकथित रुपमा दावी गरिएको एक निर्विवाद सत्य भन्न सक्छौँ ।

धर्मको क्रमिक विकास
माथि उल्लेख गरेझैँ सुरुमा सिकार पाइने पहाड, फल दिने रुख, पानी दिने नदी आदि कुल देउताका रुपमा देखा परेर प्रारम्भिक प्रकृति पुजक संस्कृतिहरुको विकास भएको पाइन्छ । यसको प्रमाण के पनि हो भने संसारका प्रत्येक सभ्यताहरु तपाईंले अध्ययन गर्नुभयो भने त्यहाँ प्रकृति पूजाका अस्तित्वहरु अहिले पनि भेटिन्छन् । यसरी सबैभन्दा पुरानो धर्मका रुपमा प्रकृति पूजाको विकास भयो ।

पछि गएर थप जटिल प्राकृतिक घटनाहरुले मानिसलाई अचम्मित पार्न थाले, जस्तै सूर्य र चन्द्र ग्रहण किन लाग्छ ?, चट्याङ कसरी पर्छ ?, मानिस कसरी जन्मन्छ, अनि मर्छ ?, मान्छे मरेपछि के हुन्छ ?, आदि आदि । त्यस बेला मानिससँग कुनै वैज्ञानिक जानकारी त थिएन । यि अवस्थामा पनि FOXP2 gene उत्परिवर्तनका कारण देखिएको कथा बनाउन सक्ने मानिसको गुण नै काम लाग्यो । यि प्रश्नमा पनि मानिसले कथा बुन्न थाल्यो । अर्थात राक्षसले निल्दा सूर्य र चन्द्र ग्रहण हुन्छ । अब हेर्नुस, “राक्षस” भनेको के हो उहिले पनि अहिले पनि कसैलाई थाहा छैन । उसले राक्षस, देउता जस्तो कहिल्यै नदेखेका तत्वहरुको विषयमा पनि कथा बुन्यो । जसरी मानिसहरु करिब १२,००० वर्ष अघि देखि कृषि युगमा प्रवेश गरे, उनीहरु समाजको रुपमा बसे, समाज चलाउन नियमहरुको आवश्यकता हुन जान्थ्यो । यही नियमहरुलाई धर्मका रुपमा स्थापित गरियो । समाजमा मानिस परिवारको रुपमा बस्न थाले, परिवारबाट नै व्यक्तिगत सम्पत्ति, विवाह जस्ता नयाँ अवधारणाहरुको जननी भयो । र, यी अवधारणाहरु पनि विस्तारै धर्मसँग जोडिन पुगे ।

समाज चलाउने एक नेतृत्वको आवश्यकता पर्न जान्थ्यो, मानिसहरुले पुजारीको विकास गरे, केही नीति नियम चाहिन्थ्यो, जसबाट धार्मिक अनुशासनको निर्माण भयो । यसरी विवाहदेखि राजनीतिसम्म सबै धर्मका नाममा स्थापित भए, यसरी प्रकृति पूजाबाट धर्मले बिस्तारै संगठित रुप लिन थाल्यो । कालान्तरमा पुजारीहरुबाट विभिन्न किसिमका अनुष्ठानहरुको विकास गरियो ।

धर्म शान्तिप्रिय छ, तर उक्त धर्म नमान्नेको हत्या जायछ छ । धर्म प्रेमिलो छ, तर विपरित मतकालाई घृणा गर्नु जायज छ ।

समय बित्दै जाँदा प्रारम्भिक समाजको सञ्चालनका लागि बनेका नियमहरुले धार्मिक रुप लिन थाले । जब मानिस कन्दमूल र सिकारबाट जीवनयापन गर्थेे, त्यहाँ मातृसत्तात्मक वा पितृसत्तात्मक भन्ने थिएन । महिला र पुरुष दुवै सिकारका लागि वा भोजन खोजीका लागि जाने गर्थे । त्यहाँ विवाह भन्ने कुनै अवधारणा थिएन । जसरी मानिस कृषि युग तिर लाग्यो, मानिसले के थाहा पायो भने, कृषि कार्यका लागि बढी जनशक्तिको आवश्यकता पर्छ, र सन्तान उत्पादन महिलाले मात्र गर्न सक्छिन्, यसरी जसले जति बढी सन्तान उत्पादन गर्छ, उसको त्यति नै कृषि कार्यमा उन्नती गर्ने सम्भावना बढ्छ । यस पछि मानिसले महिलालाई व्यक्तिगत सम्पत्तिको रुपमा हेर्न थालियो यसैको परिणाम स्वरुप विवाहको आविष्कार भयो । वास्तवमा विवाह भनेको पितृसत्तात्मक सोचको पृष्ठपोषण गर्ने र महिलालाई व्यक्तिगत सम्पत्तिका रुपमा व्याख्या गर्ने धार्मिक प्रमाणपत्र मात्रै हो ।

पछि यसले यति धेरै चरम रुप देखायो कि महिला र लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुलाई मानव स्तरबाट तल झारेर दमन गरिनुपर्ने अपराधीका रुपमा राख्यो । बोक्सी, चुडेल आदि बिल्ला लगाएर लाखौँको संख्यामा महिलाहरुको हत्या गरियो । लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुलाई धर्म विरोधी र पापीको आरोपमा जिउँदै जलाउने कार्य गर्‍यो। यसरी धर्म एक जना व्यक्तिले बुनेको कथाबाट क्रमशः समूहको आस्था, समाजको व्यवस्थापक हुदै मानव हत्याराको रुपमा विकसित हुन थाल्यो । यहि एक जनाले बुनेको कथाका कारण आजसम्म धर्मयुद्ध, जिहाद र क्रुसेडका नाममा करोडौँ व्यक्तिको हत्या गर्ने एक आत्मघाती बमको रुपमा धर्म विकसित भयो ।

निष्कर्ष
हामीले माथि व्याख्या गरिसक्यौँ कि धर्म एक जनाले वैज्ञानिक उत्तरको अभावमा बुनेको कथा हो, जो समयसँगै समूहको आस्था, समाजको व्यवस्थापक हुँदै मानव हत्यारासम्म विकसित हुन पुग्यो । यस अवस्थामा हामी कुनै हालतमा धर्मलाई समाजका लागि अपरिहार्य र आवश्यक मान्न सक्दैनौँ । धर्म शान्तिप्रिय छ, तर उक्त धर्म नमान्नेको हत्या जायछ छ । धर्म प्रेमिलो छ, तर विपरित मतकालाई घृणा गर्नु जायज छ । धर्म सहिष्णु छ, तर फरकधारका लाई नसहनु पनि उचितै छ । धर्मले महिलालाई उच्च सम्मान दिन्छ, तर महिलालाई व्यक्तिगत सम्पत्ति मान्नु पनि उचित छ, सतीका रुपमा जिउँदै जलाउनु पनि ठिक छ, आधा मानिस भन्नु पनि ठिक छ । अन्तमा, यस अवस्थामा धर्मलाई समाजका लागि अपरिहार्य र अनिवार्य मान्छौँ, भने हामीले उपरोक्त नैतिक द्विविधाको सामना गर्नुपर्ने हुन्छ । समग्रमा भन्ने हो भने धर्म समाजका लागि अनावश्यक मात्रै होइन हानिकारक पनि छ ।